विवादपछि पशुपतिको गुरुयोजना एक महिनालाई स्थगित, सबै पक्षसँग छलफल गर्न कार्यदल

फाइल फोटो।

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ ।

मन्त्रालयमा आइतबार भएको मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकाहरुसहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो ।

मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलले सबै अहिले प्रस्तावित गुरुयोजनाको अध्ययन तथा सरोकारवाला सबैसँग छलफल गरेर आवश्यक परेमा परिमार्जनका लागि सुझाव दिने जिम्मेवारी पाएको छ । त्यसपछि मात्रै गुरुयोजनाको प्रक्रिया अघि बढ्ने छ ।

मन्त्रालयका संस्कृति महाशाखा प्रमुख, योजना र प्रशासन महाशाखा प्रमुख तथा पुरातत्व विभागका महानिर्देशक सम्मिलित कार्यदल गठन भएको गठन भएको हो । सो कार्यदलले महिनादिन भित्र पुरातत्व विद, संस्कृतिविद, स्थानीय बासिन्दा, सम्पदा तथा संरक्षणकर्मी, इतिहासविदसहितसँग छलफल गरेर प्रतिवेदन बुझाउने छ । सो अवधिसम्मका लागि हालको गुरुयोजना अनुसारको सबै काम रोकिएको छ ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कमलप्रसाद भट्टराई र सहसचिव प्रदीपकुमार कोइराला तथा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहितको कार्यदल बनाएको हो । कार्यदलका सदस्य तथा मन्त्रालयका प्रवक्ता भट्टराईले भने, ‘हामीलाई पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको प्रस्तावनामाथि सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।’

छलफलमा मन्त्र भट्टराईले आवश्यक परेमा गुरुयोजना परिमार्जन गर्ने र प्राचीनता तथा पुरातत्वमाथि कुनै असर पर्न नदिने बताएका थिए । आन्दोलनकारीले आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएर बाहिरिएका थिए । उनीहरुले गुरुयोजनाकार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहितको छलफलमा नबस्ने बताएका हुन् ।

कोषको सञ्चालक परिषदले पारित गरी संसदीय समितिमा पुगेको गुरुयोजनामाथि सम्पदाविदले आपत्ती जनाएका थिए । त्यसपछि स्थानीय बासिन्दा आन्दोलित छन् । उनीहरुले प्राचीनता मास्ने, व्यापरिक स्वास्र्थ पूरा गर्ने र आस्थामाथि ठेस पुर्याउने खेल भएको आरोप लगाउँदै आएका छन् ।

मन्त्रीसहितको छलफलमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव, कोषाध्यक्ष तथा गुरुयोजनाका संयोजक चेतोनाथ गौतमसहितको सहभागिता थियो ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्