कोरोना अपडेटः संक्रमित २० हजार ७५०, निधन ५८, डिस्चार्ज १४ हजार ९६१

काठमाडौँ– नेपालमा कोरोना भाइरसको  संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। उपचारका क्रममा साेमबार विराटनगरको कोशी अस्पतालमा मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

सोमबार बिहान करिब साढे ११ बजे श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनलाई कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए।

उपचाररत उनको सोमबार बिहान नै कोरोना भाइरस संक्रमण परिक्षणको लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट आउनु अगाडि नै उनको मृत्यु भएको अस्पतालका चिकित्सक लक्ष्मीनारायण यादवले जानकारी दिए।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेकाे छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ५, झापाका ५, मोरङका ४६, सिराहाका ३, सप्तरीका ५१, सर्लाहीका २, महोत्तरीका ३१, धनुषाका ३०, बाराका ३, पर्साका ७१, भक्तपुरका ५, कञ्चनपुरका ८, रसुवाका १, बाराका १, काठमाडौँका ४३ र रौतहटका २ जनामा कोरोना पुष्टि भएकाे छ।

यस्तै ललितपुरका ३, चितवनका १,गुल्मीका १,दोलखाका १, कास्कीका ८,स्याङजाका १, रुपन्देहीका १, बाँकेका ८, वर्दियाका १, दाङका १, सुर्खेतका २, दैलेखका २, रुकुमका २, कञ्चनपुरका ८, कैलालीका ६७ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ३ सय ५८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या  १४ हजार ९ सय ६१ पुगेको छ।

देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रिमित रहेका छन्।

साउन १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू