नागरिकको काम सकेर भैँसी चराउन जान्छन् वडा सदस्य रामबेलासु

ग्वाला गएर फर्किएपछि छहारीमा गफिँदै रामबेलासु (बायाँ)।

दाङ – चर्काे घाम सहन नसकेर भैँसी चराउन गएका राजपुर गाउँपालिका वडा नं. ६ गंगदी निवासी रामबेलासु चौधरी चाँडै घर फर्किए । बाँसको छहारमुनि भैँसी बाँधे । त्यहि छहारीमा खटिया बिच्छ्याए र सुस्ताए । उनी हरेक दिन यसैगरी भैँसी ग्वाला जान्छन् । घामले कालो हुनेगरी हात, पाखुरा डढेका छन् ।

भैँसी ग्वाला जाँदा समेत उनले ‘नमस्कार’ भने पाइरहन्छन् । उनी निर्वाचित वडा सदस्य हुन् । बैठक हुँदा वडा कार्यालय पुग्छन् । नभए उनी भैँसीको स्याहारसुसारमा व्यस्त हुन्छन् । ‘काम गरेर थाकिँदैन, काम गरेर खाने मान्छे हो’ उनले भने, ‘भैँसी छन् । यिनैको घाँस, दानापानी गर्दा गर्दै दिन गएको पत्तै हुन्नँ ।’

उनले अघि भने, ‘बैठक हुँदा मात्रै वडा कार्यालय जान्छु । नत्र यही घर धन्दामा दिन बित्छ ।’ चुनाव लड्दा गरेका प्रतिवद्धता बिस्तारै पूरा हुँदै गएको उनले सुनाए ।

वडा सदस्यको चुनाव लड्न चौधरीले एक हल पाडो नै बेच्नुप¥यो । ‘चुनाव लड्न खर्च जुटाउनु पर्‍यो । प्रचार प्रसार गर्नुपर्‍यो । ५५ हजारको एक हल पाडो बेचेँ र चुनाव लडेँ’ उनले सम्झँदै भने, ‘चुनावमा मेरो ६० हजार खर्च भयो । यहीँ मेस चलेको थियो । प्रचार प्रसारमा हिंडेका कार्यकर्तालाई खाना खुवाउनुपर्‍यो । झण्डा व्यानर पनि बनाउनुपर्‍यो ।’

रामबेलासु विपन्न थारु किसान हुन् । सानैमा कमैया बस्नुपर्‍यो । कमैया बसेकै बेला उनले बुवा गुमाए । आमा कमलहरी बसिन् । रामबेलासुका एक दाइ र एक भाइ छन् । सबै कमैया बसेका हुन् । सम्पत्तिको नाममा एक कट्ठा १२ धुर जग्गा छ । पछि मोहीयानी हक दाबी गरेर दुई बिगाह जग्गा कान्छो भाइको नाममा गराएका छन् ।

‘हामी कमैया लागेर ज्यानमा पालेम । आमाले कमलहरी बसेर खुवाउनु भयो । सानैमा बुवा बित्नुभयो । कमैया बस्दा विवाह भयो । त्यसपछि अलिअलि जग्गा थियो । त्यही जग्गामा काम गर्न थाल्यौँ ।’ चौधरीले भने, ‘विश्व विद्यालयको जग्गा जोत्न थालियो । विकासी धान खेती चल्यो । विकासी मल चल्यो ।’

कमैया बस्दा धेरै काम गर्नुपर्थ्यो । हलो जोत्ने, घुर्राे काट्ने, घाँस काट्ने, मकै खन्ने। यी सबै काम आधा रातमै सक्नुपर्थ्यो ।

‘भाले बास्ने बेलामा मकै खन्न जान्थिम । जमिन्दार घरमै आइपुग्थे । काम गर्न पठाउँथे । जुनेली रातमा मकै छर्न जानुपर्थ्यो’ उनले भने, ‘कमैया पछिको जीवन सहज छ । घरमा बस्या छम् । भैँसी पालेका छौँ । दूध बेच्छम् । घरको नुनतेल खर्च धानिएकै छ । जे होस् राम्रै छ । जतीखेर मन लाग्यो उतीखेर काम गर्न जान्छम् ।’

तीनवटा भैँसी पालेका चौधरीको घर खर्च यही भैँसीले धानिएको छ । ‘बसेर खाने जीवन हैन । हात गोडा चल्दासम्म गरेर खाने हो । जाँगर लागेन, खुट्टा लागेन भने अर्कै कुरा हो । जाँगर लागिन्जेल गरेर खाने हो’ उनले भने, ‘दूध दुहेर बेचेपछि खेत जान्छु । खेतबाट फर्किएपछि भैँसी फुकाउने समय भइहाल्छ ।’

रामबेलासुले कखरा सचेत चिनेका छैनन् । कमैया बस्दा कहाँ पढ्न पाइन्थ्यो र ?

कडा मेहनतमा जीवन चलाएका उनले भने, ‘मान्छेको जिन्दगी दुःखै दुःखले बित्ने त हो । बसेर खाने जिन्दगी होइन, दुःखै गरेर खाने हो ।’

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू