खाएर कहिल्यै नअघाउने भोकाहरु मौका पाएसम्म खाइरहन्छन्

२०४६ सालको जन आन्दोलनको अन्त्यतिर म भैरहवामा कार्यरत थिएँ। तात्कालीन राजा वीरेन्द्रले बहुदलीय ब्यबस्थाको लागि संबिधान बनाउने जिम्मा दिँदै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री नियुक्त गरिएपछि भारतले लगाएको लामो नाकाबन्दी खोलिएको थियो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नाका खोल्न भैरहवामा आउनु भएको थियो । उक्त कार्यक्रममा भारतीय राजदूत एच आर सरिन, भारतको लागि नेपाली राजदूत बृन्दा शाहको पनि उपस्थिति थियो । त्यतिखेर भारतीय राजदूतले कृष्णप्रसाद भट्टराइलाई भारतको उपहार भन्दै कुरा गरेको म सम्झन्छुु । उक्त कार्यक्रममा भारतीय सेनाको ब्याण्ड ल्याइएको थियो । त्यतिखेर तत्कालीन मेरो हाकिम करसाबले भन्नुभएको थियो- अब नयाँ भोका जुकाहरु देशमा आए फेरि कति लुुट्ने हुन्? कमसेकम पन्चहरु अघाइसकेका थिए ।

बहुदलीय ब्यबस्थाको पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सादगी जीवन बिताउँदै भ्रष्टाचार गर्नुभएन। तर, उहाँपछि आएका गिरिजाप्रसाद कोइरालाले शुरुवातमै भ्रष्टाचारको नयाँ रेकर्ड कायम गर्नुभयो। प्रधानमन्त्री गिरिजाप्रसादलाई भ्रष्टाचारमा बदनाम गराउन निजकी छोरी सुजाताको नाम निकै अगाडि आउँथ्यो।

कुशासन र भ्रष्टाचारको बिरोध गर्दै उग्र कम्युनिष्ट विचार लिएका माओबादीहरुले सरकारका गलत क्रियाकलापलाई आधार बनाइ बिद्रोह शुरु गरे। १० वर्षको युद्धपछि शान्ति बार्ताबाट सत्तामा आएपछि उनै भोकाहरु पनि खान थाले अर्थात भ्रष्टाचारमा रमाउन थाले । भारतीय विस्तारबादको बिरुद्ध शुरु गरिएको आन्दोलन उनै भारतीय शासकसँगको सहयोग र साँठगाठपछि सम्झौता गरी सत्तामा पुगे । तर उनीहरु झन एककदम अघि बढेर भ्रष्टाचार र लुुट्नमा झनै कुशल खेलाडी देखिए । यी नयाँ भोकाहरु माओबादी र संसदीय दलभित्र रमाएर सत्ता चलाएका कम्युनिष्ट भनिएका एमालेलाई पनि खान पुगिसकेको थिएन त्यसैले स्वार्थ मिलेपछि उनीहरुमा एकता भयो । नयाँ बनेको दल नेकपाको नियति पनि यही थियो किनकि पैसा र सत्ताको लागि एक हुनु नै थियो। त्यसका लागि सबै संस्थाहरु राजनीतिककरण गर्न जरुरी थियो । यस शिलशिलामा न्यायालय पनि अछुतो रहेन।

कुनै दल सत्तामा पुुगेर शासन चलाउँदैमा त्यो दलको सत्ताको भोक मर्छ भन्ने हामी कहिल्यै नसोचौँ, बरु सत्ताको स्वादले अरु भोक जगाउँछ । सत्ताभित्र पनि बिभिन्न गुटहरु बनाइएका छन् । एउटा गुुटले लुुटिरहँदा अर्को गुटले र्‍याल काढेर बस्ने भन्दा अरु केही गर्न सक्तैनन्। अहिलेको नेकपाको सरकारबाट पनि हामी यही कुरा बुझ्न सक्छौँ। किनकि अहिले प्रधानमन्त्रीको पद र अध्यक्ष पद खोस्नलाई अर्को गुट पुष्पकमल दाहल, माधब नेपालहरु एक भएर जोडतोडले लाग्नु भनेको सत्तामा गएर जनहीतमा कामगर्नको लागि नभई आफू र आफ्ना आसेपासेका ठूला पेट भर्नुमात्र हो।

त्यसैले अहिले प्रधानमन्त्री गुटका मानिसले अर्को गुट र इमान्दार कार्यकर्तालाई बालुवाटार छिर्न समेत दिँदैनन् किनकि त्यहाँ छिरेपछि प्रधानमन्त्रीसँग भेट हुन्छ। यदि प्रधानमन्त्रीको मन पग्लियो भने त्यहाँ भएका सल्लाहकार र पिएहरुको आफ्नो भाग हरिन्छ भनेर डराउँछन् । त्यसैले आफ्नो भागमा राम्रो आम्दानी गरिदिने व्यापारी दलालहरुले चाहे भने प्रधानमन्त्रीलाई भेट्न कुनै आइतबार कुर्नु पर्दैन । तर राष्ट्रभक्त इमान्दार बिद्वान, कृषक मजदुर, युुवाहरुले सरकारका मन्त्री प्रधानमन्त्रीलाई भेटेर राम्रो सल्लाह र सुुझाब दिन चाहे पनि सम्भव छैन । त्यसको मतलब नेकपा इत्तर पक्षहरुले बालुवाटार बाहिर बसेर इमान्दार बिद्वान बुद्धिजीवीलाई भेटेर देशको हितमा राम्रा राम्रा योजना बनाउँदैछन् भन्ने होइन । हामीलाई थाहा नै छ- सम्भावित प्रधानमन्त्री भनेर भारतले समेत हल्ला गरिरहेको ब्यक्ति पुुष्पकमल दाहाल एउटा बदनाम ठेकेदारको घरमा परिवारसहित बसेका छन् । उनकी मन्त्री बुहारी पनि त्यहीँ बस्छिन्।

