९० वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किइन्

मोरङ-प्रदेश १ मा ५६ जना कोरोनाभाइरस कोभिड १९ संक्रमित सफल उपचारपछि डिस्चार्ज भएका छन्।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैंचा नगरपालिकाको पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित बुधबार डिस्चार्ज भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए।

डिस्चार्ज हुने क्रममा विराटनगर वडा नम्बर ६ की ९० वर्षीय वृद्धा रहेकी छिन्। कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार ९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो।

संक्रमणसँगै अस्पतालमा भर्ना भएको ११ औं दिनमा गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको डा. सिग्देलले बताए।  आज डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका समान ६, धनकुटा, उदयपुर र तेह्रथुमका समान १ जना रहेको सिग्देलले जानकारी दिए। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ।

अर्कोतर्फ, बुधबार नै प्रदेशमा ५ महिला र १३ पुरुष गरि १८ जना नयाँ संक्रमित थप भएका छन्। संक्रमितमध्ये विराटनगर महानगरपालिकामा ४ जना महिला र ६ जना पुरुष रहेका छन्। त्यसैगरि, मोरङको सुनवर्षी नगरपालिकाबाट ३ र धनपालथान गाँउपालिकाबाट १ जना पुरुष रहेका छन्।

सुनसरीको धरान उपमहानगरपालिकामा १ जना पुरुषमा पीसीआर परिक्षण पोजेटिभ आएको जनाएको मन्त्रालयले इलामको इलाम नगरपालिका र सुर्योदय नगरपालिकाबाट समान १ जना पुरुषमा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिकामा १ महिलामा समेत संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू