विश्व फुटबलका कीर्तिमानी गोलरक्षक कासिलासद्वारा सन्यास

म्याड्रिड- विश्व फुटबलका कीर्तिमानी गोलरक्षक इकर कासिलासले खेलाडी जीवनबाट सन्यास लिएका छन्।

स्पेनिस क्लब रियल म्याड्रिडमा १६ वर्ष बिताएका कासिलासले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका हुन्। कासिलासले रियल म्याड्रिडका लागि ३ युरोपियन च्याम्पियन्स लिग र पाँच ला लिगा उपाधि जिताएका छन्। यस्तै स्पेनलाई २ पटक युरोकप र एकपटक विश्वकप जिताएका छन्।

कासिलासले सन् २०१५ मा रियल म्याड्रिड छाडेर पोर्चुगिज क्लब एफसी पोर्टोमा आबद्ध भएका थिए। सन् २०१९ को अप्रिलमा प्रशिक्षण दौरान हर्ट एट्याक भएपछि उनी त्यसयता खेलेका थिएनन्। तर उनलाई प्रशिक्षण टोलीमा ठाउँ दिइएको थियो।

कासिलासले ट्वीट गर्दै लेखेका छन्, ‘महत्वपुर्ण कुरा तिमी कुन बाटोको यात्रा गर्छौ र कसले साथ दिन्छ भन्ने हो। तिमी कुन गन्तव्यमा पुग्छौ भन्ने महत्वपुर्ण हैन।’

कासिलास ९ वर्षको उमेरमा रियल म्याड्रिड आबद्ध भएका थिए। उनी रियल म्याड्रिडको एक सय १८ वर्ष लामो इतिहाँसका सर्वोत्कृष्ट गोलरक्षक हुन्। कासिलासको सन्याश घोषणापछि रियल म्याड्रिडले यी गोलरक्षक सँधै आफ्नो मनमुटुमा रहने बताएको छ।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्