केन्द्रीय कमिटी बैठक नबोलाउने ओलीको घोषणा

काठमाडौँ – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटि बैठक नबोलाउने घोषणा गरेका छन्।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँगको छलफलका क्रममा ओलीले संकटको बेलामा आफ्नै पार्टीबाट रोग नियन्त्रणका लागि असहयोग भएको भन्दै केन्द्रीय कमिटि बैठक नबोलाउने आशय व्यक्त गरेका हुन्।

ओलीले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदाशिन हुदै स्वार्थका पछाडी कुदेको आरोपसमेत लगाए। सरकारले कोरोनाको नियन्त्रणका लागि २५ जनाभन्दा बढी नहुन भने पनि पार्टीभित्रैबाट केन्द्रिय समिति बैठकको माग गरिएको प्रति ओलीले असन्तुष्टि जनाए।

पार्टीभित्र देखिएको समस्या समाधान केन्द्रीय कमिटीबाट हुुनुपर्ने माग गर्दै साउन १४ गते १५२ जना केन्द्रीय सदस्यले बैठकको माग गरेका थिए। विधान अनुसार २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर बुझाएमा एक महिनाभित्र बुझाउनु पर्ने व्यवस्था छ।

तर ओलीले कोरोना संक्रमण हुने अवस्थामा बैठक बोलाउन कहीँ नभएको सोच आफ्नै पार्टीमा भएको बैठक नबोलाउने घोषणा गरेका हुन्।

विज्ञहरुसँगको छलफलमा ओलीले भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ। तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन।’

‘तर बैठक चाहि चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ।’

विवादकै कारण नेकपा स्थायी समिति बैठक असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको छ। ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

ओलीले संकटका बेला सरकारको विरोध गरेको प्रति पनि असन्तुष्टि जनाए। ‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने। कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने,

उनले अगाडि भने, ‘राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने।’

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्