प्रकाश सपुतको ‘बदला– बरिलै’ बलात्कारको बदला

काठमाडौँ– एउटी सामान्य युवती कलाकार बन्ने सपना बोकेर प्रतियोगीतामा भाग लिन आइपुग्छिन्। उनको कलाको सम्मान हुन्छ। आफ्नो कलाले जितेको उपहार बोकेर हिँडेकी युवती गलत नियत भएको व्यक्तिको फेला पर्छिन्।

सवारीमा लिफ्ट दिने बहानामा एकान्त जंगलमा उनलाई लगिन्छ, उसको चीर हरण हुन्छ। बलात्कारको पीडा सहन नसकेकी युवती बेहोस हुन्छिन् र उनलाई पासोमा लगाएर झुण्डाइन्छ।

ती किशोरीले न्याय पाउँछिन् त?

गायक अनि कलाकार प्रकाश सपुतको भर्खरै सार्वजनिक भएको गीत ‘बदला बरिलै’ ले बलात्कारको शिकार भएका महिलाको कथालाई गीतमा समेटेको छ। गीतको शब्द जति बलियो छ त्यसलाई अझ कडा भिडियोले बनाएको छ। गलबन्दि, गलबन्धिको प्रिक्वेल निर्माण गरी दर्शकको मन जितेका सपुतको यो प्रोजेक्ट पनि मुटु पोल्ने खालको छ। संगीत क्षेत्रमा करियर बनाउन आएकी युवतिको जीवन कसरी बर्बाद हुन्छ भन्ने कुरा सपुतले देखाएका छन्।

यो गीतको लेखन, संगीत, भिडियो निर्देशन प्रकाशले नै गरेका छन्। गीतमा देवी घर्तीको स्वर छ। भिडियोमा देखिएकी पीडित युवतिको भूमिका केकी अधिकारीले निभाएकी छन्, ध्रुव कोइराला नकारात्मक भूमिकामा छन्।

भिडियोलाई अनिल कृष्ण मानन्धरको छायंकन रहेको छ भने गीतलाई प्रविन भट्टले सम्पादन गरेका छन्। भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल, ब्रिशा बराल, इज्युलिया आचार्यको अभिनय रहेको छ।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्