मोरङ – विराटनगर अस्पताल सिल गरेको १२ दिनपछि पुनः सञ्चालनमा आएको छ ।

अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै आकश्मिक सेवासहितका सेवा सञ्चालनमा आएको जनाएको छ । तर ओपीडी सेवा भने अहिले सञ्चालनमा आएको छैन । केही दिनपछि मात्रै सो सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ ।

अस्पतालका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले अहिलेको अवस्थामा सबैले संयमता अपनाउन आग्रह गरेका छन् । काठमाडौँको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचाररत कार्कीले सबै एक भएर कोरोना भाइरसविरुद्ध लाग्नु पर्ने बताएका छन् । शिक्षण अस्पतालमा उपचाररत ६५ वर्षीय डा. कार्कीलाई संक्रमण निको भएका २६ वर्षीय युवकको प्लाज्मा दिइएको थियो । कन्भलेसेन्ट प्लाज्मा थेरापीको तीन दिनपछि आइतबार उनी भेन्टिलेटरबाट वार्डमा आएका थिए ।

अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले सुरक्षाका लागि गत साउन ८ गतेबाट अस्पताल सिल गरेको थियो ।

अर्कोतर्फ विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याइसकिएका कारण अस्पतालको आकश्मिक सेवा सञ्चालन गर्न दिइएको बताए । अनुगमनका क्रममा अस्पतालमा ४८ घण्टा ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाइएको पाइएपछि सेवा सञ्चालनको अनुमति दिइएको उनको भनाई छ ।

पहिलोचरणमा सामाजिक दूरी र अन्य उपायलाई मध्यनजर राख्दै अस्पतालले आकश्मिक सेवा सुरु गर्ने र त्यसपछि अरु सेवा पनि सुचारु गर्दै लैजाने जनाइएको छ ।

आइतबार महानगरपालिकाको जनस्वास्थ्य टोलीले अस्पतालको सबै वार्डको अनुगमन गरेको थियो । यसअघि, अस्पताल सिल गर्दै त्यहाँका अरु चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा उनीहरुसँग सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा अस्पतालसँग आवद्ध १३ जनामा हालसम्म संक्रमण पुष्टि भइसकेको छ । उनीहरुको उपचार भइरहेको छ ।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्