प्लाज्मा थेरापी के हो? यसले कसरी काम गर्छ?

विगत केही समयदेखि सारा विश्व नै अधीरताका साथ जुन कुराको प्रतीक्षा गरिरहेको छ, त्यसलाई वर्तमान युगको संजीवनी बूटीको दर्जा एवं मानसम्मान दिँदा शायदै कसैलाई आपत्ति होला।

गत वर्षको नोभेम्बर /डिसेम्बरदेखि नै ‘स्मल इज पावरफुल’ चरितार्थ गर्दै आएको कोरोना भाइरस सामु विश्वका ठूल्ठूला महारथी नै हतप्रभ बनेका छन्।

विश्वका अधिकांश देशका करोडौ मानिस आँखाबाट नदेखिने यस भाइरसको निशाना बनेका छन्। यसको शक्ति प्रहारले इहलीला समाप्त हुनेहरुको संख्या ६ लाख नाघिसकेको छ। भाइरसको ताण्डव चरम अवस्थामै छ, प्रत्येक दिन विश्वमा लाखौँ मानिस यसको प्रभावमा आउनुका साथै हजारौँ मानिस यसको आतंक वा घातकताले आफ्नो जीवनरूपी ‘एकाउन्ट’ समाप्त हुने बाध्यकारी परिस्थिति भोगिरहेका छन्।

अनेकौँ देशका प्रबुद्ध वर्ग कोरोना भाइरसको शक्ति र प्रभाव निस्तेज पार्न सक्ने सञ्जीवनी बूटी अर्थात भ्याक्सिनको खोजी, सम्वर्धन र प्रवर्धनमा जुटेका छन्। झण्डै १० वटा भ्याक्सिन तयारी भएर ‘ट्रायलको विभिन्न चरणमा’ आफ्नो उपयोगिता- प्रामाणिकता एवं सुरक्षात्मकता परीक्षण एवं पुष्टिको अनुसन्धानत्मक ‘फेज’मा अघि बढिसकेको समाचार प्रकाशित भइरहेका छन्।

विभिन्न संस्था र देशहरुको आआफ्नो दाबी छ। रूसको दाबी अक्टोबर महिनाभित्र भ्याक्सिन उपलब्ध गराउने रहेको छ। अक्सफोर्ड लगायतका अन्य भ्याक्सिन पनि आउँदो सन् २०२१ को फेब्रुअरी-मार्च महिनासम्म उपलब्ध हुने प्रबल सम्भावना छ।

२-३ दिन अघि नेपालका पत्र पत्रिका तथा अनलाइन पोर्टलहरुमा कोरोना संक्रमित एकजना स्त्रीरोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्रमान कार्कीको ‘प्लाज्मा थेरापी’बाट उपचार गरिएको समाचार आएको छ। ढिलोगरी भए पनि नेपालमा ‘प्लाज्मा थेरापी’ प्रयोगमा ल्याइएकोमा ख़ुशी नै व्यक्त गर्नुपर्छ। अनेकौँ देशमा यो ‘थेरापी’ पहिलादेखि नै कोरोना संक्रमण विरुद्ध प्रचलनमा रहेको छ।

प्रकाशित समाचारले जति ख़ुशी बनायो, नेपालको पत्रकारिता क्षेत्रको हैसियत, ज्ञान र विषयप्रतिको अल्पज्ञता स्तरले त्यति नै व्यथित पनि बनायो। मित्र नारायण अमृत सम्पादक भएको स्वास्थ्य सम्बन्धी अनलाइनले कोरोना संक्रमितका लागि ‘नेपालमै पहिलो पटक प्लाज्मा बनाउने डाक्टर’ शीर्षकमा समाचार लेख्यो। समाचारभित्र पनि रगतबाट ‘प्लाज्मा बनाएर’, ‘प्लाज्मा तयार गर्न ४ घन्टा समय लागेको’ उल्लेख रहेको छ। समाचार पढ्दा यस्तो लाग्छ, मानौँ प्लाज्मा रगतको एउटा ‘कम्पोनेन्ट’ नभएर रगतबाट अर्को कुनै ‘कम्पोनेन्ट’ प्लाज्मा तयार गरिएको होस्। अधिकांश पत्रपत्रिकाले यसै शैलीमा समाचार लेखेका छन्, तर मैले उल्लेख स्वास्थ्यखबरकै गर्नुको कारण यो अनलाइन स्वास्थ्य विषयक भएकाले हो।

रगतबाट प्लाज्मा नछुट्टाई (प्लाज्मा रगतकै एउटा ‘कम्पोनेन्ट’ हो) सोझै रगत प्रत्यारोपण गरे पनि यसले ‘प्लाज्मा थेरापी’ कै काम गर्छ। रगतबाट प्लाज्मा छुट्ट्याएर दिनुको अर्थ यति नै हो, कोरोना संक्रमणसँग लडेर रगतमा ‘एन्टीबडी’ (एन्टीबडी रगतको प्लाज्मा भन्ने ‘कम्पोनेन्ट’मा मात्रै हुन्छ) निर्मित भई स्वस्थ भएको मानिस शारीरिक रूपमा कमजोर रहेको हुन्छ।

उसबाट २०० एमएल रगत लिँदा उसमा यो रगत पूर्ति हुन झण्डै २ महिनाको समय लाग्छ।

सोझै रगत दिँदा अति धेरै रगतको आवश्यकता हुन आउँछ। त्यसैले रगतबाट प्लाज्मा मात्रै झिकी बाँकी रहेको रगत (जुन झण्डै २०० एम्एलको आधा हुन्छ) ‘डोनर’ कै शरीरमा फिर्ता पठाइन्छ। यसको रहस्य अथवा सामान्य गणित यसरी बुझौँ।

रगतमा प्लाज्मा बाहेक ‘आरबीसी’, ‘डब्ल्यूबीसी’ र ‘प्लेटलेट्स’ नामक ‘कम्पोनेन्ट’ रहेका हुन्छन्। कुनै व्यक्तिको शरीरबाट रगत झिकिँदा (डोनरमा) रगतसँग बाहिर आएको प्लाज्मालाई शरीरमा ‘रिकभर’ हुन जम्मा ४८ घन्टाको समय लाग्छ। कुनै ‘डोनर’बाट २०० एमएल रगत लिँदा उसको शरीरमा प्लाज्माको पूर्ति ४८ घन्टामा भइसकेको हुन्छ। ‘डोनर’को शरीरबाट झिकिएको २०० एमएल रगतबाट प्लाज्मा झिकी ( रगतमा प्लाज्माको मात्रा झण्डै ५५ प्रतिशत हुन्छ) बाँकी रहेको रगत जसमा अन्य सबै ‘कम्पोनेन्ट’ ‘आरबीसी’, ‘डब्ल्यूबीसी’ र ‘प्लेटलेट्स’ यथावत रहेका हुन्छन् र यसको मात्रा झण्डै १०० एमएल हुन्छ, पुनः ‘डोनर’ कै शरीरमा फर्काइन्छ। यसले गर्दा ‘डोनर’ को शरीरमा रगतको मात्रा २ दिनमै पूर्वकै स्थितिमा फर्किन्छ। प्लाज्मा वास्तवमा ९० प्रतिशत पानी हो। यसको दस प्रतिशत भागमा ‘प्रोटिन मलिक्यूल्स’, ‘एन्ज़ाइम्स’, ‘क्लटिङ एजेंट्स’, ‘भिटामिन्स’, ‘हार्मोन्स’का साथै ‘इम्यून सिस्टम कम्पोनेन्ट्स’ (एन्टीबडी) रहेका हुन्छन्।

रगत दान गर्दा सबैभन्दा ढिलो ‘रिकभर’ हुने ‘कम्पोनेन्ट’ ‘आरबीसी’ हो। यसलाई ‘रिकभर’ हुन ८ साताकै समय लाग्छ। यसैगरी ‘डब्ल्यूबीसी’ र ‘प्लेटलेट्स’लाई ‘रिकभर’ हुन ८-१० दिन लाग्छ। तर दान गरिएको रगतबाट प्लाज्मा मात्रै झिकेर शेष रगत दाताकै शरीरमा फर्काउँदा यी तीनवटै ‘कम्पोनेंट्स’मा कुनै कमी आउँदैन। शरीरबाट बाहिरिएको प्लाज्माको पूर्ति २ दिनमै हुन्छ। भनौँ दाताले २ दिनपछि पुनः प्लाज्मा ‘डोनेट’ गर्नसक्छ। यसले दाताको शरीरमा कुनै प्रतिकूल प्रभाव पार्दैन।

‘प्लाज्मा थेरापी’को अर्को एउटा ठूलो फाइदा के छ भने एकजना ‘डोनर’बाट प्राप्त भएको प्लाज्माबाट ४ जना रोगीलाई प्लाज्मा प्रत्यारोपित गर्न पुग्छ। र, प्लाज्मालाई १ वर्षसम्म सुरक्षित राख्न सकिन्छ।

‘प्लाज्मा थेरापी’ को तुलना जामवन्तसँग गर्न सकिन्छ। आफ्नो सामर्थ्य बिर्सेका हनुमानलाई जामवन्तले स्मरण गराउँदा विशाल समुद्र नाघेको कथा हामी सबैले पढेका छौँ।

कोरोना भाइरसबाट संक्रमित हुँदा शरीरको प्रतिरक्षात्मक प्रणालीले भाइरस संक्रमण विरुद्ध अनेकौ स्तरका सेना गठन गर्छ। ‘एन्टीबडी’ शरीरको प्रतिरक्षात्मक प्रणालीले तयार पारेका लडाकु सैनिक हुन्।

लेख सर्वसाधारणले पनि बुझ्न सकून् भनेर सकेसम्म साइन्टिफिक विवरण नलेखेर विम्बात्मक शैलीमा चित्रण गर्ने प्रयास गर्दैछु।

विश्वमा कोरोनाबाट संक्रमित भएका करोडौँजना मध्ये करोड़भन्दा बढी मानिस संक्रमणबाट मुक्त भई स्वस्थ बनेका छन्। हामी भन्न सक्छौँ उनीहरुको प्रतिरक्षात्मक प्रणालीले ‘एन्टीबड़ी’ रूपी सैनिक तयार गरी कोरोना भाइरसलाइ पराजित गरेको हो।

तर यसै क्रममा ६ लाखभन्दा बढी व्यक्तिले कोरोनासँगको संघर्षमा पराजित हुनु परेको छ। यसको प्रमुख कारण ती व्यक्तिमा पहिलादेखि कुनै असाध्य रोग हुनु, उमेरले गर्दा प्रतिरक्षात्मक प्रणाली कमजोर हुनु नै हो।

जुन करोडौँ व्यक्ति संक्रमणबाट आफै मुक्त भएका छन अर्थात उनको शरीरमा कोरोना भाइरसको संक्रमणलाइ मात गर्ने ‘एंटीबडी’ निर्मित भइसकेको छ तिनलाई भ्याक्सिनको के काम ? भ्याक्सिनले बनाउने त ‘एन्टीबडी’ नै हो जुन ‘एन्टीबडी’ प्राकृतिक रूपमै उनीहरुका शरीरमा बनी सकेको छ। यसैगरी एकपटक संक्रमित भइसकेको व्यक्तिलाइ पुनः संक्रमण हुँदा ‘प्लाज्मा थेरापी’ पनि आवश्यक छैन। उसँग ‘अलरेडी एन्टीबडी’ छ।

संक्रमणसँग परास्त हुनेहरुको प्रतिरक्षात्मक प्रणालीले भाइरस विरुद्ध युद्ध नलडेको भने होइन। प्रतिरक्षात्मक प्रणालीको रोग वा बाहिरी संक्रमणसँग लड़ने एउटा निर्दिष्ट कार्यप्रणाली हुन्छ। यसमा केही समय लाग्छ, शरीरले ‘एन्टीबडी’ नामक सैन्य दस्ताभन्दा पहिला आफ्ना अन्य सैनिक प्रयोगमा ल्याउँछ।

अन्य रोगले ग्रसित व्यक्तिको प्रति रक्षात्मक प्रणालीले पुराना रोग सँगसँगै नयाँ कोरोना संक्रमणसँग पनि, भनौँ दुईवटा मोर्चामा लड्नु पर्ने भएकाले आफ्नो पूरा ‘एफिसिएन्सी’ले कोरोना संक्रमणसँग लडन पाउदैन। शक्ति बाडिएकोले कोरोना संक्रमण बढ्दै जान्छ, प्रतिरक्षा प्रणाली यसलाई रोक्न सक्दैन र संक्रमितको मृत्यु हुन्छ। यस्ता अधिकांश मृत्यु हुने मानिसको मृत्यु, उनीहरुमा रहेको पुरानो रोग (भाइरसले कमजोर ठाउँमै बढी प्रहार गर्छ) का कारणले गर्दा भएको हुन्छ।

डब्ल्यूएचओको गाइडलाइन विचित्रकै छ। कोरोना संक्रमित व्यक्ति छतबाट लडेर, पानीमा डुबेर, मोटर एक्सिडेन्टमा परेर अथवा अन्य यावत कारणले मरे पनि हिसाब किताबमा मृत्युलाई कोरोना संक्रमितको बही खातामा दर्ज गरिन्छ।

वास्तवमै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको जुन संख्या/तथ्यांक पेश गरिन्छ, त्यसमा १ प्रतिशत पनि कोरोना संक्रमणका कारण मरेका होइनन। उनीहरु दीर्घ रोगी थिए, ‘क्रोनिक पेसेन्ट’ थिए। कोरोना संक्रमणले उनीहरुको प्रतिरक्षात्मक प्रणालीलाई दुई अथवा दुईभन्दा बढी (शरीरमा पहिलादेखि १ भन्दा बढी रोग भएका मानिस) मोर्चामा लड्न बाध्य बनायो। पुरानो रोगमा प्रतिरक्षा प्रणालीले दिने सुरक्षा कमजोर हुन गयो र भाइरसले त्यही कमजोरीमा हमला गरी व्यक्तिलाई मृत्युको मुखमा पुर्‍यायो।

दुबै किड्नी फेल भएको मानिस, क्यान्सर भएको मानिस, दीर्घ दम रोगी, मधुमेहका जटिल रोगी, मुटुरोगी लगायत विभिन्न रोगबाट थला परेका व्यक्ति अथवा उमेरको प्रभावले प्रतिरक्षा प्रणाली कमजोर र जर्जर भइसकेका मानिसहरुको मृत्युको कारणमा कोरोना संक्रमण नै प्रमुख कारण हो भन्न मिल्दैन। उनीहरुका लागि कोरोना थप निमित्त मात्रै भएको हो। यमलोक यात्राको टिकट किन्ने लाइनमा यिनीहरु पहिलादेखि नै उभ्भिएका थिए, संक्रमणले धक्का दिएर यिनीहरुलाई टिकट काटने काउन्टरसम्म केही समय पहिला पुर्‍याइदिएको मात्रै हो।

संसारभरि करोडौँ व्यक्ति कोरोना संक्रमित भई स्वस्थ भएका छन्। नेपालमै मंगलबार साउन १९ गते ५ बजेसम्म संक्रमित हुनेको संख्या २१,००९ पुगेको छ। ५८ जना व्यक्ति कोरोना संक्रमित भई विभिन्न कारणबस मृत्युमुखी बनेका छन् भने यही समयसम्म स्वस्थ हुनेको संख्या १५,०२६ रहेको छ। संक्रमण लागेर स्वस्थ हुनेको प्रतिशत नेपालमा ७१ भन्दामाथि छ। नेपालमा ‘एक्टिभ’ संक्रमित संख्या यसै समयभित्र ५,९८३ रहेको छ। यसमा पनि महत्वपूर्ण कुरा के हो भने ५,९८३ जना संक्रमितमध्ये कति जनालाई संक्रमण गम्भीर रूपमा रहेको छ? कति जना आइसियुमा उपचाररत छन्, कति जना भयान्टिलेटरमा छन्?

अफारेसिस मेसिन।

नेपालमा कोरोनाको भयावहताबारे हल्ला फिँजाउने जमातमा फेसबुकिया बुज्रुकदेखि विभिन्न मिडिया र पत्रकार, डाक्टर र स्वयं स्वास्थ्य मन्त्रालय नै संलग्न रहेको देखिन्छ। अरे बाबा! कसैले त भनिदियोस्, यी ५,९८३ मध्ये कतिजना सघन उपचार सेवा लिइरहेका छन्। ५ जना, १० जना, १५ जना, ५० जना? मिडियाले दिनमा २० भन्दा बढी कोरोना सम्बन्धी समाचार प्रकाशित गर्छ, उसका लागि कोरोना ‘हटकेक’ बनेको छ। विभिन्न क्षेत्र र नगरले आफू ख़ुशी ‘लकडाउन’ घोषणा गरेका छन्। केन्द्रीय सरकार आफ्नै किचलोले संकटमा छ, यस महिनाभरि ‘ट्याक्स कलेक्सन’ हुनेबित्तिकै उसले देशभरी ‘लकडाउन’ घोषणा गर्ने सम्भावना बढ्दै गइरहेको छ। ‘लकडाउन’ घोषणा गराउनमा डाक्टर र ब्यूरोक्रेटहरुको आफ्नो स्वार्थ निहित रहेको कसैबाट लुकेको छैन। मिडिया भने सित्तैमा मतियार बनिरहेको।

लेखको प्रारम्भमा भ्याक्सिनको कुरा गरेको थिएँ। त्यसपछि ‘प्लाज्मा थेरापी’को उल्लेख गरेको थिएँ। तपाईलाई कसैले भन्दैन, वस्तुतः यी दुबै एउटै कुरा हुन्। भ्याक्सिनमा विभिन्न माध्यमले कमजोर पारिएको कोरोना भाइरस नै रहेको हुन्छ। यस कमजोर भाइरसलाई भ्याक्सिनको नाममा शरीरमा ‘इन्जेक्ट’ गरिन्छ। भ्याक्सिन ‘इन्जेक्ट’ गरिएको व्यक्ति कोरोना संक्रमित नै हुन पुग्छ तर भ्याक्सिनमा रहेको भाइरस कमजोर पारिएको हुन्छ शरीरमा संक्रमणको गति मन्द हुन्छ र शरीरको माथि वर्णित प्रतिरक्षा प्रणालीले यस विरुद्ध ‘एन्टीबड़ी’ बनाउने पर्याप्त समय पाउँछ। एकपटक शरीरले कमजोर भाइरसका विरूद्ध ‘एन्टीबडी’ बनाई सकेपछि असली कोरोना भाइरसको संक्रमण हुँदा शरीरले द्रुत गतिले ‘एन्टीबड़ी’ बनाई संक्रमणलाई निस्तेज बनाउँछ।

‘प्लाज्मा थेरापी’ ले पनि गर्ने यही नै हो, भ्याक्सिनभन्दा पनि प्रभावी ढंगले काम गर्छ। किनकि यस ‘थेरापी’मा संक्रमित व्यक्तिमा सोझै ती ‘एन्टीबड़ी’ प्रवेश गराइन्छ जुन कोरोना विरुद्ध विजेता घोषित भइसकेका छन्।

मानिलिनुस् कुनै संक्रमित व्यक्तिको शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमण विरुद्ध आफ्नो संज्ञानमा रहेका अन्य उपाय गर्दैछ र ती उपाय कोरोनालाई परास्त गर्न पर्याप्त भइरहेका छैनन्। हुन त प्रत्येक शरीरले विस्तारै ‘एन्टीबडी’ बनाई भाइरसलाइ परास्त गर्छ। तर कुनै संक्रमितको अवस्था गम्भीर हुँदै गईरहेको छ भने उसमा ‘प्लाज्मा इंजेक्ट’ गर्न साथ उसको प्रतिरक्षा प्रणालीलाई जामवंतले हनुमानलाई स्मरण गराए जस्तै दिव्य ज्ञान प्राप्त हुन्छ र प्रतिरक्षा प्रणालीले तिनै ‘एन्टीबडी’ शरीरभित्र उत्पादन गरेर संक्रमणलाइ परास्त बनाउँछ।

कोरोनाको रहस्य बुझ्नुस्। कुल संक्रमित भएका मध्ये ४-५ प्रतिशत व्यक्तिलाइ मात्रै संक्रमण अलिक गम्भीर अवस्थासम्म पुग्छ, शेष ९५ प्रतिशत व्यक्तिका लागि यो रुघा खोकीको सामान्य भाइरस सरह नै हो। उनका लागि विविध घरेलु उपाय नै पर्याप्त छन्। यी ५ प्रतिशत मध्ये पनि ५० प्रतिशत व्यक्ति आफ्नो पुरानो रोगसँग सम्बन्धित औषधि सेवन र आराम गरेर आफ्नै शरीरमा ‘एन्टीबडी’ बनाई संक्रमण मुक्त हुन्छन्। अन्य ५० प्रतिशतलाइ भने सघन चिकित्सा आवश्यक पर्छ। यिनै ५० प्रतिशतका लागि ‘प्लाज्मा थेरापी’ आवश्यक हुन्छ अथवा यिनैलाइ भ्याक्सिनको आवश्यकता पर्छ।

विचार गरिहेर्नुस् – जुन करोडौँ व्यक्ति संक्रमणबाट आफै मुक्त भएका छनं अर्थात उनको शरीरमा कोरोना भाइरसको संक्रमणलाइ मात गर्ने ‘एंटीबडी’ निर्मित भइसकेको छ तिनलाई भ्याक्सिनको के काम ? भ्याक्सिनले बनाउने त ‘एन्टीबडी’ नै हो जुन ‘एन्टीबडी’ प्राकृतिक रूपमै उनीहरुका शरीरमा बनी सकेको छ। यसैगरी एकपटक संक्रमित भइसकेको व्यक्तिलाइ पुनः संक्रमण हुँदा ‘प्लाज्मा थेरापी’ पनि आवश्यक छैन। उसँग ‘अलरेडी एन्टीबडी’ छ।

संक्रमणबाट मुक्त भइसकेका सबैजना व्यक्तिको रगतको प्लाज्मा भन्ने ‘कम्पोनेंट’ मा रहेको ‘एंटीबडी’ वास्तव मै त्यै थोक हो जुन थोक कोरोना विरुद्धको भ्याक्सिन लिएपछि शरीरमा बन्ने हो, जसलाई हामीले बारम्बार ‘एंटीबडी’ भनी पढ़िसकेका छौ। भ्याक्सिनले यो भन्दा बढी कुनै काम गर्ने होइन। कतिपय मानिसमा भ्याक्सिन विषयक उल्टोपुल्टो जानकारी छ। उनीहरुको सोचाइमा भ्याक्सिन लिएपछि कोरोना संक्रमण हुँदै हुँदैन भन्ने छ। यस्ता मित्रहरुले आफुलाई ‘करेक्ट’ गरे हुन्छ। भ्याक्सिन लिए पछि पनि कोरोना संक्रमण हुने त्यति नै संभावना बाँकी रहन्छ जति भ्याक्सिन नलिँदा। भ्याक्सिनले पूर्णरूपेण काम गरेको खन्डमा तपाईको शरीरभित्र कोरोनासँग लड़ने ‘एन्टीबडी’ निर्मित हुन्छ र भविष्यमा यदि तपाईलाई कोरोना संक्रमण भयो भने शरीरले संक्रमणसंग लड़ने ‘एंटीबडी’ सेना बनाई सकेको हुन्छ।

कोरोना अब व्यापार बनिसकेको छ। ‘मेडिकल माफिया’ ,’बिग टाइकून’ यसको दोहन गर्ने योजनामा छन्। दुःखको कुरा त के हो भने डब्ल्यूएचओ जस्तो संस्था पनि यिनै वर्गको मतियारको रूपमा काम गरीरहेको छ। एउटा उदहारणले बुझौँ। यस संस्थाले व्यग्रतासाथ भ्याक्सिनको प्रतीक्षा गरीरहेको छ, शायद आएपछि बाँड़न पनि सघाउला। तर आजका मितिसम्म यस संस्थाले किन भनिरहेको छैन-जुन व्यक्ति कोरोना संक्रमित भइ स्वस्थ भइसकेका छन तिनलाई भ्याक्सिनको आवश्यकता रहँदैन किनकी उनीहरुको शरीरमा भ्याक्सिनले बनाउने ‘एंटीबडी’ पहिलादेखि नै बनिसकेको छ। के उसको यो मौनता रहस्यमय होइन?

नेपालका सर्व साधारण कसैले पनि कोरोनासँग आत्तिनु पर्दैन, डराउनु पर्दैन। हो नेताले डराए हुन्छ, ब्यूरोक्रेटले डराए हुन्छ, भ्रष्टाचारीले डराए हुन्छ। यिनका लागि डर हुनु आवश्यक नै छ। १५ हज़ार भन्दा बढी व्यक्ति (यिनमा पनि अधिकतमले कुनै उपचार नगराई नै) संक्रमित भएर स्वस्थ भइसकेका छन। मरेका भनी प्रचारित व्यक्तिको ‘मेडिकल हिस्ट्री’ हेर्नुस, अधिकांश अन्य कारणले मरेका हुन्।

डर नमानी जीवनयापन, रोज़गार -धंधा आदि गर्नुस्। कोरोना संक्रमण तपाईँलाई हुँदैन भन्ने होइन। तपाईँले जतिसुकै सावधानी अपनाए पनि कुनै न कुनै दिन तपाईलाई कोरोना भाइरसले छुन्छ नै। डब्ल्यूएचओ कै भनाइ छ कोरोना निर्मूल हुँदैन, योसँगै बाँच्ने कला सिक्नु पर्छ। अब तपाई आफै विचार गर्नुस त्यों कला के हुन सक्छ? जोगिएर बस्नु उत्तम कि नेपाली १५ हज़ार अथवा विश्वका करोडौ मानिस जस्तै आफ्नो शरीरमा कोरोना विरुद्धको ‘एंटीबडी’ विकसित गरेर निर्धक्क हुनु उत्तम।

समाचारमा आए अनुसार ग्राण्डी अस्पतालका ‘ब्लड ट्रांसफ्यूजन’ विशेषज्ञ डाक्टर विपिन नेपालले संक्रमण मुक्त एकजना युवकको रगतबाट प्लाज्मा पृथक गर्ने काम गरेका थिए। ग्राण्डीमै युवकको रगतबाट प्लाज्मा झिकी महाराजगञ्जको टिचिङ अस्पतालमा रहेका  रोगीमा प्रत्यारोपित गरिएको थियो। समाचारमा स्पष्ट छैन यसरी रगतबाट प्लाज्मा पृथक गर्न ‘ब्लड कम्पोनेंट एक्सट्रैक्टर’ ( Blood component extractor ) यन्त्र ‘एफेरेसिस मशीन’ ( Aphaeresis Machine ) प्रयोगमा ल्याइएको थियो कि डाक्टर विपिनले रक्त विभाजन प्रक्रिया (Blood Fractionation Process) मार्फ़त प्लाज्मा पृथक गर्नु भयो?

समाचार अनुसार ‘प्लाज्मा इंजेक्ट’ गरिएका संक्रमितको अवस्थामा अपेक्षित सुधार भइरहेको छ। डाक्टर विपिनले नेपालमा ‘ब्लड फ्यूजन’ विशेषज्ञको अभाव भएको कुरा पनि उल्लेख गर्नु भएको छ। तर मलाई के यकीन छ भने उहाँ एकजना नै ‘कन्वेलेसेंट प्लाज़्मा थेरापी’ (Convalescent Plasma Therapy- CPT) का लागि पर्याप्त हुनुहुन्छ। नेपालमा अहिले रहेका ५,९८३ जना संक्रमित मध्ये ५० जनामा पनि संक्रमण गंभीर अवस्थामा छैन। धेरै भए ४-५ जनालाई ‘प्लाज्मा थेरापी’ आवश्यक पर्नसक्छ। अब यो मेरो अनुमान मात्रै हो, उहाँले ‘डोनर’को शरीरबाट रगत झिकी प्लाज्मा पृथक गर्नु भएको हो र यसैले यस काममा उहाँलाई ४ घंटा लागेको हो। मशीनबाट यो काम अपेक्षाकृत छिटै हुन्छ । यसरी झिकिएको प्लाज्मा ४ जनालाई प्रत्यारोपित गर्न मिल्छ भने जनशक्ति अभाव कुनै ठूलो समस्या होइन। डाक्टर विपिन नै यसका लागि पर्याप्त हुनुहुन्छ।

म साधारण लेखक हो, न भाइरस विशेषज्ञ हो, न भ्याक्सिन विशेषज्ञ हो, न ‘प्लाज्मा थेरापी’ विशेषज्ञ हो। कोरोना भाइरसको उत्पत्तिदेखि चाख लिएर यसबारे अध्ययन गर्दै आएको हूँ। कोरोना विषयक विभिन्न ‘एंगल’ले २५ भन्दा बढी लेख लेखिसकेको छु । कोभिड -१९ संक्रमणका विरुद्ध ‘प्लाज्मा थेरापी’ अझै ‘अंडर ट्रायल’ छ। कुनै एजेंसीले गम्भीर भएर यसबारे अनुसन्धान गर्न चासो देखाई रहेको छैन। यसका पछाडि पनि कारण भ्याक्सिनको महत्व स्थापित गर्ने रहेको छ। कारण ‘प्लाज्मा थेरापी’ अथवा अन्य कुनै पारम्परिक चिकित्सा पद्धतिले संक्रमणका विरुद्ध वैधानिकता पायो भने भ्याक्सिन बाजारमा आउनुभन्दा पहिला नै ‘फ्लप’ हुन्छ। यसमा बहुत ठूलो मनोविज्ञान लुकेको छ। आफै विचार गरी हेर्नुस ९५ प्रतिशतभन्दा बढी कोरोना संक्रमित कुनै औषधि बिना आफै स्वस्थ भइरहेका छन। ‘क्याजुएलिटी’ हुनुमा संक्रमणका साथै यसबारेको भय, त्रास ,आतंकले पनि ठूलो भूमिका निर्वाह गरेको छ। अब यदि कुनै पारम्परिक चिकित्सा अथवा ‘प्लाज्मा थेरापी’लाई सर्वमान्य वैधानिकता पाइयो भने कोरोनाप्रतिको भय, त्रास कम हुन गई (औषधिले काम गरे पनि, नगरे पनि) स्वस्थ हुनेको प्रतिशत ९९ ‘क्रस’ गर्छ।

अंतमा कोरोना संक्रमणबाट स्वस्थ लाभ अर्जित गरीसकेका मानिसहरुसँग हार्दिक अनुरोध छ उनीहरुले प्लाज्मा ‘डोनेट’ गर्नमा किंचित पनि डर ,शंका अथवा संदेह लिनु पर्दैन। प्लाज्मा ‘डोनेट’ गर्दा तपाईको शरीरमा कुनै किसिमको कमजोरी आउँदैन र तपाईको शरीरबाट बाहिरिएको प्लाज्मा २ दिन मै ‘रिकभर’ हुन्छ। बरु यस्ता व्यक्तिले आफूख़ुशी प्लाज्मा ‘डोनेट’ गर्न सम्बधित विज्ञहरुलाई आफ्नो नाम,संपर्क ठेगाना फोन नंबर टिपाए हुन्छ। तपाईँ मान्नुस तपाईँ नै अन्य कोरोना संक्रमितका लागि उपलब्ध भ्याक्सिन हो।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्