मेची अस्पतालमा सुरु भयो पीसीआर परीक्षण

झापा– झापाको भद्रपुरमा रहेको मेची अस्पतालमा बुधबारदेखि कोरोना भाइरस (कोभिड १९) को आरटि पिसिआर परीक्षण सुरु भएको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरका अनुसार बुधबार अस्पतालमा निर्मित प्रयोगशालाको उद्घाटन गरिएको हो।
अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ५ जनाबाट स्वाब संकलन गरी परीक्षण गरिएको छ।

प्रयोगशालाबाट प्राप्त नतिजालाई क्रस भेरिफिकेसनका लागि कोशी अस्पताल विराटनगरको पीसीआर प्रयोगशाला पठाइएको छ। दुई दिनको क्रस भेरिफिकेसनपछि अस्पतालबाटै रिपोर्ट प्राप्त हुने डा. ठाकुरले बताए।

प्रयोगशालाले एक पटकमा कम्तीमा ९० वटा नमुना परीक्षण गर्ने र जसको लागि ३ देखि ४ घण्टाको समय लाग्ने बताइएको छ।

प्रयोगशालालाई २ सिफ्टमा सञ्चालन गर्ने तयारी भइरहेको डा. ठाकुरले बताए।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्