दलित-बस्ती निस्कने ठाउँमा धार्मिक संस्थाको ‘निजी बाटो’, मूलगेटमै ताला लागेपछि बाहिर निस्कनै कठीन

दलित-बस्ती निस्कने ठाउँमा धार्मिक संस्थाको ‘निजी बाटो’, मूलगेटमै ताला लागेपछि बाहिर निस्कनै कठीन

बाटोमा क्रिश्चियन संस्थाले ताला लगाइदिएको मूलगेट। यही गेटका कारण दलित वस्तीका बासिन्दाहरुले घुमेर हिँड्नु परेको छ। तस्बिरहरु: बर्षा शाह

काठमाडौं- ललितपुरको गोदावारी नगरपालिका-१३ झरुवारासीमा निरज भुर्कुटीको परिवार पुस्तौँदेखि बस्दै आएको हो। उनीसहित चार जना दाजुभाइको परिवार लहरैका घरमा बस्छन्। उनीहरुका एक जना आफन्त पनि नजिकै बस्छन्। अर्थात पाँच परिवारको बस्ती छ यहाँ। दलित समुदायका सार्की जातिका हुन् उनीहरु।

उनीहरु बस्ने ठाउँ पहाडी क्षेत्रको जस्तै छ, उकालो चढेर जानुपर्ने तर माथि भने सानो फाँट। २०६५/६६ सालसम्म यो बस्ती मुल सडकमा आइपुग्न गतिलो बाटो थिएन। तीन फिटको सरकारी बाटो नक्सामा भएपनि निजी जग्गाबाटै पैदल गर्ने बाटो बनेको थियो।

ओएम नेपाल नामक क्रिस्चियन धार्मिक संस्थाले त्यस क्षेत्रमा जग्गा किनेर कार्यालय बनाएपछि स्थानीयलाई हिँड्न सजिलो भयो, सवारी साधन घरसम्म सजिलै पुग्न थाले। साँधैमा तीन फिटको सरकारी बाटो भएपनि ओएम नेपालले आफ्नै जग्गामा बाटो बनायो करिब ५० मिटरको जुन बस्तीको वारपार सिमानामा जोडिएको थियो।

ओम नेपालका कार्यकारी संयोजक धनलाल पाख्रिन सरकारी बाटो खोल्न समस्या भएपछि आफ्नै जग्गामा बाटो बनाइएको बताउँछन्। यता  निरज भन्छन्- त्यो बाटो खोल्दा स्थानीयलाई पनि प्रयोग गर्न दिने गरी सहमति बनेको थियो।

यही बाटोमा उक्त संस्थाले ताला लगाइदिएपछि दलितहरु छेवैको सानो बाटोबाट यात्रा गर्ने गरेका छन्।

यतिबेला यही निजी जग्गामा बनेको बाटोको मूलगेटमा ताल्चा लागेको छ, स्थानीय घुमेर तीन फिटको सरकारी बाटोमा हिँडिरहेका छन्। भाडाका सवारी साधन चलाउने निरजले गाडीलाई बाटोमा अलपत्र छाडेर साँझ घर आउनु परिरहेको छ।

आफ्नो सिमानामा बन्दै गरेको फलामे पर्खालको विरोध गर्दै स्थानीयले ओएम नेपाललाई भन्ने गरेका छन्- कि त हाम्रो पनि जग्गा र घर लिइदेऊ नत्र बाटो खोलिदेऊ। हामी हेलिकप्टरबाट बाहिर जाने?

संस्थाको सवारी साधन निक्लदा/ भित्रँदा मात्र मूलगेटको चाबी खुल्छ नत्र बन्द नै रहन्छ।

ओएम नेपालका अधिकारी आफ्नो क्षेत्रलाई पर्खालले घेर्न पाउने अधिकार भएको बताउँछन्।

धार्मिक संस्थाका रुपमा नेपाल भित्रिएको ओएम नेपालले पछिल्लो समय गैह्र सरकारी संस्थाका रुपमा काम गरिरहेको छ। बस्तीभन्दा ठिक माथिको डाँडामा फराकिलो क्षेत्रमा उसको कार्यालय छ। एउटा भव्य भवन डेढ वर्षअघि तयार भएको थियो जुन सरकारी बाटोभन्दा माथिपट्टि पर्छ। उक्त बाटोसँग जोडिएको भुभागमा अग्लो पर्खाल लगाएर त्यसमाथि उक्त भवन तयार गरिएको छ। यहाँ एक विदेशी नागरिक पनि बस्ने गर्छन्। त्यसको नजिकै केही वर्षअघि नै तयार भएको अर्को भवन पनि छ।

२०७२ सालको महाभुकम्पअघि उक्त बस्ती त्यही भवन नजिकै बस्थ्यो। भूकम्पले उनीहरु बस्ने गरेका पुराना घरहरु भत्किए। त्यसपछि उनीहरु तल्लो फाँटमा सरेका हुन्। ‘हाम्रो बुबाले त्यस संस्थालाई साढे ७ रोपनी जग्गा बेच्नु भएको रहेछ। ०७२ को भुकम्पअघि हामी त्यही जग्गामा बसिरहेका थियौँ। पछि उहाँहरुले अब हामी कार्यालय बनाउँछौ, ठाउँ चाहियो भनेपछि तल सरेका हौँ’, निरज भन्छन्। करिब एक महिनायता ओएम नेपाल र स्थानीयबीचको तनाव चुलिएको छ।

यसरी सुरु भयो समस्या 

ओएम नेपालको कार्यालय पुग्न दुई वटा गेट पार गर्नुपर्छ, एउटा मूलगेटको अनि अर्को करिब ५० मिटर अगाडि, हाल स्थानीयले प्रयोग गर्ने सरकारी बाटोको नजिकै। एक महिनाअघिसम्म मूलगेटमा ताला लागेको थिएन।

निरज ओएम नेपालकै कार्यालय भित्र रहेको पार्किङमा गाडी लगेर लाग्थे। आवतजावतमा कुनै समस्या थिएन। लकडाउन खुल्ने चर्चा चल्दैगर्दा संस्थाले निरजलाई आफ्नै घरमा गाडी राख्न भन्यो। यता बाटो र बस्तीको सिमानामा संस्थाले धमाधम फलामको खम्बाहरु ठड्याइरहेको थियो, आफ्नो क्षेत्रलाई बार्न।

निरजको घर प्रवेश गर्ने ठाउँमा केही खालि राखिएको थियो जहाँबाट गाडी भित्र छिर्न सक्थ्यो। निरजका अनुसार खाली राखिएको उक्त ठाउँबाट गाडी निकाल्न र भित्र्याउन सजिलो थिएन। उनले गाडी निकाल्न भित्र्याउन समस्या भएको संस्थालाई जानकारी दिए।

केही दिनपछि उनी आफैले घर भित्र छिर्ने ठाउँमा गाडिएका दुई वटा खम्बा काटिदिए। ओएम नेपालले प्रहरीमा उजुरी गर्‍यो। तीन दिनभित्र खम्बा ठड्याउन निरजलाई समयसीमा दिइएपनि नटेरेपछि मूलगेटमा ताला लगाइएको संस्थाका कार्यकारी संयोजक पाख्रिन बताउँछन्। ‘हामीले अप्ठेरो भयो भने खम्बा सार्नुस् भनेका थियौँ तर उहाँले त काट्नु भएछ। जस्ताको तस्तै बनाउनुस् भन्दा मान्नु भएन। त्यसैले चाबी लगाउनुको विकल्प भएन’, पाख्रिन भन्छन्।

यो विषय प्रहरीदेखि स्थानीय निकायसम्म पुगे पनि समाधान भएको छैन।

 

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू