पशुपति क्षेत्रको आर्यघाटमा शव जलाईँदै । तस्बिर : बर्षा शाह/देश सञ्चार
पशुपतिनाथ : सौन्दर्यीकरण वा प्राचीनताको संरक्षण?

ऐतिहासिक घाटमाथि गुरुयोजनाको बक्रदृष्टि

‘देव कार्य र पितृ कार्यको संगम, पशुपतिको पहिचान हो । आशुतोष र संहारकर्ताको रुपमा रहेका महादेवप्रतिको आस्थाको केन्द्र हो पशुपति । पशुपति क्षेत्रसँग नेपाली मात्रै नभएर विश्वभरका हिन्दुहरुको आस्था जोडिएको छ । विश्वास गाँसिएको छ ।’

‘यो क्षेत्रको साँस्कृतिक तथा पुरातात्विक महत्व प्राचीनकालसँग जोडिएको छ । त्यसैले जिर्णोद्धार, निर्माण–पुनर्निर्माण वा विकासका कुनै पनि प्रयासहरु प्राचीनताको संरक्षण र आस्था–विश्वासको रक्षालाई केन्द्रमा राखेर गरिनु पर्छ । त्यसमाथि युनेस्कोले विश्व सम्पदा सूचिमा राखेकाले थप ख्याल गरिनु पर्छ ।’

पशुपति क्षेत्रको साँस्कृतिक पक्षमा विज्ञता हाँसिल गरेका डा. गोविन्द टण्डनका अभिव्यक्ति हुन् यी।

उनले पशुपति क्षेत्रको विवादित र त्यसका कारण हाल एक महिनाका लागि स्थगित गुरुयोजनाबारे टिप्पणी गर्दै सुधार, विकास वा सौन्दर्यीकरणका नाममा गरिने कुनै पनि प्रयासले त्यहाँका मूर्त–अमूर्त सम्पदा, आस्था–विश्वास र ऐतिहासिक पक्षलाई लेस मात्र पनि ठेस पुर्‍याउन नहुने बताए । बरु हरेक प्रयासहरु प्राचीनताको थप संरक्षण गर्ने खालको हुनु पर्ने सम्पदाविदको भनाई छ ।

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेर सरकारमा पठाएको गुरुयोजनामा प्राचीनतामाथि प्रहार भएको, आस्थामा ठेस पुर्‍याउने तथा व्यापारिक स्वार्थ पूरा गर्ने निहीन स्वार्थ रहेको भन्दै सम्पदाविद, आस्थिक समूह र स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पहलमा भएको सम्वद्ध पक्षको छलफलपछि गुरुयोजनाको थप प्रक्रिया एक महिनाका लागि स्थगित गरी सबै पक्षसँग विस्तृत छलफल गरी सुझाव संकलन गर्न कार्यदल गठन भएको छ ।

मन्त्रायलयका दुई सहसचिव तथा पुरातत्व विभागका महानिर्देशकसहितको कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म अहिलेको गुरुयोजना कागजमा सीमित रहने छ ।

तर विवादास्पद गुरुयोजना तयार पार्दा सम्पदाविद, स्थानीय बासिन्दा, स्थानीय निकाय तथा पुरातत्व विभागसँग परामर्श नगरिनु र त्यसमा समावेश विषय प्राचीनता विरोधी हुनुले त्यसमा आन्तरिक र बाह्य षड्यन्त्र भएको आशंका पनि बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा उल्लेख गरिएको घाट सम्बन्धी कुरामा पनि विवाद छ, ब्रह्मनाल सार्ने, पश्चिम ढोका भत्काउने र व्यापारिक मल बनाउने सम्बन्धी योजना आदिबारे ।

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेर सरकारमा पठाएको गुरुयोजनामा प्राचीनतामाथि प्रहार भएको, आस्थामा ठेस पुर्‍याउने तथा व्यापारिक स्वार्थ पूरा गर्ने निहीन स्वार्थ रहेको भन्दै सम्पदाविद, आस्थिक समूह र स्थानीय बासिन्दाले विरोध गरिरहेका छन् ।

