नेपालमा ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ बाट कोरोना संक्रमितको सफल उपचार, कसरी गरिन्छ उपचार?

काठमाडौँ- कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएपछि मोरङ विराटनगरका ६५ वर्षीय डा. ज्ञानेन्द्रमान सिंह कार्की विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य समस्या बढ्दै गएपछि उनलाई हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको थियो। शिक्षण अस्पतालमा उपचार क्रममा उनको स्वास्थ्य झन जटिल बन्दै गयो। भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरियो।

डा. कार्कीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि अक्सिजन लिन सक्ने क्षमता समेत कम हुँदै गएको शिक्षण अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दासले बताए। उनले भने, ‘उहाँलाई अक्सिजन ९० प्रतिशत दिनु परेको थियो।’

डा. कार्कीका लागि भगवान सावित भए २६ वर्षीय युवक जो कोरोना भाइरस संक्रमित भएर निको भइसकेको थिए। गत शुक्रबार उनै युवकको प्लाज्मा लिएर डा. कार्कीको उपचारमा संलग्न चिकित्सकहरुले डा. कार्कीलाई दिएका थिए। ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी’ गरिएपछि तीन दिनमा डा. कार्की भेन्टिलेटरबाट वार्डमा फर्किएका छन्।

तर, आफू संक्रमित हुनु भन्दा पहिला कोरोना भाइरस संक्रमण नभएका व्यक्तिको परीक्षण जरुरी नभएको डा. कार्कीले बताएका थिए।

‘जबसम्म संक्रमणको लक्षण देखिँदैन तबसम्म परीक्षणको कुनै जरुरी छैन’, उनले भनेका थिए, ‘तपाईंको स्वास्थ्य अवस्था ठिक छ भने किन परीक्षण गर्नुपर्‍यो? जो व्यक्तिलाई अस्पतालको आवश्यक्ता छ, त्यस्ता व्यक्तिलाई परीक्षण गर्दा भइहाल्यो नि।’

क्वारेन्टिनको नाममा साधारण मान्छेलाई संक्रमित गराइएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका थिए उनले। ‘परीक्षण अस्पतालमा भर्ना भएकालाई मात्र गराउनु पर्छ, अरुलाई जरुरी छैन।’

प्लाज्मा थेरापीबारे शिक्षण अस्पतालका कोभिड- १९ व्यवस्थापन संयोजक प्रा. डा. सन्तकुमार दाससँग गरिएको कुराकानी:

के हो कन्भलेसेन्ट प्लाज्मा थेरापी? 

कन्भलेसेन्ट प्लाज्मा थेरापी भनेको कुनै पनि कोरोना भाइरस संक्रमित व्यक्ति निको भएको दुई हप्ता भइसकेको छ र उक्त व्यक्तिको पीसीआर रिपोर्ट दोहोर्‍याएर नेगेटिभ आएको छ भने उसको रगत झिकिन्छ। सामान्यतया रक्तदान गरे जसरी रगत भिक्ने गरन्छ। रगत झिकिसकेपछि उक्त रगतबाट रोतो रगत (आरबीसी) र प्लेटलेट्स छुट्याइन्छ। त्यपछि बाँकी भएको रगतलाई प्लाज्मा भनिन्छ। त्यही प्लाज्मालाई अर्को संक्रमित व्यक्ति जो आइसियु वा भेन्टिलेटरमा उपचार भइरहेको हुन्छ, जसलाई धेरै अक्सिजनको आवश्यक्ता परेको हुन्छ, त्यस्तो व्यक्तिलाई दिने गरिन्छ।
यसैलाई कन्भलेसेन्ट प्लाज्मा थेरापी भनिन्छ।

उपचार कसरी गरिन्छ?

संक्रमित व्यक्तिलाई हामी अन्य विरामीलाई रगत जसरी दिन्छौँ, ठ्याक्कै त्यही तरिकाले प्लाज्मा दिइन्छ। दुई घण्टामा २ सय एमएल प्लाज्मा दिइन्छ। कुनै व्यक्तिलाई एक पटक दिँदा पुग्न सक्छ, कसैलाई दोहोर्‍याउनुपर्ने पनि हुन सक्छ। शिक्षण अस्पतालको केसमा भने एक पटक दिएको डोजले नै सुधार भएको थियो।

कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट निको हुन्छ त?

यो थेरापी अहिले संसारभरि नै ‘इन्भेस्टिगेसनको फेज’मा छ। अहिले धेरै देशले यो थेरापीको प्रयोग गरिरहेको छ। विश्व स्वास्थ्य संगठनले पनि यो थेरापी गर्न सकिन्छ भनेको छ। त्यही हिसाबले हामीले पनि पहिलो केसमा सफल उपचार गरेका छौँ। पहिलो केसमै नतिजा राम्रो आएको छ। पछि गर्दै जाँदा के हुन्छ, अहिले नै भन्न सकिन्न।

एक पटक दिएको प्लाज्माले कति समयसम्म काम गर्छ?

यसमा समय भन्दा पनि बिरामीलाई प्लाज्मा दिएपनि उक्त बिरामीले ‘रेस्पोन्स’ गर्‍यो कि गरेन भनेर हेर्ने हो। यसमा तीन वटा कुरा हुर्नु पर्ने हुन सक्छ। विरामीको अक्सिजको ‘रिक्वायरमेन्ट’ घट्यो कि घटेन, निमोनियामा सुधार भएर एक्सरे रिपोर्ट राम्रो आयो आएन, स्वास फेर्न सजिलो भयो कि भएन भनेर हेर्नु पर्छ। यी तीन वटै कुरामा सुधार भएपछि उपचार सफल भएको बुझ्नु पर्छ। यहाँको पहिलो केसमा बिरामीको अक्सिजनमा पनि राम्रो भएको छ। अनि एक्सरेमा पनि सुधार भएको छ। त्यसले गर्दा विरामीको सुधार भयो, उपचारले काम गर्‍यौँ भन्न सक्छौँ। ४८ घण्टामा ७० प्रतिशत जति उहाँमा सुधार भएको छ।

यो भनेको धेरै राम्रो सुधार हो।

निको भएको एक व्यक्तिले कति पटकसम्म प्लाज्मा दिन मिल्छ?

जति पनि मिल्छ। यो रक्तदान गरेको जस्तै हो। जसरी एउटा स्वस्थ व्यक्तिले रगत दिन्छ, त्यसरी संक्रमण देखिएर निको भएको व्यक्तिले हप्तैपच्छिे पनि प्लाज्मा दिन सक्छ। तर स्वास्थ्य अवस्था राम्रो हुनु पर्छ। उक्त व्यक्तिले एक पटकमा एक पिन्ट दिन सक्छ।

संक्रमित भएर निको भएको कति समयमा प्लाज्मा झिक्न मिल्छ?

कोरोना भाइरस संक्रमित व्यक्ति निको भएको ४ देखि ६ हप्ताभित्र प्लाज्मा लिइसक्नुपर्छ। प्लाज्मा कोरोना भाइरसको संक्रमण शरीरमा नभएको व्यक्तिबाट लिने हो।

कन्भलेसेन्ट प्लाज्मा थेरापी कसलाई काम लाग्छ?

प्लाज्मा थेरापी काम लाग्ने भनेकै संक्रमित व्यक्ति जो भेन्टिलेटर वा आइसियूमा उपचाररत उसलाई नै हो। संक्रमित भएर निको भएको व्यक्तिको रगत संक्रमित भएर जटिल अवस्थामा पुगेको व्यक्तिलाई दिने हो।

साउन १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्