सनराईज बैंकमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिए

मोरङ-विराटनगरस्थित सनराईज बैंकको शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन्।

विराटनगर ८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा बुधबार कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कार्यालयमा राखिएको मुसा मार्ने औषधि खाएर हात काटेको अवस्थामा खतिवडालाई शौचालयमा भेटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको बताएका राईले घटना लगत्तै युवतीलाई नोवेल शिक्षण अस्पताल पुर्‍याएको बताए। अस्पतालमा युवतीलाई चिकित्सकले मृत घोषणा गरेसंगै शव कोशी अस्पतालमा पोष्टमार्टमका लागि पुर्‍याइएको उनले जानकारी दिए।

खतिवडा परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो। सातादिन अघि पनि युवतीले आत्महत्याको प्रयास गरेकी उनको भनाइ छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्