कुनै दल सत्तामा पुुगेर शासन चलाउँदैमा त्यो दलको सत्ताको भोक मर्छ भन्ने हामी कहिल्यै नसोचौँ, बरु सत्ताको स्वादले अरु भोक जगाउँछ । सत्ताभित्र पनि बिभिन्न गुटहरु बनाइएका छन् । एउटा गुटले लुुटिरहँदा अर्को गुटले र्‍याल काढेर बस्ने भन्दा अरु केही गर्न सक्तैनन्। अहिलेको नेकपाको सरकारबाट पनि हामी यही कुरा बुझ्न सक्छौँ।

२०४६ सालमा तात्कालीन तिलक करसाबले भनेजस्तै यी भोका जुकाहरु आएका छन् देशमा भ्रष्टाचार झन बढ्ने भो भनेको कुरा सही नै भएजस्तो लाग्छ । नत्र कर्णाली प्रदेशको अस्पतालमा एउटासम्म भेन्टिलेटर नहुँदा पनि मुख्यमन्त्री करोडौँ पर्ने गाडी खरिद गरेर चढ्छन् । गाउँघरमा पानी खान घण्टौँ हिंड्नु पर्ने बाध्यता हुँदा पनि जनप्रतिनिधि आफ्नो सुबिधा बढाउनमा लालायित हुनु भनेको यीजस्ता लोभी सुबिधाका भोका को हुुनसक्छ ?

लिम्पियाधुरा कालापानी फिर्ता हुुने कुरा नक्सामा सीमित हुँदैछ । किसान मजदूर युवाहरुको पीडादायी क्रन्दन नेपालदेखि अरबसम्म घन्किरहेको छ । अहिले कोरोनाका महामारीबाट स्वदेश फर्केका कतिपय राम्रो सिप भएका युवाहरुलाई खोजि खोजी विकासका कार्यमा लगाउनु पर्नेमा आफ्नै पार्टीभित्र रडाको गरेर बसेको सरकारले यसतर्फ के सोच्लान्? सरकार पक्ष र इतर पक्षका नेता कार्यकर्ताबाट जनताको आशामा तुषारापात हुँदैछ । सरकारमा बस्नेहरुले अलिक परको कुुरा देख्न र सुुन्न सक्तैन । वरिपरि बस्नेको पेट भर्दैमा र आफ्नो सत्ता जोगाउनुमा नै सरकार प्रमुख र मन्त्री तथा सल्लाहकार ब्यस्त छन् ।

अहिले प्रत्येक पदहरु आम्दानीका स्रोत बनाइएका छन् । न्यायाधीश नियुक्तिमा समेत संसदीय सुनुवाइ समितिको नाममा नेताहरुले बार्गेनिङ गरेर पैसा असुल्ने बाटो बनाइएको कुरा बरिष्ठ ब्यक्तिहरुबाट बाहिर आइरहेका छन् । यदि नेतृत्व वर्ग इमान्दार र राष्ट्रप्रेमी भएको भए अरु देशमा जस्तै ठुलाठुला भ्रष्टहरुलाई सर्बस्वहरण गरेर जेल कोच्ने थिए। एनसेलको मुद्दामा राष्ट्रलाई अरबौं रुपियाँ घाटामा पुर्‍याउनेहरुलाई कठघरामा ल्याउने थिए । प्रमाणित हत्या अपराधमा समेत उन्मुक्ति दिने पीडित बिरोधीलाई महाअभियोग लगाएर निजको सम्पति छानबीन गरी कारबाहीको दायरामा ल्याउने थियो । पैसाको बलमा बिभिन्न पदमा नियुक्त पाउनु तथा अदालती निर्णय हुनु देशको दुर्भाग्य हो । नाताबाद कृपाबाद चाकडीबादको गन्ध आउने गरी कार्य गर्ने जो कोहीलाई पनि सरकारले बर्खास्त गरी कारबाही गर्नुपर्ने थियो । यस्ता भ्रष्टहरुलाई कारबाहीको शुरुवात गरिदिएको भए आज प्रशासन न्यायालय किन यति दुर्गन्धित हुुने थिए र? नीतिगत भ्रष्टाचारलाई पनि नरोक्ने र कहिले नअघाउने भोका लोभी शोषकहरुले राज गरिरहँदा यी शोषित पीडित जनताले कसरी र कहिले न्याय तथा उन्मुक्ति पाउलान् र? यदि नेकपाका इतर पक्षहरुले सत्तामा बसेर लामो समयसम्म फेरि पनि देश लुट्न पाएनन् भने नक्कली भोकाहरुको कारण नेकपा टुक्रिन पनि सक्छ। किनकि यिनीहरुलाई जनताको बास्तविक भोकसंँग कुनै मतलब छैन।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्