चुनावको मोडालिटी तय गर्न नेपाल उद्योग वाणिज्य महासंघद्वारा समिति गठन

फाइल तस्बिर

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले बारम्बार स्थगित भइरहेको चुनावको मोडालिटी तय गर्न समिति गठन गरेको छ।

महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ६ सदस्यीय समिति गठन गरेको महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले जानकारी दिए।

उक्त समितिमा कार्यकारिणी सदस्यहरु रञ्जित आचार्य, भरत आचार्य, बिनोद ढकाल, अरुण सुमार्गी, सुनिलगोपाल श्रेष्ठ र डीबी बस्नेत रहेका छन्।

समितिले १५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पार्नेछ र उक्त मोडालिटीलाई कार्य समितिले पारित गरेर सरकारलाई स्वीकृतीका लागि पठाउने निर्णय भएको प्रधानले बताए।

उनले भने, ‘हामीले एउटा कमिटी गठन गरेका छौँ। त्यो कमिटीले जिल्ला नगरको सबै परिस्थिति हेरेर सरकारसँग परामर्श गरेर पदाधिकारी र कार्यसमितिको आधारमा आगामी निर्णय हुन्छ।’

उनले कोरोनाको महामारी बढ्दो देखिएकाले जिल्ला–नगर अवस्था हेरी साधारणसभामा कम सहभागिता गराउने र चुनावसमेत विद्युतीय मतदानमा जान सक्ने बताए।

गत चैत २७ र २८ गते महासंघको चुनाव हुने भनिए पनि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सोही महिनाको ११ गतेदेखि सरकारले लकडाउन गर्‍यो। जसका कारणले चुनाव स्थगित भयो।

सरकारले असार ७ गते पूर्णरुपमा लकडाउन खोलेपछि यसै साउन २६ र २७ गते चुनाव गर्ने मिति तय भएको थियो। तर सरकारले लकडाउन खोलेपनि भिडभाडमा रोक लगाएका कारणले महासंघले तय भएको चुनावको मिति स्थगन गरेको थियो।

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू