दाहाल नेपाल पक्षको सन्देशः ओलीविरुद्धको मोर्चा बन्दी जारी रहन्छ

काठमाडौँ – नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दी जारी रहने सन्देश उनी इतर खेमाले दिएका छन्।

बुधबार नेकपा निकट तथा बिट रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको कुराकानी गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायका नेताले ओलीको चर्को आलोचना गर्दै उनले पार्टी निर्णय मान्नु पर्ने दोहोर्‍याएका हुन्।

पार्टीमा अरु नेताले बहुमतको निर्णय स्वीकारे जस्तै अब ओलीले पनि मान्नु बताएका हुन्। ओलीप्रति यसअघि साउन ७ गते पुष्पलालको स्मृति दिवसमा जस्तै खनिएका दाहाल र नेपालले उनीविरुद्धको मोर्चा बन्दी अझै जारी रहने प्रष्ट सन्देश दिएका छन्।

इतर खेमामा ओलीले कोरोना महामारीलाई देखाएकार केन्द्रीय समिति बैठक र आफूमाथि आइपरेको संकट टार्न खोजेको विश्लेषण भइरहेको छ।

पार्टीभित्र आफूमाथि आइ लागेको संकट टार्न ओलीले दाहाल तथा नेपाललाई विभिन्न प्रलोभनदेखि अर्ली महाधिवेशनसम्मको आश्वासन देखाए पनि उनलाई दुईमध्ये एक पदबाट बहिरगमन गराउने सन्देश दिएका हुन्।

सहभागी पत्रकारलाई सम्बोधन गर्दै दाहालले पार्टी अध्यक्षले नै पार्टीको निर्णय मान्दिन भन्ने र त्यसलाई हेरेर बस्नुपर्ने विचित्रको अवस्था आएको उल्लेख गरे।

उनले बैठक नै नबस्ने ओलीले पार्टीलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए। दाहालले भने, ‘सचिवालय बसेर गरेको निर्णय अध्यक्षले म मान्दिनँ भनेपछि पार्टी क्राइसिसतिर गएको छ। पार्टीको निर्णय मान्दिनँ भन्दा पनि हेरेर बस्नुपर्ने बडो विचित्रको स्थिति पैदा भयो।’ दाहालले ओलीले सरकार एक पक्षीय र एकलौटी रुपमा चलाएको आरोप समेत लगाए।

पार्टीमा बस्ने कुर्सी कहिले अघि कहिलेपछि गर्ने जस्ता अपमान गर्ने काम ओलीले गर्दै आएको उल्लेख गरे। ‘बैठकमा दुईजनाको कुर्सी अगाडि हुन्थ्यो, त्यो नै हटाइदिनुभयो। अरूलाई अपमानित गर्दा आनन्दानुभूति गर्ने सोच उहाँमा देखिँदै आएको छ।’ उनले ओलीको कार्यशैली सुध्रनुपर्ने बताए।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले ओलीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए। नेपालले ओलीले कहिल्यै पनि पार्टीलाई विधि र प्रक्रियाबाट नचलाएको आरोप लगाए।

‘उहाँले पार्टीमा महत्वपूर्ण विषयमा छलफल हुन कहिल्यै दिनुभएन। बैठक चलिरहेका बेला बीचबाटै उठेर हिँडिदिनुभयो। त्यसले पार्टी विधि, पद्धतिमा कहिल्यै चल्न दिनुभएन, नेपालले भने।

ओलीले पार्टीलाई बिसर्जनको बाटोतर्फ लगेको, भ्रष्ट, आसेपासेलाई च्यापेको, आफूसँग असहमत हुनेलाई शत्रुतापूर्ण व्यवाहार गरेको जस्ता आरोपसमेत लगाए।

नेपालले भने, ‘उहाँले भ्रष्ट, आसेपासेलाई च्याप्नुभएको छ। आफ्नो गल्ती ढाकछोप गर्न, लुकाउन पार्टीका अरू सदस्यलाई, नेतालाई हिलो छ्याप्ने काम गर्दै आउनुभएको छ। सरकार सञ्चालनबारे पार्टीमा सल्लाहमा हुँदैन। जसले सरकारको कामप्रति गम्भीर प्रश्न चिह्न खडा भएको छ। आम कार्यकर्तामा निरासा छाएको छ।’

साउन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू