सहमतिमा सम्बन्ध अनि मोटो रकम माग्दै ‘ब्ल्याकमेल’

घटना १
गतवर्ष असारको तेस्रो साता मोरंगको धनपालथान गाँउपालिका ४ कर्सियामा अवस्थित एक नीजि बैंकका शाखा अधिकृत अमित बास्तोला बलात्कार आरोपमा पक्राउ परे। बास्तोलामाथि जिल्ला प्रहरी कार्यालय मोरंगमा जबरजस्ती करणी उद्योगमा उजुरी विराटनगर महानगरपालिका ४ की ३६ वर्षीया एक महिलाले हालेकी थिइन्।

बैंकबाट ऋण दिने उपलब्ध गराउने बहानामा महिलालाई पटक पटक करणी गरेको उजुरीको आधारमा प्रहरीले ४१ वर्षीय तत्कालिन बैंकका शाखा अधिकृत बास्तोलालाई पक्राउ गरेको हो। पक्राउ परेका बास्तोला हाल कारागारमा छन्।

सो घटना २०७५ चैत्र २२ गते बैंकमा ऋणमा महिला पुगेको अवस्थामा भएको थियो। हाल सो मुद्धा विचाराधीन अवस्थामा रहेको छ । यद्धपी यस मुद्धामा महिलाले आफ्नो घर सुन्दरहरैंचा नगरपालिकामा रहेको उल्लेख गरेकी छिन्।

घटना २
सुनसरीको इटहरी उपमहानगरपालिकाकी एक युवतीलाई जबरजस्ती यौन ब्यवसायकार्यमा लगाउन बाध्य बनाएको आरोपमा उनै ३६ वर्षीया महिला र इनरुवा घरभई विराटनगर बस्दै आएका सन्तोष मेहतामाथि २०७५ कार्तिकमा जबरजस्ती करणी उद्योगमा उजुरी पर्‍यो।

जिल्ला प्रहरी कार्यालय मोरंगमा उनै महिला विरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी परेको थियो । तर, जिल्ला अदालतले प्रहरीले अनुसन्धान गरि दायर गरेको मुद्धामा सफाई दिएको थियो।

घटना ३
उनै महिलाले हाल अर्का एक पूर्व प्रहरी नायब निरीक्षक नयन श्रेष्ठमाथि बलात्कारको उजुरी दर्ता गरेकी छिन्। तर त्यो यसपटक बलात्कारको उजुरी दर्ता गराउन महिलाले उच्च निकाय पदाधिकारीलाई प्रयोग गरेकी छिन्।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईले अहिलेको घटनामा पीडित महिलाले प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबावमा जाहेरी दर्ता गराएकी छिन्। जस अनुसार प्रहरीले महिला जोडिएका घटनासँगै अनुसन्धान कार्यलाई अघि बढाएको राईले जानकारी दिए ।

उल्लेखित एकैप्रकृतिका तीन वटै घटनाक्रममा एकै युवती जोडिएकी छिन्। गएको तीन वर्षमा उनीसंगै बलात्कार, यौनसँग जोडिएका घटनाक्रम रहेको छ। दुई सन्तानसहित विराटनगरमा बसोबास गर्ने युवतीको श्रीमान् वैदेशिक रोजगारका क्रममा छन्।

प्रहरी अनुसन्धानका क्रममा परिवारमा दुवैबीच सुमुधुर सम्बन्ध नभएको देखिएको छ। प्रहरीका अनुसार महिलाले आर्थिक रुपमा बलियो र उमेरमा पाका भएका पुरुषलाई आफ्नो जालोमा फसाउने गरेको देखिन्छ।

उनीहरुसँग सम्बन्ध बनाउदै नजिकिने र त्यसपछि निरन्तर भेटघाटमा ब्यस्त बन्दै गर्ने स्वाभाव महिलामा रहेको पीडितहरुको भनाइ छ। आर्थिक रुपमा बलियो हुनका लागि महिलासँग पेशागत आवद्धता छैन। यसैप्रकारको घटनाक्रममा उनले आर्थिक पक्षमा बलियो पुरुषलाई फसाउने उनलाई नजिकबाट चिन्ने ब्यक्तिहरुको भनाइ छ।

पछिल्लोसमय नयन श्रेष्ठसँग पनि महिलाले पटकपटक गरि ५ लाख रुपैयाँ बुझेको देखिएको छ । मुनालपथमा मोटरसाईकल रिकन्डिसनको ब्यवसाय गर्दै आएका श्रेष्ठसँग सामान्य चिनजानपछि मित्रता गाढा हुदै गएको थियो।

महिला आफ्नो पछिल्लो घटनाहरुबाट रकम असुल्न र सफाइ पाउने बारे जानकार थिइन् । सोही क्रममा दुवैबीच घर आउजाउका क्रममा महिलाले केही रकम र सुन हराएको भन्दै प्रहरी समक्ष उजुरी दिएकी थिइन्।

महिला निकट स्रोतका अनुसार विराटनगर बखरी चौकीमा दुवै पक्षलाई राखेर श्रेष्ठले ३ लाख २५ हजार बुझाउने सहमति बनेको थियो । यसअघि महिलाले नयनसँग १० लाख रुपैयाँको माग राखेकी थिइन्।

श्रेष्ठले ठूलो रकम दिन नसक्ने बताएर ३ लाख २५ हजार रुपैयामा दुवैबीच सहमति बनेको थियो । प्रहरी अनुसन्धानका अनुसार यसबीच नयनले पटक पटक गरी ५ लाख रुपैया महिलालाई बुझाइसकेका छन्। योजना अनुसारको रकम हात नपरेपछि महिलाले २०७६ फागुन ३ गते श्रेष्ठमाथि करणी गरेको भन्दै साउनमा उजुरी दिएकी थिइन्।

पाँच महिनापछि किटानी जाहेरी लिएर पुग्दा प्रहरीले दर्ता गर्न मानेन्। तर, उच्च ओहदाको दबावमा प्रहरीले जाहेरी लिएर श्रेष्ठलाई पक्राउ गरेको थियो । सो घटनामा महिलाले श्रेष्ठकी श्रीमती र भाइविरुद्ध उजुरी हालेकी छिन् । यद्यपि, दुवैजना हाल फरार अवस्थामा रहेका छन्।

प्रहरीको बुझाइमा यसप्रकारको घटनामा महिला एक्लै भन्दापनि गिरोह हुन सक्छ जसको सञ्जाल धरानसम्म फैलिएको छ । यसअघि बैंकबाट ऋण उपलब्ध गराउने घटनामा महिलाको पक्षमा विराटनगर १३ का पूर्वप्रहरी ओम महत पनि रहेकाछन्। जग्गा ब्यवसायमा लागेका महतले बैकंका तत्कालिन शाखा प्रमुख बास्तोलाविरुद्ध बयान दिएका थिए।

अर्कोतर्फ कानुन व्यवसायीहरुले मुलुकी अपराधसंहितामा रहेको ब्यवस्थाको गलत ब्यख्या हुदाँ महिलाले पुरुषलाई फसाउदै रकम असुल्न गरेको देखिएको जनाउछन् । कानुन ब्यवसायी विनोद तिम्सिनाका अनुसार अपराधसंहितामा घटना भएको एकवर्षपछि उजुरी दिन सक्ने प्रावधानले जटिलता थपेको छ।

कानुनको गलत ब्याख्या गर्दै सहमतिमा सम्बन्ध राख्ने र पछि करणीको उजुरी गर्ने घटनाक्रम पछिल्लोसमय बढ्दो रहेको उनको भनाइ छ। अर्कोतर्फ महिलाको मुद्धामा प्रहरी र अदालत दुवै निकायले गम्भीरतापूर्वक लिने गरेका छन्।

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्