लेबनानमा मेरो अपार्टमेन्टको तीन किलोमिटरभित्र विस्फोट भएपछि आत्तिएँ

विस्फोट भएको बेरुत पोर्ट (बन्दरगाह)भन्दा तीन किलोमिटरको दुरीमा म बस्ने अपार्टमेन्ट छ। म कार्यालयको कामले गर्दा यो ठाउँभन्दा सय किलोमिटर दुरीमा थिएँ।

अपार्टमेन्टमा दुई जना छोरा र बहिनी थिइन्। श्रीमती र छोरी लकडाउनका कारण नेपालमा रोकिएका छन्। स्थानीय समयअनुसार साँझ ६ बजेर ८ मिनेटमा पहिलो विस्फोट भएको रहेछ। दुई मिनेटलगत्तै बहिनीले मलाई चिच्याउँदै फोन गरिन्।

छोराहरु पनि आत्तिरहेका थिए। मलाई छटपटी भयो। तर, तत्काल त्यहाँ पुग्न सक्ने अवस्था थिएन। समाचारहरु हेर्दा पछि थाहा पाएँ, बेरुत पोर्टमा भण्डारण गरिएर राखिएको २ हजार ७ सय ५० टन विस्फोट पदार्थ विस्फोट भएको रहेछ। घटनास्थलभन्दा २ सय ५० किलोमिटर टाढा पर्ने साइप्रसमा बसेका साथीहरुले पनि आत्तिएर हालखबर सोधे- यहाँसम्म आवाज सुनियो।

३.३ रेक्टर स्केलको भुकम्प नै गएको पछि समाचारमा पढेर थाहा पाएँ।

म जतिसक्दो छोरा र बहिनीहरुलाई त्यहाँबाट निकालेर सुरक्षित स्थानमा ल्याउने प्रयास गर्न थालेँ। राति १२ बजे बेरुत पुगेर छोरा र बहिनीलाई निकालेर दक्षिण लेबनानमा पर्ने टियरमा ल्याएर राखेको छु। बहिनी भन्दै थिइन्- ०७२ सालको भूकम्पले पनि यति साह्रो हल्लाएको थिएन।  घटनाका बेला बेरुतमा काम खोज्ने क्रममा घटनास्थल बाहिर नै रहेकी एक जना नेपाली महिलासँग आज सम्पर्क भएको थियो। उनी निकै आत्तिएकी थिइन्। बेरुतमा मात्र करिब २५ सय नेपाली रहेको अनुमान छ।

घटनास्थलको करिब ७ किलोमिटर वरिपरि यसको बढ्दा असर देखिएको छ। म बस्ने अपार्टमेन्ट र वरिपरिका घरका सिसाहरु सबै फुटेका छन्। विषाक्त पदार्थ हावामा मिसिएको भन्दै आधिकारिक निकायहरुले घरभित्रै बस्न  र निस्कन परे मास्क लगाएर निस्कन भनेको रहेछ तर घरका झ्यालका सिसाहरु सबै फुटेकाले त्यो सजिलो देखिएको छैन। सन् २०१४ मा तस्करी गरी लाँदै गरिएको विस्फोटक पदार्थ बेरुत पोर्टमा स्टोर गरेर राखिएको र सोही विस्फोटक पदार्थ विस्फोट भएको समाचारअनुसार थाहा पाएको छु। म कार्यरत संयुक्त राष्ट्र संघीय शान्ति मिसनको एउटा पानीजहाज पनि विस्फोटले क्षतिग्रस्त भएको बुझिएको छ।

(पूर्वपत्रकार पोखरेल लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति मिसन का डेपुटी प्रवक्ता हुन्।) 

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्