अमेरिकी र चीनको टकरावले सुनको मूल्‍य ह्वात्तै बढ्‍यो, प्रतितोला एक लाख नजिक !

काठमाडौँ-सुनको मूल्य प्रति तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।साउन महिनाको २० दिनमा मात्रै ७ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य मंगलबार ९९ हजार ८ सय पुगेको छ। यो इतिहासमै सुनको महंगो मूल्य हो।

दुई शक्तिशाली मुलुकबिचको द्वन्द्वले गर्दा लकडाउन अघिदेखि नै सुनको मूल्य बढिरहेको थियो। लकडाउन हुनु एक दिन अघि गत चैत १० गते छापावाला सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ पुगेको थियो।

सुनको मूल्य उकालो लाग्ने क्रममा नै चीनको वुहान शहरमा कोरोना भाइरस देखियो।उक्त भाइरसले हेर्दा–हेर्दै विश्वभर महामारीको रुप लियो।विशेषगरी देशका शक्तिशाली राष्ट्र चीन र अमेरिकामा भाइरसको बढी प्रभाव देखियो।जसका कारणले आर्थिक कारोबारका क्षेत्र नै ठप्प भए।

व्यवसाय ठप्प हुदाँ लगानीकर्ताहरु असुरक्षित भए। ठूला देशका लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुनमा लगानी गर्न थालेपछि सुनको मूल्य आकासिएको र अझै मूल्य बढ्नसक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्‍न शाक्यले बताए।

सुनको मूल्य दिन प्रतिदिन बढ्नुको मुख्य कारण कोरोना भाइरस भए पनि अन्तराष्ट्रिय व्यापार द्वन्द्वले पनि यसमा ठूलो भूमिका खेलेको शाक्यको भनाइ छ।

उनले भने, ‘ मुलुका शक्तिशाली राष्ट्रहरुबिच व्यापारीक द्वन्द्वको अवस्था आयो। दुई देशबिचको तनावले विश्व अर्थतन्त्रमा नै असर पार्‍यो। चाइनामा विश्वको नै लगानी छ।चाइना र अमेरिका विश्वको लगानीको मुख्य केन्द्रविन्दु हो। दुई देशको व्यापारिक द्वन्द्वका कारणले त्यहाँका लगानीकर्ताहरुले आगामी दिनका बारेमा सोचर उद्योगधन्दाभन्दा बढी लगानी सुनमा गर्न थाले। जसका कारणले लकडाउन अगाडि सुनको मूल्य बढ्दै ७७ हजारसम्म पुगेको थियो। व्यापारिक द्धन्द्ध यथावत नै छ।सकिएको छैन।’

उनले शक्तिशाली मुलुकको बीचमा कोरोना भाइरसको महामारीले सुनको मूल्य इतिहासकै महंगो भएको तथा अकलपनिय रुपमा बढेको बताए।‘सुनको मूल्य बढ्ने क्रम लकडाउन अघि देखि नै हो’ उनले भने, ‘ तर भाइरसका कारणले सोच्दै नसोचेको रुपमा बढिरहेको छ।यो अझै एक लाख रुपैयाँभन्दा बढी हुने हामीहरुले अनुमान गरेका छौँ।’

अहिले परिस्थितिमा सुनको मूल्य घट्ने सम्भावना कतैबाट नदेखिएको उनको भनाइ छ। ‘कोरोना भाइरस नियन्त्रणमा नआएसम्म सुनको मूल्य पनि नियन्त्रणमा आउँदैन’ उनले भने।

कोरोनाका कारणले हरेक क्षेत्र धरासायी बनेका छन्।उद्योगधन्दा, व्यापार व्यवसाय, सेयर कारोबार लगायतका क्षेत्रमा गिरावट देखिएको छ।आम्दानीको स्रोत गुमेको र सुरक्षित लगानी नभएकाले सुनमा ग्राहकहरुले बेच्ने र लगानीकर्ताले लगानी गर्ने प्रक्रिया बढेको उनले बताए।

यस्तै सुनको मूल्य वृद्धिसँगै व्यापारमा पनि मन्दि छाएको सुन व्यवसायीहरु बताउँछन्।डिल्लीबजारका सुन व्यापारी  तथा  नेपाल राष्ट्रिय सुनचाँदी व्‍यवसायी मञ्‍चका अध्‍यक्ष गणेसप्रसाद लोकान्द्रीले सुनको मूल्य आकासिएपछि किन्‍ने भन्दा बेच्ने ग्राहकहरु बढी भएको बताए।

‘लकडाउनमा समस्यामा परेका ग्राहकहरु सुन बेच्न आइरहेका छन्’ उनले भने, ‘तर किन्ने ग्राहकहरु पनि निकै कम छन्।अति आवश्यक भएका ग्राहकहरु पनि एक तोला किन्नु पर्नेमा आधा तोलामा काम चलाइरहेका छन्।’पोर यस समयमा भरिभराउ हुने पसल अहिले खाली भएको उनले बताए।

‘तीजको समयमा सुन किन्ने ग्राहकहरु आउँथे तर एकतिर कोरोना भाइरसको महामारी अर्कोतिर सुनको मूल्य आकासिएको छ। व्यापार व्यवसाय अहिले ठप्प नै छ। सुनको मूल्य कहिले घट्ने हो थाहा छैन।’ उनले भने।

साउन २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्