पाकिस्तानको नयाँ नक्सा र कश्मीरमा भारतीय कदमबारे चीनले के भन्यो?

जम्मू–कश्मीरले विशेष राज्यको दर्जा पाएको संविधानको धारा ३७० निष्प्रभावी गरी भारत सरकारले केन्द्र प्रशासित दुई प्रान्त बनाएको एक वर्ष पूरा भएको अवसरमा चीनले दिएको प्रतिक्रियाप्रति भारतले कडा आपत्ति जनाएको छ ।

भारतले कश्मीरमा एकतर्फी फैसला गरेर अवस्था परिवर्तन गरी अवैध र गैरकानूनी काम गरेको चीनले बताएको हो । गएको वर्ष अगस्ट ५ मा भारतले धारा ३७० निष्प्रभावी गरेको थियो । त्यो बेला पनि चीनले यस्तै आपत्ति जनाएको थियो ।

चीनको टिप्पणीप्रति भारतको विदेश मन्त्रालयले कडा आपत्ति जनाउँदै अर्को देशको आन्तरिक मामिलामा टिप्पणी गर्नु उपयुक्त नरहेको उल्लेख गरेको छ । चीनसँग कश्मीर मामिलामा बोल्ने कुनै अधिकार नरहेको भारतको विदेश मन्त्रालयले बताएको छ ।

पाकिस्तानको सरकारी समाचार संस्था एसोसियट प्रेस अफ पाकिस्तान (एपिपी) ले बुधबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनसँग कश्मीर र भारतका सम्बन्धमा प्रश्न गरेको थियो ।

एपिपीले सोध्यो, ‘भारतले कश्मीरको जनसांखिक संरचना बदल्नका लागि जुन एकतर्फी कदम चाल्यो, त्यसको एक वर्ष पूरा भएको छ । अझै पनि निर्दोष कश्मीरीविरुद्ध अत्याचार जारी छ । भारतको यो कोशिश र सीमामा युद्धविराम उल्लंघनसँगै पाकिस्तान विरुद्ध गर्ने टिप्पणी गरी क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्तिका लागि खतरा हो । भारतको यो कदमपछि चीनले शान्तिपूर्ण तरिकाले कश्मीरको विवाद सुल्झ्याउनु पर्ने वकालत गर्दै आएको छ । अहिले चीनको धारणा के हो ?’

जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले भने, ‘कश्मीरको अवस्थामाथि निरन्तर चीनको नजर छ । कश्मीरका सम्बन्धमा हाम्रो धारणास्थिर र स्पष्ट छ । पहिलो कुरा त कश्मीरलाई लिएर भारत र पाकिस्तानबिच ऐतिहासिक रुपमै विवाद छ । यो कुरा संयुक्त राष्ट्रसंघको चार्टर तथा दुई पक्षबिच भएको सम्झौतामा पनि उल्लेख छ । दोस्रो कुरा, यथास्थितिमा कश्मीरका सम्बन्धमा हुने एकतर्फी निर्णय अवैध हो ।’

उनले अघि भने, ‘तेस्रो कुरा, समस्याको समाधान शान्तिपूर्ण संवादबाट खोजिनु पर्छ ।’

पाकिस्तानले गएको मंगलबार नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा पाकिस्तानको कब्जामा रहेको कश्मीरलाई विवादित क्षेत्रका रुपमा देखाइएको छ ।

भारतका अधिकारीले पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा धेरै आन्तरिक परिवर्तन गरेको दाबी गरेका छन् । चीनले पनि यसमा कुनै आपत्ति जनाएको छैन ।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्