फेरि लकडाउन गर्न प्रधानमन्त्री ‘कन्भिन्स’

कोरोना नियन्त्रण तथा रोकथामका लागि विज्ञसँग परामर्श गर्न प्रधानमन्त्रीले बोलाएको बैठक।

काठमाडौं- कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकार पुन: लकडाउन गर्ने मनस्थितिमा देखिएको छ।

प्रधानमन्त्री ओलीले विज्ञलाई बोलाएर मंगलबार गरेको परामर्शमा सहभागीले परिस्थिति थप बिग्रँदै गएको भन्दै लकडाउनको विकल्प नभएको बताएका थिए।

छलफलका सहभागी एक विज्ञका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारले कुनै कारण बिनै लकडाउन खुला गरेको, स्वास्थ्य सुरक्षाका कुनैपनि मापदण्ड नअपनाइरहेको भन्दै चरम लापरबाही भइरहेको प्रतिक्रियाा दिइएको थियो। बालुवाटारमा भएको छलफलमा कोभिड संकट व्यवस्थापन केन्द्र-सीसिएमसीका पदाधिकारीको पनि उपस्थिति थियो।

चैत ११ गतेदेखि लागु गरेको देशब्यापी लकडाउन साउन ६ गत मध्यरातपछि अन्त्य भएको घोषणा गरिएको थियो। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोरोना संक्रमित ह्वात्तै बढेपछि अहिले ठाउँ ठाउँमा निषेधाज्ञा र लकडाउन गरिएको छ। सीसिएमसीका पदाधिकारीले पनि स्थिती बिग्रिएको प्रधानमन्त्रीलाई ‘रिपोर्ट’ गरेका थिए। प्रधानमन्त्री विज्ञको सुझावमा ‘कन्भिन्स’ भएको बताइएको छ।

मन्त्रिपरिषद्को आगामी बैठकले यसबारे निर्णय लिन सक्ने छलफलका ती सहभागीले बताए।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्