अयोध्यामा भूमि पुजन, जानकी मन्दिरमा भजन किर्तन, साँझ दीपावली

जनकपुरधाम – भारतको अयोध्यामा भएको भूमि पुजनको खुशियालीमा जनकपुरधाममा रामधुन बजेको छ।

भारत उत्तरप्रदेशको अयोध्यामा राम मन्दिर भूमि पुजनको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भजन किर्तन भएको हो।

लामो समयदेखि विवादमा रहेको राम मन्दिर निर्माण सम्बन्धमा भारतको सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा निर्णय सुनाएपछि आज भएको भूमि पुजनको अवसरमा भगवान रामको ससुराली जनकपुरधाममा भजन किर्तन भएको हो।

राम मन्दिरको भूमि पुजनको खुशियालीमा आज जानकी मन्दिरमा भजन किर्तन भएको र साँझमा दीपावली मनाइने जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए।

राम मन्दिरको भूमि पुजनमा सरिक हुन जानकी मन्दिरका महन्थ राम तपेश्वर दास मंगलबार साँझ भारतको अयोध्या प्रस्थान गरेका थिए।

महन्थ दास अहिले अयोध्यामा नै उपस्थित छन् । उनी अयोध्या भएपनि मन्दिर निर्माणको खुशीयालीमा जानकी मन्दिरमा दिनमा भजन किर्तनको आयोजना गरिएको छ भने साँझमा दीपावली मनाइने कार्यक्रम रहेको छ।

साथै सम्पूर्ण मिथिलाभर मन्दिरको भूमि पुजनको अवसरमा दीपावली मनाउन आग्रह गरिएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू