नेपालगञ‍ज-स्थानीय प्रशासनले बाँकेमा चार दिन निषेधाज्ञा बढाएको छ। जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो।

बाँकेमा विगत तीन दिनदेखि निषेधाज्ञा जारी रहेको छ । तीन दिन भनिएको निषेधाज्ञाको समय आज सकिदै थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा कोरोना देखिएकाले थप चार दिन निषेधाज्ञा बढाइएको बताए । निषेधाज्ञा अब शनिबार रातीसम्म कायम रहनेछ ।

५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको बाटो समाएको छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, वडा कार्यालय, आन्तरिक राजश्व, अदालत, यातायात कार्यालयका कर्मचारीलाई कोरोना देखिएकाले ती कार्यालयहरु बन्द छन् ।

यसैबीच, मंगलबार बाँके खजुराका तीन जना डिस्चार्ज भएका छन्। खजुरा–२ का तीन जनामध्ये दुई जना नेपालगञ्ज र एकजना खजुराको आइसोलेसन सेन्टरमा बसेका थिए।

बाँकेमा हालसम्म ३ सय ९१ जना डिस्चार्ज भएका छन्। जिल्लामा अहिले बाँकेका ६२ र बाहिर जिल्लाबाट आएर यहाँ बसेका १० जना गरी ७२ जना आइसोलेसन सेन्टरमा रहेका छन्।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्