यसअघि गएको माघमा भारतमा रहेको गोवर्द्धनमठबाट ल्याइएको जगन्नाथको प्रतिमा प्रतिष्ठा गर्ने प्रयषस भएको थियो । त्यसबेला पनि विवाद भएको थियो । गोवर्द्धनमठ पुरीपीठले सो कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको थियो ।

पशुपति मन्दिरको पूर्वी ढोकाको सिधा तल बागमती नदी किनारमा अवस्थित प्राचीन ब्रह्मनाल नजिकै रहेका आर्यघाटका दुई चिता ‘हटाउने’ योजना रहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल भने आर्यघाट सार्ने वा हटाउने योजना नरहेको बताउँछन्।

घाटको इतिहास

आर्यघाट । तस्बिर : रविन आचार्य/देश सञ्चार

पशुपति क्षेत्र विकास कोषले पूर्व सदस्य सचिव चेतोनाथ गौतमलाई संयोजन गर्न लगाएर तयार पारेको गुरुयोजनामा ब्रह्मनाल नजिकै रहेका दुई चितामा अन्तिम संस्कार गरिँदा पशुपतिनाथ मन्दिरको सौन्दर्यमा आँच आएको तथा दर्शनार्थीले लासको स्पर्श गर्नु परेकाले विकल्पका खोजिनु पर्ने उल्लेख छ ।

कोषका सदस्य सचिव भने आर्यघाट सार्ने कुरा उल्लेख हुँदै नभएको बताउँछन्।

गुरुयोजनामा भनिएको छ, ‘पशुपतिनाथको जललाई भस्मेश्वर दक्षिण ल्याएर तारकेश्वरको स्थापना गरी ब्रह्मनाल निर्माण गर्न आवश्यक देखिन्छ । यसो गर्दा भस्मेश्वर र विद्युत शवदाह गृह पार्थीव शरीरलाई दाह संस्कारका लागि लैजान सजिलो हुन्छ । पशुपति दर्शन गर्न जानेले पनि लास र मलामीको स्पर्श गर्नु पर्दैन।’

यसको अर्थ ब्रह्मनाल भस्मेश्वरमा लगेर अन्तिम संस्कारको व्यवस्थापन पूर्ण रुपमा त्यतै गर्नु नै रहेको विश्लेषण स्थानीय बासिन्दाको छ ।

पशुपति क्षेत्रको बागमती किनारमा रहेका घाटका सम्बन्धमा कोषका पूर्व सदस्य सचिव समेत रहेका डा. टण्डन भन्छन्, ‘ब्रह्मनालको नजिकै दक्षिण तर्फ रहेका दुई चिता काठमाडौँका मल्लराजा लक्ष्मिनरसिंह मल्लको पालामा बनाइएको उल्लेख छ । त्यसपछि विभिन्न समयमा सिँढी हाल्ने, चितालाई थप व्यवस्थित गर्ने काम भयो । पछि राणा कालमा आएर त्यहाँका दुई चितालाई वर्गिकरण गरियो–एक नम्बर चितामा राजपरिवारका सदस्य तथा दुई नम्बरको चितामा भाइभारदार (राणाहरु) को अन्तिम संस्कार हुने गरी ।’

हाल ती चितामा अधिकतम पाँच हजारसम्म तिर्न सक्नेहरु, विशिष्ट व्यक्तिहरु, पशुपति क्षेत्र विकास कोषका वर्तमान तथा पूर्व पदाधिकारीहरुसहितको अन्तिम संस्कार हुने गरेको छ ।

डा. टण्डनले भने, ‘प्राचीनता केलाउँदै जाने हो भने पशुपति क्षेत्रको बागमती किनारमा अन्तिम संस्कारका लागि ब्रह्मनाल नजिक रहेका दुई चिताको प्रयोग पछि आएर भएको देखिन्छ । चिता पछि भएको भए पनि ब्रह्मनाल सनातनकालदेखि नै अहिले भएकै स्थानमा रही आएको छ ।’

घाटको प्राचीनताबारे थप स्पष्ट पार्दै उनले भने, ‘इतिहास खोतल्दै जाने हो भने सबैभन्दा पुरोना घाट हाल राम मन्दिर रहेको दक्षिण तर्फ थियो भन्ने खुल्छ । बागमती नदीले धार परिवर्तन गरेपछि भस्मेश्वरमा घाट सारिएको हो । यसरी भन्दा भस्मेश्वरलाई हाल प्रचलनमा रहेका घाट मध्ये सबैभन्दा पूरानो या प्राचीन भन्न सकिन्छ । ब्रह्मनालमा अर्घ्य जल दिएर शव घाटमा ल्याइ जलाउने गरिन्थ्यो ।’

भस्मेश्वरमा सुरुमा दुईवटा मात्रै चिता थिए । पछि थपिँदै गए । अहिले त्यहाँ १० वटा चिता रहेका छन् । विद्युतीय शवदाह गृहमा क्षमता तीन चिताको भए पनि हाल एउटा मात्र सञ्चालनमा छ ।

विकल्पहरु

पशुपति क्षेत्रको दृश्य । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

ब्रह्मनाल नजिकका दुई चितामा शव जलाउँदा हावाले उडाएर खरानी मन्दिरसम्मै लगेको तथा पूजा गर्ने बेला गन्ध आएको भन्दै बेलाबेलामा पशुपतिका भट्टहरुले गुनासो गर्ने गरेका छन् ।

तर यसलाई सम्बोधन गर्न चिता भत्काउनु नपर्ने सम्पदाविद बताउँछन् । डा. टण्डन भन्छन्, ‘भट्टहरुको गुनासो सम्बोधन गर्ने हो भने त्यहाँका चिता भत्काइनु पर्दैन, त्यसलाई व्यवस्थापन गरे पुग्छ । सबै सरोबर हुने गरी विशिष्ट व्यक्तिको पनि भस्मेश्वरमै अन्तिम संस्कार गर्ने निर्णय गर्ने हो र त्यसका पक्षमा सबै उभिन सक्ने वा आफू विशिष्ट देखिन ब्रह्मनाल नजिकका दुई चितामा जल्ने चाह त्याग्न पहुँचमा रहेका व्यक्तिहरु सक्षम भए भने भइहाल्छ ।’

स्थानीय बासिन्दा र पवित्रता तथा पशुपतिको प्राचीनता सम्वर्द्धनको पक्षमा रहेकाहरुले पनि आर्यघाटका चिताका बारे प्रतिवद्ध तथा स्पष्ट हुनुपर्ने बताएका छन् । जनप्रतिनिधि तथा सम्पदा संरक्षणका पक्षपाती नरोत्तम वैद्यले भनेका छन्, ‘ती दुई चितामा अन्तिम संस्कार नगर्ने बारे निर्णय गर्नु पूर्व बृहत छलफल हुनु पर्छ । ब्रह्मनाललाई नचलाई अन्तिम संस्कार भस्मेश्वर र विद्युतीय शवदाह गृहमा गर्ने पक्षमा छलफल गरे सहमति हुन सक्छ । तर त्यसो भन्दैमा इतिहास बोकेका चिता भने भत्काउनु हुँदैन ।’

वैद्यले आफू पशुपति क्षेत्र विकास कोषको कोषध्यक्ष रहँदाको घटना स्मरण गर्दै भने, ‘त्यो बेलाका सदस्य सचिव सुशील नाहटा जी ती दुई चिता भत्काउने पक्षमा हुनुहुन्थ्यो । उहाँ आफै भत्काउन तम्सिनु भएको पनि थियो । हामीले त्यस्तो हुन दिएनौँ । तर भट्टहरुको गुनासो छ, मैले पनि सुनेको छु । त्यसका लागि चिता भत्काउनु पर्दैन, त्यहाँ अन्तिम संस्कार नगरे हुन्छ । यो निर्णय एकलौटी रुपमा गरेर हुँदैन, सबै पक्षसँग छलफल गरेर सहमति मार्फत गर्न सकिन्छ ।’

उनले भने, ‘ब्रह्मनालमा ल्याएर पशुपतिनाथको चरणकमलबाट आएको अर्घ्य जल प्रदान गरी भस्मेश्वर घाटमा लगि अन्तिम संस्कार गर्ने सनातन चलनलाई स्थापित गर्नका लागि छलफलको कुनै विकल्प छैन । एकलौटी रुपमा निर्णय गरिँदा आस्थामा ठेस लाग्छ, प्राचीनता मासिन्छ, त्यस्तो कदापि हुनु हुँदैन ।’

साउन १९, २०७७ मा प्रकाशित