कोरोना नियन्त्रणका लागि के सुझाव दिए देउवाले?

फाइल तस्बिर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना नियन्त्रणका लागि परिक्षणको गति बढाउन सुझाव दिएका छन्।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथाका लागि विज्ञहरुसँगको छलफलमा बोलाइएका देउवाले पिसिआरको परिक्षणको दायरा बढाउन, क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन सुझाव दिएका हुन्।

छलफलपछि पत्रकारहरुसँग देउवाले सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने सुझाव आफूले दिएको जानकारी दिए।

उनले भने, ‘पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको व्यवस्थापन हुनुपर्यो भन्ने माग राख्दै केही युवाहरु अनसनमा बसेका छन्। उनीहरुको कुरा पनि सुनुवाइ हुुनुपर्यो।’

देउवाले कोरोनाबारे राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए।

यस्ता छन् देउवाले दिएका ७ बुँदे सुझाव

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउंदछु

  • आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
  •   सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
  • स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
  •   मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।
  • विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था ।
  • नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
  •  सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्