कोरोना महामारीको असर

भारतबाट फर्केका युवाहरुमा आर्थिक संकट चुलियो, रोजगारी नपाउँदा बाटो बिराउने खतरा

वीरेन्द्रनगर-कोरोना महामारीका कारण जीवन सुरक्षाका लागि घर फिरेका कर्णाली प्रदेशका युवाहरु आर्थिक, सामाजिक मात्रै होइन भौतिकरुपमा समेत असुरक्षित बन्दै गएका छन्।

घर फिरेको करिब पाँच महिना बितिसक्दा पनि सरकारको प्रतिबद्धता र आश्वासनअनुसार रोजगारी नपाउँदा निराश बनेका युवाहरु आर्थिक संकट र सामाजिक विभेदको पात्र बनेका छन् नै विप्लब माओवादी समूहले घोषणा गरेको अर्को सशस्त्र द्वन्द्वमा सामेल हुने दबाब समेत उनीहरुमा पर्न थालेको बुझिएको छ।

भारतबाट स्वदेश फर्केका युवाहरुको अवस्था बुझ्न सुर्खेतका विभिन्न गाउँ छिचोल्दा यस्ता धेरै युवा भेटिए जसमा निराशा धेरै, उत्साह कम देखिन्थ्यो। कतिपयले जीवनदेखि हार खान थालेको पीडादायी अनुभव सुनाए।

यो वर्ष आत्महत्या गर्ने युवाहरुको संख्या सुर्खेतमा बढेको जिल्ला प्रहरी कार्यालयबाट विवरण प्राप्त गरेको भोलिपल्ट युवाहरुको अवस्था बुझ्न गाउँ छिचोल्ने निधो गरेको थिएँ।

शुक्रबार, शनिबार, आइतबार लगातार तीन दिन भारतबाट फर्केका करिब एक दर्जन युवाहरु र केही वडाका जनप्रतिनिसँग कुराकानी गर्दा आफ्नो सीप, क्षमता र चाहना अनुसार युवाहरुले गाउँमा रोजगारी पाउन नसकेको र रोजगारी पाएका केही युवाहरुले आफ्नो श्रमअनुसार ज्याला या तलब नपाउँदा एकदुई महिनामै काम छोडेको बताएका छन्।

न जग्गा, न घर, न रोजगारी, बाँच्न सकिन्छ त?


घाम डुब्नै लागेको छ। सुर्खेत वडा नम्बर १२ र ७ लाई छुट्याउने इत्राम खोला सुस्याइरहेको छ। वर्खाले गर्दा खोलामा पानीको बहाव बढेको छ। किनारामै निर्माण गरिएका घरका लागि खोलाको सतह बढ्नु खतराको संकेत हो ।

केही वर्षअघि निर्माण गरिएको पुलको आडमै रहेको ऐलानी जग्गामा उभिएको २१ वर्षीय खड्क नेपालीको सानो झुपडीले खोलाको बहावलाई थेग्न सकेन।

कोरोनाका कारण भारतबाट बेरोजगार बनेर खड्क फर्किदा उनकी आमा जितमाया नेपाली रभाइको उठिबास भइसकेको थियो। खड्क सानै छँदा उनका बुवा बितेका थिए। वास्तवमा उनको परिवारसँग न जग्गा, न घर न रोजगारी छ।

खड्क नेपाली।

मासिक दुई हजार तिर्ने शर्तमा नजिकै इट्टको बान्नो भएको घरको एउटा अध्यारोँ कोठामा बास बस्न पाएकी थिइन् जितमाया।

दुई महिनादेखि त्यो भाडा तिर्न सकेकी छैनन् उनले। यो कोठामा हाल खड्ककी दिदी पवित्रा नेपाली, उनका तीन छोरी पनि बस्छन्।

पवित्राका श्रीमान पनि खड्कजस्तै भारतमा मजदुरी गर्छन्। लकडाउनले उनी घर आउन सकेनन् ।

खड्क नेपाली र उनको परिवार।

यता एउटा कोठामा सीमित ८ जना परिवारका सदस्यका लागि खाना जोहो गर्दैमा खड्कले गत चैत ३ गते भारतबाट आउँदा साथै ल्याएको पैसा सके।

उनी भारतमा छँदा पहिले होटलमा भाँडा माझे। विस्तारै ‘कुक’को काम सिके। टेम्पो पनि चलाउन आउँछ उनलाई।

मिस्त्रीको काम समेत जानेका छन्। कुनै कार्यालय या घरमा सुरक्षा ‘गार्ड’ पनि बन्न तयार छन् उनी। त्यसका लागि उनले भारतबाट आएदेखि नै सम्बन्धित निकायमा सोधपुछ गरे। तर, केही उपाय लागेन । थाके उनी ।

वडामा बेरोजगारीको सूचिमा नाम समेत दर्ता गराए। वडाले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलगायत विभिन्न कार्यक्रमले उनलाई समेटेन। उनी भन्छन्, ‘मैले यहाँ रोजगारी नपाउनुको कारण न म टाठोबाठो परे न राजनीतिक पहुँचवाला।’ त्यसो भन्दै गर्दा उनको गला एकाएक अवरुद्ध भयो।

अब उनी कामका लागि धेरै पर्खने पक्षमा छैनन् । चाँडोभन्दा चाँडो भारतनै जान चाहन्छन्। तर भारत जाने बाटो बन्दछ हालका लागि। त्यसमाथि भारतमा कोरोना महामारी दिनप्रतिदिन भयावह बन्दै गएको छ । सीमा नाका बन्द छन्।

खड्ककी आमा जितमायाको अनुहारमा गरिबीको पीडा छचल्किरहेको छ। उनी भन्छिन्, ‘हामी गरिबलाई खोलाका किनारमा पनि बास छैन। हामी गरिबका लागि सरकारले के गर्दै छ? बुझेर भनिदिनु है।’ हुन पनि जितमायाले ६० वर्षको उमेरसम्म पीडा बाहेक अरु भोगेकी छैनन्। खड्क १४ वर्षकै उमेरमा भारत जान थाले।

आर्थिक अवस्था कमजोर हुँदा खड्काको पढाई छुट्यो। खड्कका भाइलाई पनि उनले पढाउन सकिनन्। छोरी पवित्राले पनि १५ वर्षमै विवाह गरिन्। लगातार तीन छोरी पाए पछि परिवारबाट अपहेलित बनेकी पवित्रा अन्ततः आमा जितमायाकै सहारामा बाँचिरहेकी छिन्।

श्रीमानले खर्च नपठाएको धेरै भयो। खड्क भन्छन्, ‘अरु केही चाहिँदैन, रोजगारी भए पुग्छ, क्षमता छ, सीप छ। ८ जनाको परिवार मज्जाले पाल्थेँ। तर हामीलाई यहाँ कसैले पत्याउँदैनन्।’

खड्कले यहाँ तत्कालै रोजगारी नपाउनुमा अर्को कारण पनि छ। कोरोना महामारी बढिरहेको भारतबाट आउँदा कोरोना ल्याएर आएको भन्दै उनीदेखि मानिस पन्छिन्छन्।

गाउँमै पनि उनलाई हेर्ने नजर फरक छ। ‘पहिले पहिले हामी आउँदा लाहुरे आए भन्दै सम्मान गर्थे। अहिले हामीलाई देख्नासाथ मानिसहरु भाग्छन्। आफ्नै अगाडि कुरा काट्छन्।’

बेरोजगार देखेर होला उनलाई केही व्यक्तिले पार्टीमा लागौँ भन्ने प्रस्ताव समेत गर्न भ्याइसकेका छन् । तर उनले कुन पार्टीमा त्यस्तो प्रस्ताव आएको भन्ने खुलाएनन्।

तर उनी निकट एक युवाले भने, ‘कालिकोटलाई ‘हब’ बनाएर बसेका विप्लव माओवादी समूहका प्रतिनिधिले खड्कलाई पार्टीमा लाग्न दबाब दिएका हुन्। तर उनी मौन छन्। यस्तै अवस्था हुने हो भने उनी विप्लवसँग जान बाध्य हुने छन्।’

शहीद परिवारको आर्तनाद


खड्कसँग छुटिएपछि म खोला किनार हुँदै दक्षिणतर्फ लाग्छु। खोला किनारैमा वडा नम्बर १२ मा पर्ने भावर टोलमा हालै दुई छाने इट्टाको बान्नो भएको घरको पेटीमा १९ वर्षीय विनोद परियार, उनकी बुढी आमा र सानो भाइ टोलाइरहेका थिए।

६ महिना वा वर्ष दिन भारतको मनालीमा स्याउ फल्ने सिजनमा स्याउ हेर्ने र अघिपछि मजदुरी गर्दै लामो समय विताइसकेका विनोदले त्यसबाट प्राप्त हुने आम्दानीले आफ्नो र परिवारको जीवन धान्दै आएका थिए।

विनोद परियार, उनको भाई र आमा।

पाँच वर्षअघि बुवा बितेपछि पारिवारिक जिम्मेवारी बढेको अनुभव गरेका विनोद कोरोनाको महामारीको हल्लाहुनासाथ भारतबाट घर आए।

बिजुली, खानेपानी र सडकबिहिन हुम्ला, जैरे ६ का स्थायी ठेगाना भएका विनोदको परिवार ९ वर्ष अघि सुर्खेत झरेको थियो विनोदका बुवाको उपचारका लागि।

आर्थिक अभावले विनोदले बुवालाई बचाउन सकेनन् न त उनी जुम्लानै फर्के त्यसपछि। बुवा अघि विनोदले सशस्त्र द्वन्द्वका बेला आफ्ना दाइ गुमाएका थिए।

उनका अनुसार विनोदका दाइ माओवादीमा आबद्द थिए। ११ वर्षीय उनका भाइ बिरामी छन्। भाइको उपचारका लागि लागेको ३५ हजार ऋण तिर्न सक्ने अवस्थामा विनोद छैनन्।

भारतबाट बचाएर ल्याएको पैसाले चार महिना जेनतेन परिवारको खर्च धाने । अब के गर्ने? उनी पनि खड्कजस्तै चिन्तामा डुबेका छन्।

विनोदको हातमा पनि खड्कको जस्तै रोजगारी गर्ने सीप छ। उनले भारतबाट फर्केर आएपछि दुईवटा होटलमा काम गर्ने प्रयास गरे।तर श्रम र समयअनुसार उनलाई तलब दिइएन। त्यसैले बीचैमा काम छाडे।

विनोद भन्छन्, ‘मलाई इन्डियन, चाइनिज, नेपालीलगायत परिकार बनाउन आउँछ। तर मेरो सीपअनुसार काम पाउन सकेको छैन।’ विनोद आफूलाई माओवादी पार्टीको कार्यकर्ता पनि रहेको बताउँछन्। उनले विप्लव माओवादीका गतिविधिबारे पनि सुनेका छन्।

तर आफूलाई उनीहरुले बोलाउन पनि सक्ने संकेत गरे। उनले भने, ‘म माओवादी नै हो। हामीमाथि चरमण शोषण भएपछि त्यो बेला मेरो दाइ मोआवादीमा आबद्द हुनुभएको थियो। तर उहाँ शहीद हुनुभयो।’

‘देशमा ठूल्ठूला परिवर्तन आयो भनियो। तर हामी जस्ता गरीबको जीवनमा कहिल्यै परिवर्तन आएन। कमाईका लागि अर्काको मुलुकमा पसिना झार्नुको विकल्प छैन। कति सहनु यस्तो अन्याय र पीडा?’ विनोदले पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा सामेल हुन वडामा पुगेर नाम लेखाए। तर उनले कामबारे कहिल्यै जानकारी पाएनन्।

उनले भने, ‘यो देशमा खान नपाएर मरिन्छ भने अरु के को आस गर्नु ?’

