ट्रम्पले कोरोनाबारे गलत दाबी गरेको भिडियो फेसबुकले हटायो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा गरेको पछिल्लो एक पोस्ट फेसबुकले हटाएको छ।

कोरोना भाइरसका सम्बन्धमा गलत दाबी गरिएकाले ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री हटाइएको फेसबुकले बताएको छ ।

ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले सो अन्तर्वार्तामा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए ।

ट्रम्पको पोस्टले कोभिडबारे हानिकारक गलत सूचना प्रदान गरेकाले सोही नियम अनुसार हटाइएको फेसबुकले उल्लेख गरेको छ ।

फेसबुकका एक प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग बुधबार बेलुका भनेका छन्, ‘सो भिडियोमा गलत दाबी गरिएको थियो । मानिसको निश्चित समूह कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता युक्त दाबी गरिएको थियो, जुन गतल र हानिकारक हो ।’

ट्रम्पले बुधबार फक्स न्यूजको बिहानी कार्यक्रम फक्स एण्ड फ्रेण्डसमा सबै विद्यालय खोल्ने समय आएको र बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेको बताएका थिए ।

ट्रम्पको दाबी भने स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित छ। बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । तर उनीहरु तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्