कैलालीका २१ सहित सुदूरपश्चिममा ४३ जना कोरोना संक्रमित थपिए

धनगढी-मंगलबार कैलालीका २१ जनासहित सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा चार सय नौँ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा पुष्टि भएका संक्रमित सबै बझाङ जिल्लाका हुन्।

आज नै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको छ। सेती अस्पतालले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको छ।

पुष्टि भएकामा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना रहेको अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी कैलालीकै भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजै थपिएका संक्रमितमा अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्‍नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुष रहेका छन्।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू