लकडाउनले गर्दा ज्योति मगरले गाउँमा आमासँग बिताएका चार महिना

लकडाउनले गर्दा ज्योति मगरले गाउँमा आमासँग बिताएका चार महिना

ज्योति मगर अरु बेलामा भन्दा फरक देखिएकी थिइन्। हामी अनामनगरमा भेट्ने पूर्वयोजना अनुरुप भेटेका थियौँ। चर्चित गायिका अनि मोडल ज्योति कोरोना भाइरसले संसारमा नै परेको समस्या र नेपालमा त्यसको कारणले गर्दा आइरहेको विभिन्न खाले खबरबारे जानकार थिइन् जस्तो देखिन्थिन्। हाम्रो कुराकानी नै कोरोना भाइरस र लकडाउनको समय के कसरी बित्यो र बित्दै छ भन्नेबाट सुरु भयो।

जनयुद्धको उद्गम स्थलका रुपमा परिचित रोल्पाको नुवागाउँमा जन्मेकी मगरले लकडाउनकै कारण १६ वर्षपछि आफ्नो गाउँमा लामो समय बिताउन पाएको बताइन् । ‘लकडाउन हुने भन्ने लकभग पक्का भइसकेको थियो । त्यसैले पनि म घर रोल्पा गएँ । लामो समय पछि लामो समय सम्म घरमा बिताउन पाउँदा निकै खुशी रमाइलो लाग्यो,’ उनले सुनाइन्, ‘पहिलाको ज्योतिले भन्दा पनि अझ बढी जिम्मेवारी बोकेर गाउँको घरमा समय बिताउन पाएँ। टिपिकल गाउँले तरिकाले समय बित्यो, मलाई त लकडाउनमा गाउँमा बिताएको पल निकै अर्थपूर्ण लाग्यो।’

आमा अनि परिवारका अन्य सदस्यसँग समय बिताउन पाउँदा प्राप्त गरेको खुसी उनको अनुहारमा छल्किएको थियो। ‘यसरी छोरीसँग लामो समय बिताउन पाउँदा आमाले के भन्नु भयो ?’ भन्ने प्रश्नमा उनले उत्तर दिइन्, ‘आमा धेरै खुशी हुनु भएको थियो । आमाले चाहेको बेला मलाई र मैले चाहेको बेलामा आमालाई भेट्न नपाएको वर्षौ भएको थियो लकडाउनकै बहानामा आफ्नो गाउँ र आमाको काखमा बिताउन पाउँदा मन यसै रमायो।’

लकडाउन खुलेपछि ज्योति काठमाडौँ फर्कने कुरा भयो। ज्योतिकी आमाको अनुहारको रंग फेरियो। ‘आखिर आमाको मन न हो, छोरी जान्छे भन्ने थाहा नभएको हैन, तर पनि मनमा चलेको आँधी पोख्नु भयो’ ‘तँ जाने भन्दा नै कस्तो मुटु फुट्ला झै भएको छ, कोरोनाको प्रकोप छ। अहिले नगए नि हुने!’ ज्योतिको आमालाई थाहा थियो, ज्योति किन काठमाडौँ जानुपर्छ। काम, जिम्मेवारी बुझेको मनले छोरीलाई टाढा पठाउँदा अमिलो महशुस गर्नबाट अछुतो रहेन।

‘आमाको गह्रुँगो मनलाई मैले थौरै तौलिने अवसर पाएँ तर मेरो मन गह्रौँ भएको आमाले नभनी बुझ्नु भयो कि!’ ज्योतिले भनिन्, ‘तर हामी दुवै जना नाटक गर्न खप्पिस छौँ । छुट्टिने बेला आमाले पनि मलाई आँसु देखाउनु भएन र मैले पनि देखाइन। तर दुवैलाई गाह्रो भने भयो ।’

ज्योतिलाई त्यतिबेला एउटा छोरी मान्छेलाई आफ्नो जन्मघर छोडेर जाँदा कति गाह्रो हुने रहेछ भन्ने अनुभूति पनि भयो। पहिला उनी सोच्थिन्, ‘जता गए पनि घर फर्किने नै हो ।’ हुन त लामो समय घरमा नबसेको त वर्षौै भएको थियो। यो बसाइमा परिवारका सबै सदस्यको भान्छे बनिन्, आमालाई मासु पकाएर खुवाइन्, मनपर्ने ढिडो पकाइन्, आमाले पर्दैन भन्थिन् तर ज्योतिले आमाको मुख मिठ्याउन प्रयास गरिरहिन्।

जीवनको संघर्ष

ज्योतिलाई अहिले जीवनमा कति संघर्ष गरियो भन्दा पनि जीवन नै एउटा संघर्ष हो जस्तो लाग्छ । आफ्नो संघर्षलाई फर्केर हेर्दा त्यो बेलाको लागि नमिठा अनुभव अहिले सम्झँदा रमाइलो लाग्छ। किनकि त्यहि संघर्षले, त्यही परिस्थितिले आज उनलाई ‘ज्योति’ बनाएको छ। यो पहिचानको लागि सायद त्यो संघर्ष जरुरी पनि थियो होला !

‘पढाइमा म राम्रो थिएँ। तर होमवर्क गर्ने कापी नहुँदा ती विषयको त मैले होमवर्क नै गर्दिन थिएँ। कापी बहानामात्रै हुन सक्छ, एक हिसाबले अल्छी पनि भएर होला। तर अभाव नियति थियो,’ ज्योति भन्छिन्, ‘गणित, विज्ञान जस्ता अफ्ठेरा मानिने विषयको गर्थेँ, अरुको गर्दिनथे। एउटा कापीमा आधाआधा गरेर दुई वटा विषयको गर्ने गर्थेँ।’

ज्योति पढ्ने विद्यालयमा पहिलो, दोस्रो, तेस्रो हुँदा कापी पुरस्कार दिइन्थ्यो। पहिलोलाई मोटो कापी, दोस्रो र तेस्रोलाई दिने कापी पातलिँदै जान्थ्यो। उनले आधा एउटा आधा अर्को विषयको गृहकार्य गर्ने कापी तिनै पुरस्कार स्वरुप प्राप्त गरिएका थिए। कुनै साथीले एकै पटक एक दर्जन कापी किनेको देख्दा उनको मन रुन्थ्यो। त्यो स्मरणले रमाइलोसँगै पीडा दिन्छ। तर ज्योतिलाई त्यो बेलाको अवस्था राम्ररी थाहा छ। तर पनि ज्योति यसलाई म सकारात्मक नजरबाट हेर्छिन्। त्यही दुखले आफू बलियो भएको र संघर्ष गर्ने साहस बटुलेको विश्वास गर्छिन्।

‘सरहरुले घरमै गएर यो ज्योति त पढ्नमा राम्रो छ। नाच्न गाउन नि राम्रो छ। राम्रोसँग पढाउनु है भाउजू भनेर आमालाई भन्नु हुन्थियो। मेरी आमाको पीडा पनि मलाई थाहा थियो,’ ज्योति भन्छिन्, ‘तर पनि त्यो बेला एउटा कुरा चाहि मैले मन लिएको थिएF, जीवनमा मलाई ‘तालL’ चाहिँ चाहिन्छ।’

रोल्पादेखि दाङको घोराहीमा उनी पढ्नको लागि झरिन्। त्यसपछि संघर्ष फेरिए। घरबाट दाल, चामल आएको दिन पेटभरि खाइन्, पछि अड्कलेर खान थालिन। हातमा पैसा नभएपछि किनेर ल्याउने हुत्ति भएन, कति रात पेट खाली रहे। त्यत्तिकैमा उनले थाहा पाइन, ‘दोहोरी गाएको दिनको भत्ता पाइन्छ।’ त्यसपछि उनी दोहोरी गाउन जान थालिन्। विभिन्न कार्यक्रममा भाग लिन थालिन्, आफ्नो लागि आफैँ खर्च उठाउन थालिन्।

‘अहिले धेरैले मलाई सोध्नु हुन्छ। तपाईले कहिले देखि कमाउन थाल्नु भयो भनेर मैले त स्कूल हुँदा नै कमाउन थालिसकेको थिएँ,’ मगर भन्छिन्, ‘टेस्ट दिएपछि एसएलसीको लागि ट्युसन पढ्ने पैसा थिएन। मैले दोहोरी प्रतियोगिता अनि अरु कार्यक्रममा सहभागी भएर जुटाएँ।’

‘तपाई यो क्षेत्रमा तपाईको अभावले आउनु भएको हो? भन्ने प्रश्नमा उनले मुस्काउँदै जवाफ दिइन्, ‘कहिँ कतै हो पनि तर मलाई आफै पनि गीतसंगीत मन पर्थ्यो। तर त्यो बेला अभावले पनि गाइयो होला,’ ज्योतिले एसएलसी पास गरिन्, त्यसपछि पिके क्याम्पसमा भर्ना भइन्। पढाइ निरन्तर जान सकेन। आर्थिक अवस्था, बाध्यतालगायतका कारण प्रशस्तै थिए। पढाइ छुटेपछि उनी काठमाडौँमा दोहोरी साँझमा गीत गाउन थालिन्। भन्छिन्, ‘त्यसपछिको ज्योति त तपाईहरुलाई थाहा नै छ।’

बुवासँग धेरै गुनासो छ, तर आफ्नो बुवा हो, माया लाग्छ

धेरै छोरीलाई आफ्नो श्रीमान बुवा जस्तो होस् भन्ने लाग्छ। तर ज्योति त्यस्तो चाहँदिनन्, उनको बुवासँग धेरै गुनासो छन्। आफ्नो बुवा हो माया त लाग्छ तर बुवाको बानीको कारणले आमाले भोगेका दुख आफूलाई भोग्न नपरोस् भन्ने ज्योतिलाई सधैँ लागिरह्यो। ज्योति भन्छिन्, ‘तर ती बितेका कुरा हुन्।’

उनलाई अहिले पनि पुराना कुरा सम्झँदा बुवाले त्यस्तो नगरेको भए अहिले बुवाको स्वास्थ्य अझ राम्रो हुने थियो कि जस्तो लाग्छ। ‘सबैले धानबाली रोपिसकेका हुन्थे, हाम्रो बुवा रक्सी पिएर धेरै दिन सम्म घर आउनु हुन्थेन। आमा सकिनसकी हल, गोरु जोतेर खेत जोत्न जानु हुन्थ्यो,‘ ज्योति भन्छिन्, ‘त्यो केही कामका लागि पुरुष नै चाहिन्थ्यो। आमालाई जोत्ने कसरी थाहा हुन्थेन तर पनि आमा खेतमा जानुहुन्थ्यो।’

आमाको बाध्यताले गर्दा ज्योतिकी दिदी, ज्योति र उनको ९ वर्षे भाईले हलो जोत्न सिके। ज्योति र उनको भाइले उनको आमा र दिदीले जति जोत्न परेन। ज्योति भन्छिन्, ‘बुवाले त्यस्तो गर्दा आमाले हामीलाई धेरै दुख गरेर हुर्काउनु भयो । आमाले कस्ता कस्ता पीडा दुख सहेर हामीलाई हुर्काउनु भयो भन्ने कुरा त जति गरे पनि कम नै हुन्छ । बुवा त्यो बेला सायद त्यस्तो नभएको भए हामीले त्यस्तो दुख भोग्नु पर्दैन कि भन्ने लाग्छ । गुनासो त यस्तै नै हुन तर माया लाग्छ, आफ्नो बुवा हुन्।’

अहिले सम्म आमालाई भन्न मन लागेको तर भन्न नसकेको कुरा छ ?

‘छ ।’

यति बेला उनको आँखा आँसुले भरियो। आँसुलाई रोक्ने कोसिश गर्दे उनले भनिन्, ‘कुनै दिन मेरो पनि कानको जाली फुटेको थियो । भन्न मन थियो आमालाई ‘आमा मलाई यस्तो भयो’ भनेर । तर मैले सकिन्। किन कि आमाको मन हो छोरा छोरीलाई केही हुँदा पीडा हुने आमालाई हो।’ उनले आमालाई पीडा दिन चाहिनन्।

प्रश्न गरेँ- ‘कसरी तपाईको कानको जालि फुटेको थियो ?’

अब उनी अलि चनाखो भइन्, ‘मलाई लाग्छ, यो कुरा बाहिर आउनु पर्छ। मलाई त्यस्तो गर्नेले सजाय पनि पाउनु पर्छ। तर यो सही समय होइन। सहि समय आएपछि कसरी भएको थियो भन्ने कुरा तपाईसँग फेरि गरौँला ।’ उनले भाका राख्दै भनिन्, ‘सकारात्मक तरिकाबाट कुरा बाहिर आउनुपर्छ भन्ने लाग्छ मलाई ।’

उनका आँखा फेरि रसाए, ‘आँखामा आएका आँसु लुकाउदै थपिन्, ‘मेरो एउटा दुर्घटना भएको थियो त्यो बेला ४, ५ वटा मेरो करङ भाँचिएको थियो। तर मैले आमालाई सामान्य हो भनेर भनेर टारेको थिएँ।’

लकडाउनले के सिकायो?

ज्योति पहिला पहिला आमालाई भन्थिन्, ‘आमा खेतवारीमा धेरै दुख नगर्नु बरु सबै बेचौँ कतै गएर बसौँ’। तर लकडाउनको समय गाउँमा बिताउँदा उनले धेरै कुरा सिकिन्। ‘हामीले खेतबारीमा गरेको दुखबाट धेरै कुराहरु पाउन सक्छौँ। खानलाई अरुको आशा पनि गर्नु परेन,’ ज्योतिले भनिन्, ‘मैले पनि खेतबारीमा रोप्ने गोड्ने काम गरेँ। त्यो आफूले रोपेको कुराले फल दिन थालेपछिको आनन्दको महसुश भयो।’

कृषिमा हामीले मेहनत गर्‍यो भने हामी आफ्नो देशमै आत्मनिर्भर हुन सक्छौँ भन्ने महसुश गरेँ।’

लकडाउनले यी चर्चित कलाकारलाई नया किसिमको आशा दिलाएको छ, ‘भोलि अब यस्तै रहिरह्यो भने त म गाउँमा गएर कृषिमा रमाउने पनि सोच बनाएको छु। आमालाई ‘अब खेतबारी बेच्ने होइन भनेको छु।’

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू