‘धारा आएपछि भान्सामा मात्रै होइन, करेसाबारीमा तरकारी सिचाइँ गर्न पुगेको छ’

दाङ-लमही नगरपालिका वडा-१ नर्तीमा हरेक वर्ष चैत-वैशाखमा इनारको पानी सुक्थ्यो। अनि खानेपानीको लागी खोला पुग्नुपर्थ्यो।

नुहाउने, गाईवस्तुलाई खुवाउने कुरा टाढाको बिषय थियो। तर, अब जतिबेला धारा खोल्यो उतीबेला पानी पाईन्छ । पानीको समस्या भोग्दै आएका गुनुराम चौधरी हिजो आज पानीको सुविस्था भएको छ।

आँगनमा खानेपानीको धारा आईपुगेपछि गुनुराम खुसी छन्।‘पानीको दुःख थियो। गर्मी सिजनमा कुवामा पानी सुक्थ्यो। पानी खोज्न भौतारीनुपर्ने अवस्था थियो’ विगत सम्झदै चौधरीले भने–‘अहिले धारा आइपुगेपछि भान्सामा मात्रै होइन, करेसावारीमा तरकारी सिचाइँ पुगेको छ।’

प्रदेश ५ सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको लगानीमा नर्ती खानेपानी आयोजना सम्पन्न भएको छ। लमही नगरपालिका वडा नं. १ को नर्ती, सुन्डबरीको केही गाउँ र वडा नं. २ को डोढही गाउँका झण्डै १२ सय घरमा धारा जडान गर्ने लक्ष्य रहेको छ।

चैत १ गतेबाट खानेपानीले धारा वितरण सुरु गरेको हो। अहिलेसम्म दुई सय १८ घरमा धारा जडान गरिएको छ। २०७२ सालमा निर्वान क्षेत्र विकास कोष कार्यक्रम मार्फत पूर्वाधार बनाए पनि खानेपानी आयोजना अधुरो थियो।

यो आयोजनालाई आर्थिक वर्ष २०७३-०७४ बाट प्रदेश मातहत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङमा हस्तान्तरण भएपछी आयोजनाको अन्य पूर्वाधार निर्माणले गति लिएको र साढे २ बर्षमा उपभोक्तालाई खानेपानी आयोजना हस्तान्तरण गर्न सफल भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोख्रेलले जानकारी दिए।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको २ करोड ३१ लाख १ हजार, लमही नगरपालिकाको ५६ लाख ४३ हजार ७ सय ७५, उपभोक्ताको तर्फबाट ७७ लाख ७९ हजार ५ सय ५४ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो।

उपभोक्तालाई खानेपानी आयोजना हस्तान्तरण


प्रदेश ५ सरकार अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण सम्पन्न भएको नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको छ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष कुलचन्द्र पोख्रेललाई स्वामित्व प्रमाणपत्र हस्तान्तरण गरेका छन्। मुख्यमन्त्री पोख्रेलले सरकारले केही गरेन भनेर फजुल गफ चुट्नेहरुकालागी प्रदेश सरकारले खानेपानी क्षेत्रमा हाँसील गरेको उपलब्धी हेर्न अनुरोध गरे।

‘खाली केही भएन, सरकारले केही गरेन मात्रै भनेको छ । सरकारले काम गरिरहेको छ । १७ हजार घरधुरीमा एकै बर्षमा खानेपानीको धारा पुर्‍याएका छौं’उनले भने–‘प्रदेश सकारको गठन भएपछी हामीले नयाँ शिराबाट काम सुरु गरेका छौं । त्यसको उपलब्धी देखिन थालिसकेको छ ।’

सरकारले काम गरिरहेकाले त्यसको प्रोत्साहन जनस्तरबाट आवश्यक पर्ने तर्क गरे ।‘सरकारले काम गरिरहेको छ । उपभोक्ता समितिले काम गरिरहेका छन्। सरकारी कार्यालयले पनि काम गरिरहेका छन् । यस्ता काम गर्ने निकायहरुलाई जनताको तहबाट प्रोत्साहन आवश्यक पर्छ’उनले भने–‘प्रोत्साहन नदिने, काम भएन भनेर मात्रै हुदैन । काम गर्ने जो सुकैलाई पनि प्रोत्साहन चाहिन्छ ।’

प्रदेश नं. ५ भौतीक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानीका लागी संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गरे। दाङ पानीको स्रोत कम भएको जिल्लाको रुपमा रहेको भन्दै उहाँले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

‘खानेपानीको समस्या दाङमा छ।म गाउँ घुमे। खोलाको पानी कचौराले वापेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ। अहिले धारा पुगेपछि ती ठाउँमा सहज भएको छ’उनले भने–‘यस्ता धेरै बस्ती छन्।जहाँ खानेपानीको आयोजना सरकार र उपभोक्ता मिलेर सञ्चालन गर्छौ।’

खानेपानी समितिका अध्यक्ष कुलचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, ईन्द्रजीत थारु, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी लगायतको उपस्थिती रहेको थियो।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्