बाहिर रोजगारी नपाएपछि घरमै गिट्टी कुट्दै


विनोदको टोलबाट केही किलोमिटर पर पूर्वतिर वडा नम्बर १२ को गुह्य खोला आउँछ। खोलाको किनारैमा सिमेन्टको पिल्लरमा बाँसले बारेको घरमा दिउँसो चर्को घाममा पसिना झार्दै गिट्टी कुट्दै थिए ३६ वर्षीय दलबहादुर कुँवर। कुँवरका हात राता थिए।

बाँसले बारेको त्यो घर उनको आफ्नो भाइको थियो। त्यही घरका लागि उनी गिट्टी कुट्न ब्यस्त थिए। आफ्नो घर छैन उनको। श्रीमती बेपत्ता भएको लामो समय भयो।

भाइको घर निर्माणका लागि गिट्टी कुट्दै दलबहादुर कुवंर।

दुई छोरीको रेखदेखको जिम्मा उनका सासुससुराले लिएका छन्। उनी नौ वर्षदेखि वर्ष भारतको उत्तराखण्डको चमोली, गढ्वालमा बर्सेनि ६ महिना मजदुर गर्न जाने गरेका थिए ।

चमोलीमा उनले गर्ने काम पनि यस्तै थियो– गिट्टी कुट्ने, ढुंगा बोक्ने, फोड्ने आदि। कोरोना महामारीले उनले गर्दै आएको मजदुरी टुट्यो । साथीले भाडा हाल्दिएपछि उनी जन्मभूमि टेक्न पाएका थिए गत चैतमा। सरकारले बनाएको स्कूलको क्वरेन्टिनमा बसे १५ दिन।

त्यसपछि २१ दिन होम क्वारिन्टनमा बस्न भनियो। गत जेठदेखि उनले ‘मिस्त्री’ को काम खोज्न थालेका हुन्। उनी पनि खड्क र विनोद जस्तै थाकेका छन्।

दलबहादुर भन्छन्, ‘मेरो कोही पनि आफ्नो मान्छे छैन। नचिनेकाले काम दिन्नन्। केही सीप नलागेपछि भाइको घर बनाउन गिट्टी कुट्न थालेको हुँ। भाइबाट ज्याला लिने कुरा भएन।’

दलबहादुरलाई पनि भारतबाट आएको भन्दै गाउँलेहरु अपहेलना गर्छन्। उनी भन्छन्, ‘हेपेको या नहेपेको भन्ने कुरा गाउँले या छिमेकीको व्यवहारबाट थाहा हुन्छ। कोरोना ल्याएको शंका गर्दै हामीलाई हेपिन्छ। तर पनि सहन परेकै छ।’

आर्थिकरुपमा विपन्न दलबहादुरका मनमा धेरै नकारात्मक कुरा खेल्न थालेका छन् । उनी भन्छन्, ‘राम्रो गर्दागर्दै श्रीमतीले छोडी। छोरीहरु अर्काको सहारामा छन्। आफू बेरोजगार भइयो। भाइबुहारीलाई कति सताउने? जीवनदेखि हार खान थालेको छु।’

दलबहादुरका ६५ वर्षीय बुवा पनि भारतमै मजदुरी गर्थे। कोरोनाले उनी पनि छोरासँगै गाउँ आएका छन्। उनका लागि पनि यहाँ कमाउन मुस्किल छ, अब।

दलबहादुरको घरभन्दा केही माथि खोलाको डिलमै सानो कटेरो बनाएर बसेका छन् २१ वर्षीय गणेश नेपालीको ५ जनाको परिवार बस्छन्।

दैलेख गगनपानी स्थायी घर भएका गणेश पनि भारतबाट दलबहादुर जस्तै साथी भाइसँग ऋण मागेर घर आइपुगेका हुन्।

लकडाउन खोलेपछि गणेशले वीरेन्द्रनगर बजारमा कामका लागि साता दिन धाए। भनेजस्तो काम नपाएपछि दैलेख हानिए।

दैलेखबाटै फोन सम्पर्कमा आएका गणेश नेपाली भन्छन्,‘हामीलाई सरकारले न रोजगारी दिन्छ न पहिल्यैकै ठाउँमा कामका लागि पठाउन सक्छ। कामबारे सोच्दासोच्दा निकै नराम्रो लागेको छ।’

गणेशको कमाईमा भर पर्दै आएका उनका बुवाआमा खर्च सकिएपछि हाल आएर ६०/६५ वर्षको उमेरमा मजदुरीका लागि हिँड्न थालेका छन्। गणेशले दैलेखमा पनि काम खोजे।

तर त्यहाँ कोरोना सर्छ भनेर कसैले काम दिएन। जब कि उनको पिसिआर रिपोर्ट नेगेटिभ छ। मनकुमारी ढकालका श्रीमान खडानन्द दुई वर्ष अघि रोजगारीकै लागि कतार पुगेका थिए ।

लकडाउनले खडानन्द घर आउन पाएका छैनन्। खडानन्द कतार गएपछि मनकुमारी छोरा प्रदीप र छोरीलाई पढाउन सुर्खेत वीरेन्द्रनगर झरिन्।

प्रदीप ८ कक्षामा पढ्दापढ्दै १५ वर्षको उमेरमा साथीहरुसँग भागेर भारत पुगे। त्यहाँ उनले काम सुरु गर्न नपाउँदै कोरोना महामारी फैलियो। जसातसो घर आएका प्रदीपको पढाइ त छुट्यो नै मन पनि बिग्रियो।

मनकुमारीको छोरालाई पढाउन चाहना अधुरै रह्यो। वीरेन्द्रनगरमै एउटा कोठा भाडा लिएर बस्दै आएकी मनकुमारीको परिवारको हातमुख उनको जेठो छोरोको कमाईले जोडेको थियो।

गाह्रो भएपछि प्रदिपलाई उनले दैलेखस्थित आफन्तकहाँ पठाएकी छिन्। मनकुमारी अब डेरामा बस्ने स्थिति छैन। ‘भाडा नतिरेको ९ महिना भयो। अब छिट्टै गाउँ नगई सुख छैन’ उनले आफ्नो दुःखको पोयो फुकाइन् । प्रेसर र थाइराडकी बिरामी उनलाई औषधि खाने पैसा जुटाउन मुस्किल छ।

अर्कोतिर बीचमै पढाई छोडेर भारत पुगेर आएको छोरा प्रदिपको पनि त्यत्तिकै चिन्ता छ। भन्छिन्, ‘छोराले कहाँ गएर के गल्ती गर्ने हो त्यसको चिन्ता छ। न उ पढ्छ, न उसले काम पाउँछ।’

अप्ठ्यारोमा वडा कार्यालयहरु


वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसेलाई गाउँमा बेरोजगार युवा छ्याप्छ्याप्ती हुँदा तनाव बढेको छ।

उनका अनुसार मजदुरी गरेर आफू र आफ्नो परिवारलाई बचाइरहेका भूमिबिहीन या सुकुम्बासी समुदायमा बेरोजगारीको समस्या चर्को छ।

यस्ता समुदायका अधिकांश पुरुष मजदुरीका लागि भारत जाने गरेको र अहिले त्यहाँबाट रोजगारीविहीन अवस्थामा घर फर्कन बाध्य हुँदा उनीहरुमा निराशा थपिएको चालिसे बताउँछन्।

वीरेन्द्रनगर वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद चालिसे।

उनी भन्छन्, ‘जग्गा र घर नभएपनि पहिले उनीहरु डेरामा बस्थे। घरका कोही न कोही पुरुष सदस्य भारत या अन्य देशमा मजदुरी गरेर पैसा पठाउँथे। अहिले त्यो ठप्प भयो।

बिचल्ली भएको छ।’ चालिसे स्थानीय, प्रदेश र संघीय सरकारले तत्काल रोजगारी दिन सक्ने अवस्था नभएको र त्यसको आक्रोश वडा कार्यालयहरुमा बढेको बताउँछन्।

उनी भन्छन्, ‘लामो बन्दाबन्दीले विकास निर्माणका काम फटाफट हुन सकेका छैनन्। योजनाहरु ठप्प छन्। रोजगारी कसरी दिने? हामीलाई स्रोतसाधन प्राप्त भएको छैन।’

प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पारेको तर युवाहरुको मागअनुसार आफूहरुले रोजगारी दिनका लागि निर्देशन नआएको उनी बताउँछन्।

उनको भनाईमा वडा कार्यालयहरुले स्वास्थ्य, शिक्षा, प्राविधिक, मजदुरीलगायत काम गर्न सक्ने भन्दै रोजगारीको माग गरेका छन्।

प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा कामदारभन्दा सामग्रीमा पैसा धेरै खर्च हुने गरेको छ।

यो वडामा गत वर्ष यी दुवै कार्यक्रमका लागि ८ लाख रुपैयाँ आएको थियो। त्यो पनि योजना तोकेर पठाइएको थियो। बेरोजागरले ७ दिन काम पाए।

गोरेटो बाटो र खोलामा जाली लगाउन सामग्री किन्दैमा धेरै पैसा सकिएको चालिसेले बताए । जबकि वडा नम्बर १२ मात्रै अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ५७६ जना बेरोजगार युवाहरुले नाम टिपाएका थिए।

सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही आफ्नो गाउँपालिकामा मात्रै करिब चार हजार युवाहरू भारतबाट फर्किएको बताउँछन्। उनीहरुलाई कसरी रोजगारी दिलाउने र गाउँमै टिकाउने भन्ने चिन्ता थपिएको उनी बताउँछन्।

सरकारको भाषण मात्रै, काम शून्य


कर्णाली प्रदेश सरकारले गत असार २ गते आगामी आर्थिक वर्ष २०७७/७८ मा ल्याएको वार्षिक बजेटको तेस्रो उद्देश्य रोजगारीका अवसर सिर्जना गर्ने भन्ने छ। र, त्यही उद्देश्य प्राप्तिका लागि भन्दै रोजगार कार्यक्रमअन्तर्गत २ अर्ब ५८ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

तर कस्तो रोजगार कार्यक्रम भन्ने सरकारले स्पष्ट पारेको छैन। कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाका अनुसार ‘खाद्यान्नको लागि श्रमसहितको रोजगारी कार्यक्रम’ सञ्चालन गरिएको बताउँछन्।

युवाहरुलाई सहुलियत कर्जा र ब्याज अनुदान दिने समेत उनले बजेटमार्फत् घोषणा गरेका    थिए। तर गाउँ फर्केका युवाहरुले ती घोषणाअनुसार कुनै अवसर पाएका छैनन् ।

उनीहरुको अवस्था र उनीहरुका समस्या पहिचानमा तीनै तहका सरकारले बेवास्ता गरेका छन्। कर्णालीका करिब ५० प्रतिशत युवा रोजगारीका लागि भारतमा निर्भर छन्।

यसपटक कोरोनाका कारण झण्डै ३५ हजार युवा बेरोजगार बनेको अनुमान छ। कर्णाली जेठयता मात्रै ४८ हजार नागरिक भारतबाट फर्किएका आएका छन्।

अब भारत जान्न भन्दै आएकाहरुमध्ये अधिकांशले भनेजस्तो रोजगारी नपाएपछि फेरि भारत नै जाने मनस्थिति बनाएका छन्। तर तत्काल भारत जाने स्थिति छैन। खेतबारी भएका युवाहरु केही महिना खेतीपातीमा व्यस्त भए ।

तर, यो वर्षको खेतीपाती सकिएपछि अब के गर्ने भन्ने चिन्तामा डुबेका छन् उनीहरु। सरकारी तथ्यांकअनुसार ५१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको यो प्रदेशमा तीन तहका सरकारले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ।

तर, त्यसका लागि आवश्यक गाम्भीर्यता भने उनीहरुमा देखिँदैन । जसले गर्दा यी युवाहरुमा निराशा छाउने मात्र नभएर बाटो नै बिराउने जोखिम बढेर गएको छ ।