फाइल तस्बिर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक नायब निरीक्षक- सईलाई एक साताअघि कोरोना संक्रमण देखिएको थियो।

स्रोतका अनुसार ती प्रहरी अधिकारी ‘रङ्गे हात’ अप्रेसनमा कार्यरत थिए तर उनी काठमाडौं उपत्यकाभन्दा बाहिर गएका थिएनन्। सईलाई कोरोना देखिएपछि अख्तियार प्रशासनले सुरक्षाकर्मी र कर्मचारीको धमाधम कोरोना परिक्षण गराएको थियो।

बुधबार मात्र त्यहाँ कार्यरत ९ जना प्रहरी र एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित ती सबै ९ जना प्रहरी अख्तियारको सुरक्षा व्यवस्थापनमा खटिएका थिए।

बिहीबार पनि त्यहाँ कार्यरत २२ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्रोतका अनुसार संक्रमित यी सबै २२ जना पनि सुरक्षा व्यवस्थापनमा कार्यरत थिए। ‘ प्रहरीमा धेरै देखिएकाले मेसबाट फैलियो कि भन्ने आशंका छ’, अख्तियारका एक उच्च अधिकारी भन्छन्।  अख्तियारले पिसिआर परीक्षण नगराएकालाई घरमै बस्न निर्देशन दिएको छ। अख्तियार कार्यालय सिल गरिएको छ।

कोरोना सर्वोच्च अदालतदेखि प्रचण्ड निवाससम्म 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलँदो छ। राजधानीका प्रहरी प्रधान कार्यालय, सर्वोच्च अदालत, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवाससम्म कोरोना भित्रिएको पाइएको छ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ८५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ। बिहीबार मात्र १० जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरि ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ। बुधबार सर्वोच्च अदालतमा कार्यरत एक जना सवारी चालकमा कोरोना संक्रमण पुष्टी भएको थियो।

 

साउन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्