काठमाडौँ– भारतकाे अयाेध्यामा राम मन्दिरको भूमि पूजन तथा शिलान्यासको खुशीयालीमा पशुपतिमा दीप प्रज्वलन गरिएको छ।

बुधबार साँझ विभिन्न हिन्दु धार्मिक संघ संस्था तथा साधु सन्तहरुले पशुपतिमा दीप प्रज्वलन गरेका हुन्। पशुपतिमा ‘जय श्रीराम’ लेखेर दीप प्रज्वलन गरी खुशीयाली मनाइएकाे हो।

अयाेध्यामा बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राम मन्दिर निर्माणस्थलमा भूमि पूजन तथा शिलान्यास गरेका हुन्।

राम मन्दिर शिलान्यासमा सहभागी हुन जानकी मन्दिरका महन्थसहितको नेपाली टोली पनि अयाेध्या गएकाे छ।

गत वर्ष भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेपछि विवादित उक्त स्थानमा राम मन्दिरको निर्माणकाे बाटो खुलेको थियो। सर्वोच्चले २०१९ नोभेम्बर ९ मा फैसला गर्दै विवादित जमिन हिन्दु पक्षलाई दिने फैसला गरेको थियो।

उक्त स्थानमा रहेको बाबरी मस्जिद सन् १९९२ मा हिन्दुहरुले भत्काएका थिए। त्यसपछि भारतमा फैलिएकाे हिन्दु–मुस्लिम दंगामा दुई हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो।