कोरोनाको त्रास, च्यूँडोमुनि मास्क

कोरोनाको त्रास, च्यूँडोमुनि मास्क

काठमाडाैँ – पछिल्लो केही समयदेखि स्वास्थ्य मन्त्रालयले बारम्बार भन्दै आएको छ, ‘साबुन पानीले राम्रोसँग हात धोऔँ, भीडभाडमा दूरी कायम गरौँ र सही तरिकाले मास्कको प्रयोग गरौँ।’

सर्वसाधारणका लागि मन्त्रालयले दिने गरेको यो सूचना खासै प्रभावकारी देखिएको छैन। प्रायः जसो सुपरमार्केट छिर्ने गेटमै टाँसिएको हुन्छ, ‘मास्क बिना प्रवेश निषेध।’

मन्त्रालयले पटक–पटक भन्ने गरेको सूचनाको वास्ता नगर्ने सर्वसाधारण सपिङ्ग गर्न जाँदा गेटमा टाँसिएको सूचना देख्ना साथ कुदेर मेडिकलमा मास्क किन्न जान्छन्। र मास्क लगाउँदै गेटभित्र पस्छन्।

सुरु–सुरुमा मानिसहरुले मास्कको प्रयोग गर्ने गरे पनि अहिले भने धेरैले अनेक बहानामा मास्क लगाउन छोडेका छन्। गत साउन ७ गते लकडाउन खुलेसँगै मानिसहरुमा यस्ता लापरबाही बढ्न थालेकाे विज्ञहरुले बताएका छन्।

सर्वसाधारणको गतिविधिबाट भन्न सकिन्छ कि, ‘अब कसैमा कोरोना भाइरस संक्रमणको कुनै डर छैन।’

संक्रमणको जोखिम हटे जस्तो देखिन थालेको विज्ञहरुले बताएका छन्।

लकडाउन खुलेसँगै मानिसहरु यत्रतत्र घुम्न थालेका छन्। निर्धक्क भएर जमघट गरिरहेका छन्। विभिन्न ठाउँहरुमा भीडभाड उसैगरी बाक्लिन थालेको छ। दूरी कायम गरेको पाइँदैन। सही तरिकाले मास्क प्रयोग गर्न छाडेका छन्। देशका ठूला शहरहमा भने कोरोना भाइरस संक्रमण बढ्दो संख्यामा देखिन थालेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मास्कको गलत प्रयोग गर्दा मास्क नलगाउँदाको जत्तिकै खतरा हुने बताए। उनले भने, ‘गृह मन्त्रालयको मास्क लगाउन निर्देशनपछि मास्क प्रयोग गर्नेहरुको संख्या बढे पनि धेरैले यसको प्रयोग गलत तरिकाबाट गरिरहेका छन्’, उनले भने, ‘मास्कको प्रयोग भए पनि कतिपयले मास्क टाउकोमा, कतिपयले चिउँडोमा राख्दै मास्कको प्रयोग सही तरिकाले नगरेको देखिन्छ, मास्कको उचित प्रयोग नगर्नु भनेको मास्क नलगाउनु जस्तै खतरानाक हुन्छ।’

मास्क लगाउनु अगाडि साबुन पानीले मिचीमिची २० सेकेन्डसम्म हात धुनुपर्ने वा स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउनुअघि मास्क सफा छ वा छैन भनेर हेर्न डा. गौतमले अनुरोध गरेका छन्।

उनले भने, ‘अनुहारमा टपक्क टाँसिने गरी मास्कलाई मिलाउने, लगाउँदा मास्कको डोरी समाएर मात्र लगाउने, मास्क लगाउँदा नाक, मुख र चिउँडो राम्रोसँग छोप्ने गरी लगाउनु पर्छ।’

मन्त्रालयले सर्वसाधारणलाई जरुरी काम बाहेक घरबाहिर ननिस्कन, घर बाहिर निस्कनै परे अनिवार्य मास्क लगाउन र एक अर्काबिच कम्तीमा दूरी कायम गर्न आग्रह गर्दै आएको छ। सरकारले बारम्बार भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न, अनिवार्य रूपमा मास्क लगाउन तथा अत्यावश्यक काम नपरीकन घरबाट बाहिर ननिस्कन आग्रह गरिरहेको छ। तर यसलाई आम नागरिकले बेवास्ता गरिरहेका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि तीव्र गतिमा फैलिँदै गएको छ। यस्तै पछिल्लो केही सातायता उपत्यकामा समेत दिन प्रतिदिन कोरोना भाइरस संक्रमित थपिँदै गएका छन्।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू