बुटवलमा सडक मिचेर बनाएका घरमा चल्यो डोजर

बुटवल – बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ बिस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाएका बाँकी घर भत्काइएको छ।

कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरे पनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो। सडक क्षेत्रका अधिकांश घरहरु हटाएपनि केही घरधनीले घर भत्काउन अटेरी गर्दै आएका थिए।

पटक–पटक सडकको क्षेत्राधीकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो।

उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा बिस्तार गर्ने योजना बनाएको छ। पुरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई बिस्तार गरी २५ मिटर फराकिलो बनाइने छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्