गौतमसँग छलफल गरेपछि ओली भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ – पार्टीभित्र देखिएको विवाद समाधानबारे अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

आइतबार र सोमबारको भेट विना निष्कर्ष सकिएको अवस्थामा मंगलबार थप तयारीका साथ दाहाल अरु नेताहरुसहित बालुवाटार पुगेका हुन्। बालुवाटार जानुअघि बिहान प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटी पुगेका छन्।

बालुवाटार स्रोतका अनुसार ओली र दाहालसँग मंगलबार पनि वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ पनि छलफलमा बसेका छन्।

गौतमसँगको भेटमा दाहालले ६ बुँदे प्रस्तात फिर्ता लिन आग्रह गरिएको बुझिएको छ। नेकपाको शक्ति संघर्षमा निर्णायक बन्दै आएका गौतमलाई आफ्नो पक्षमा पार्न दाहाल उनको निवासै पुगेका थिए।

एक महिनाअघि नेकपामा सुरु भएको शक्ति संघर्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेर ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पक्षमा उभिएका गौतम साउन १३ गते विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्दै ओलीकै पक्षमा उभिएका छन्।

पार्टीभित्रको शक्ति संघर्षमा कहिले कता कहिले कता उभिदै आएका गौतम जता उभियो उतै सचिवालयमा बहुमत पुग्ने अवस्था छ।

गौतम आफ्नो पक्षमा आएपछि आइतबारको भेटमा ओलीले अब पार्टीका सबै समस्या सचिवालयबाटै टुंग्याउनुपर्ने प्रस्ताव गरेका थिए।
गौतमका कारण ओलीको पल्ला भारी भएपछि उनलाई फेरि आफ्नै कित्तामा उभ्याउन दाहाल नेपाल पक्ष लागि रहेको छ।

ओलीलाई दुवै पदबाट राजीनामा दिन प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले दबाब दिएपछि नेकपामा सुरु भएको विवाद साम्य भएको छैन।

विवादकै कारण साउन १३ गते बोलाइएको स्थायी समिति बैठक ओलीले एक पक्षीय रुपमा स्थगित गरेपछि अर्को बैठक तय हुन सकेको छैन। एक चौथाई केन्द्रीय सदस्यले विवाद स्थायी समितिले समेत समाधान गर्न नसकेकाले केन्द्रीय कमिटि बैठकको माग गरे पनि ओलीले अस्वीकार गरेका छन्।

उनले मंगलबार नै कोरोना नियन्त्रणबारे विज्ञसँग छलफल गर्न आयोजना गरेको कार्यक्रममा ‘ २५ जनाभन्दा बढी भेला हुन मिल्दैन, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय समिति तुरुन्त चाहियो भन्दै छन्’ भन्दै बैठक अस्वीकार गरेका छन्।

बिहानको छलफलमा दाहाललाई बालुवाटार बोलाइए पनि उनी गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्