तपाईँको रिपोर्ट नेगेटिभ आए पनि तपाईँलाई कोरोना लागेको हुनसक्छ !

संक्रमणमुक्त भएपछि डिस्चार्ज हुँदै सर्वसाधारणहरु। तस्बिर: अभयकुमार राई

मोरङ- कोरोनाभाइरस कोभिड १९ संक्रमण बढेसँगै पीसीआर रिपोर्टबारे स्वास्थ्यकर्मी समेत अन्योलमा परेका छन्। सरकारले परीक्षण दायरा बढाउन नसकिरहेको अवस्थामा संक्रमितसँगै आएका पीसीआर परिक्षण रिपोर्टमा स्वास्थ्यकर्मी नै अन्यौलमा परेका हुन्।

यसका कारण विश्व स्वास्थ्य संगठन डब्लूएचओको मापदण्ड मानेर अघि बढिरहेको तीन तहको सरकार र चिकित्सकसमेत पछिल्लो अवस्थामा द्विविधामा परेका छन्।

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल पछिल्लोसमय गलत नेगेटिभ रिपोर्ट आइरहेको हुदाँ थप सजग हुनुपर्नेमा जोड दिन्छन्। सँगै बस्ने, खाने, हिड्ने, तर एकजनाको कोरोनाभाइरस कोभिड १९ रिपोर्ट पोजेटिभ आउने र अर्काको रिपोर्ट नेगेटिभ आउने हुँदा अब थप सचेत रहनुपर्ने उनको भनाइ छ। अर्थात, रिपोर्ट नेगेटिभ आए पनि उक्त व्यक्तिमा कोरोना भाइरस रहेको हुनसक्छ।

डा. सिलवालले केही उदाहरण दिदैं भने, ‘यसविषयमा प्रदेश सरकार न संघीय सरकार कसैले पनि किन यस्तो भइरहेको छ जनतामाझ कुरा ल्याउन सकिरहेका छैनन्।

डब्लएचओ मापदण्ड अवलम्बन गर्नुपर्ने विषयमा जोड दिदैं आएको तीनै तहका सरकारले पोजेटिभ संगैको ब्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि सुरक्षित भएको संकेत गराइरहेको छ। तर, त्यो नहुनपनि सक्छ।

प्रदेश २ का चिकित्सक डा. साजन कर्णले पनि यसविषयमा धेरैको ध्यान केन्द्रित हुन नसकेको बताँउछन्। धरानमा कोरोना संक्रमणबाट मृत्यु भएका महोत्तरीका ६० वर्षीय वृद्धको परिवारमा समेत नेगेटिभ रिपोर्ट आएको बताएका डा.कर्णले नेगेटिभ र पोजेटिभको रिपोर्टले अन्योल बनाएको बताए।

वृद्धको मृत्युपछि सम्बन्धित गाँउमा ४० को कन्ट्याक्ट ट्रेसिङ गर्दा मृतकको श्रीमतिसहित ९ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको उनले बताए। परिवार सदस्यसमा समेत पोजेटिभ रिपोर्ट आउँदा कान्छो छोराको नेगेटिभ रिपोर्ट आउदाँ अन्यौलमा पुगेको बताए।

डब्लुएचओको मापदण्ड अनुसार हेर्दा संक्रमितको सम्पर्कमा रहेकालाई समेत संक्रमण हुनुपर्ने तर, त्यस्तो देखिएको छैन, उनी भन्छन्। नेगेटिभ रिपोर्टका आएका व्‍यक्ति स्वतन्त्र हिँड्डुल गरिरहेको अवस्थामा छन्। यसरी मापदण्डको आवश्यक दिन घरमा नबसेर हिँड्डुल गर्दा खतरा हुने अवस्था बढिरहन्छ तर, त्यसबारे कसैले ध्यान पुर्‍याउन नसकेको नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाका अध्यक्ष डा. सिलवालको भनाइ छ।

प्रत्येक १ सय पीसीआर रिपोर्टमा करिब ३० प्रतिशत रिपोर्ट गलत नेगेटिभ रिपोर्ट आउने सक्ने बताएका उनले भने अहिले नेगेटिभ आएका ब्यक्तिपनि कम्तीमा १४ दिन घरभित्रै लकडाउनमा बस्न सके उचित हुने बताए। यहाँ पीसीआर स्वाब नमूना संकलन गरिरहदाँ रिपोर्ट आउन ढिला हुने गुनासो बढ्दै गएको छ।

डा. सिलवाल भन्छन्, ‘रिपोर्ट समयमा दिन सकिरहेको अवस्था छैन । तर स्वाब संकलन गरिएको ब्यक्तिलाई क्वारेन्टिनमा राख्ने जिम्मेवारीबाट सरकार पन्छिएको छ। स्वाब संकलनको रिपोर्ट आउनेदिनसम्मको समयमा धेरै मानिससंग भेटघाट भइसकेको हुन्छ। त्यसैलेपनि सो परिवारलाई थप केहीदिन घरभित्रै क्वारेन्टिनमा रहन सुझाव छ।’

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पनि यसप्रकारका रिपोर्टबारे अन्यौल नै रहेको बताउँछन्। एकैस्थानमा गरिएको परिक्षणको रिपोर्टमा समेत फरक नतिजा आउदाँ अनुसन्धानको पाटो बाँकी नै रहेको उनको बुझाइ छ।

रिपोर्ट सन्दर्भमा केहीदिन अघि कोरोना पोजेटिभ आएर मृत्यवरण गरेका ७७ वर्षीय बृद्धको श्रीमतिको पीसीआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ।

त्यसैगरी विराटनगर अस्पतालमा कार्यरत एकैपरिवारका दुई चिकित्सकको पीसीआर रिपोर्ट पोजेटिभ आएपनि अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू