प्रचण्ड–नेपालमाथि सूर्य थापाको निशाना

काठमाडौँ – आन्तरिक संकटमा नराम्रोसँग रुमल्लिएको सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधान हुने संकेत नदेखिएका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल पक्षलाई निशाना बनाएका छन् ।

ओलीले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिने पर्ने अडान राख्दै आएका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पदीय स्वार्थका लागि चलखेल गरेको आरोप थापाले सामाजिक सञ्जाल मार्फत लगाएका हुन् ।

उनले झलनाथ खनाललाई राष्ट्रपति, प्रचण्डलाई प्रधानमन्त्री, नेपाललाई पार्टी अध्यक्ष तथा नारायणकाजी श्रेष्ठ प्रकाशलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउनका लागि ‘खुमलटार गठबन्धनको रिहर्सल’ भएको आरोप सामाजिक सञ्जाल मार्फत लगाएका हुन् ।

थापाले तत्कालीन माओवादी भित्र १० वर्ष पहिले साउनमै ‘धोबीघाट गठबन्धन’ को प्रयास भएको र अहिले पनि सोही समयमा पदीय लालचाका लागि गुटगत प्रयास भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘१० वर्षअघि साउनको यही बेला धोबीघाट गठबन्धनको चलखेल भयो । संसदीय दलको नेता बाबुराम भट्टराई, जनसेना ईन्चार्ज रामबहादुर थापा बादल, संगठन विभाग प्रमुख मोहन वैद्य किरण र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बनाउने अपेक्षासहित ।’

थापाले अघि लेखेका छन्, ‘पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल प्रचण्डलाई अपदस्थ गर्न केन्द्रीय कमिटिमा हस्ताक्षर संकलन भयो । बाबुराम, वैद्य, बादल, नारायणकाजी र विप्लवको मोर्चाबन्दी चल्यो । परिणाम स्वरुप माओवादी धार एक दर्जन समूहमा विभाजन र विघटन भयो ।’

१० वर्षपछि सोही समयमा फेरि चलखेल भएको उनले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी छ । यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्धति र एकताको लडाईँ हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ?’

उनले नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेको भन्दै लेखेका छन्, ‘देशीविदेशी षडयन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोई ?’

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू