लेबनानको भयानक बिस्फोटमा कतै नेपाली त परेनन्?

काठमाडौँ – लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोट परी नेपाली नागरिक हताहत भएको वा घाइते भएको जानकारी अहिलेसम्म नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको मध्य तथा पश्चिम एसिया र अफ्रिका शाखाका प्रमुख सहसचिव हरिषचन्द्र घिमिरेका अनुसार ठूलो बिस्फोट भएकाले नेपालीहरुको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास भइरहेको छ र अहिलेसम्म नेपाली हताहत भएको वा घाइते भएको जानकारी छैन।

सहसचिव घिमिरेले भने, ‘लेबनान समेत हेर्ने कायरमा रहनु भएका इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालसँग हामी निरन्तर सम्पर्कमा छौँ । यस्तै बेरुत स्थित अवैतनिक महावाणिज्यदूतसँग पनि सम्पर्कमा छौँ । अहिलेसम्म नेपाली हताहत भएको वा घाइते भएको जानकारी छैन।’

घाइते धेरै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने भएको र विस्तृत विवरण आइनसकेकाले नेपालीको अवस्थबारे अहिले नै यकिन रुपमा भन्न नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लेबनानमा रोजगारीका लागि झण्डै १२ हजार नेपाली गएका छन्। बेरुतस्थित बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा मंगलबार राति शक्तिशाली बिस्फोट हुँदा अहिलेसम्म कम्तीमा १०० जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

युरोपेली संघकोघटनामा झण्डै चार हजार मानिस घाइते भएको र मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएको रोयटर्ससहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

लेबनान सरकारले घटना अति दुःखद भएको भन्दै तीन दिने शोकको घोषणा गरेको छ। यस्तै बिस्फोटको कारण थाहा पाउन अनुसन्धान जारी रहेको र दोषी उपर कडा भन्दा कडा कारवाही गरिने राष्ट्रपति मिशेल एउनले बताएका छन् ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्