राष्ट्रियसभा समितिको सभापति चयन साउन २३ गते

दुई वर्षअघि समिति सभापतिको शपथग्रहण गर्दै रातादेवि भट्टबाहेक तीन सभापतिहरु। फाइल तस्विर

काठमाडौँ– राष्ट्रियसभाका चारवटै समितिको सभापति चयन साउन २३ गते शुक्रबार हुने भएको छ। शुक्रबार दिउँसो १ बजे चारवटै समितिको सभापति चयन गर्ने गरी सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार सभापतिको मनोनयका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको छ।

प्राप्त मनोनयनलाई त्यसै दिन ४ः३० बजे प्रकाशन गर्ने र भोलिपल्ट बस्ने बैठकमा निणयार्थ पेश हुनेछ।

राष्ट्रियसभाका एक तिहाइ सदस्य फेरिएपछि र समितिलाई पुनसंरचना गरेपछि फेरि सभापति चयन हुन लागेको हो।

राष्ट्रियसभाका चारवटै समितिका सभापतिहरु दोहोरिने


राष्ट्रियसभाका चारवटै विषयगत समितिका सभापतिहरु दोहोरिने भएका छन्।

एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिएर नयाँ आएसँगै समितिका सदस्यहरु हेरफेर हुने र विषयगत समितिका सभापतिहरु पुनः चयन गर्नुपर्ने व्यवस्था राष्ट्रियसभा नियमावली २०७५ ले गरेको छ।

राष्ट्रियसभामा गत फागुनमै एक तिहाइ नयाँ सदस्य आए पनि शुक्रबार समिति गठन भएको दुई वर्ष पुगेको छ। समिति गठन भएको दुई वर्ष पुगेसँगै दलहरुसँगको परामर्शपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार नियमावलीको नियम १४९ को उपनियम (१ क) अनुसार चारवटै समितिमा रहेन सदस्यहरुको नाम हेरफेर गरेका छन्।

सदस्यहरुको नाम हेरफेर गरेपछि सभापति पुनः चयनको बाटो पनि खुलेको छ। वैधानिक हिसाबले पुनः सभापति चयनको बाटो खुलेसँगै दलहरुबीच भावी समितिको बारेमा छलफल सुरु भएको छ।

नेकपा राष्ट्रियसभा प्रमु्ख सचेतक खिमलाल भट्टराईका अनुसार अहिले भएका सभापतिहरु सत्ता पक्ष र प्रतिपक्षको शक्ति सन्तुलन मिलेकाले त्यसैले निरन्तरता पाउने सम्भावना बढी रहेको जानकारी दिए।

चारवटामध्ये अहिले तीनवटा समितिको सभापति सत्तारुढ नेकपाले राखेको छ भने एउटा सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिएको छ।

सत्ता पक्षले लिएका तीनवटा सभापतिहरु पनि पार्टीभित्रको तीन ठूला गुटले भागवण्डा गरेर लिएकाले पुरानैले निरन्तार पाउने निश्चित जस्तै भएको हो।

हाल राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति रावल थापा (पार्वती) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली निकट हुन् भने विधान व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङ वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्।

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन्। दिगो विकास समितिकी सभपाति तारादेवि भट्ट विपक्षी कांग्रेसकी हुन्।

विपक्षी कांग्रेसका प्रमुख सचेतक राधेश्याम अधिकारीले राष्ट्रियसभामा आफ्नो दलको उपस्थिति कमजोर रहेकाले सत्ता पक्षको निर्णय नै हावी हुने बताए। तैपनि यसअघि एउटा समितिको नेतृत्व कांग्रेसलाई दिएकाले यसपटक पनि दोहोरिन सक्ने विश्वास व्यक्त गरे।

यस्तो छ निर्वाचन कार्यतालिका

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्