पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष

हिन्दु धर्मका शास्त्रीय मान्यताले पुरुषलाई आदि शक्ति वा सृष्टि (ब्रम्हा) को मूल मान्दछन् । मुख्य तीन शैव, वैष्णव र शाक्त सम्प्रदायहरु मध्ये शाक्त सम्प्रदाय मतले स्त्रीलाई सृष्टिको मूल मान्दछन्।

लक्ष्मी, पार्वती, दुर्गा, चण्डी, महाकाली जस्ता देवीस्वरुपाहरुलाई शाक्तहरुले ईश्वरीय अंश मान्दछन्। आदि शक्ति अर्थात देवीको उपासना गर्ने लाई नै शाक्त सम्प्रदायी भनिन्छ । शाक्त सम्प्रदायलाई हिन्दुहरुले मात्र नभइकन नेपालमा बज्रयान बौद्धयान मार्गीले पनि प्राथमिकता दिएको पाइन्छ । बुद्ध तथा बोधिसत्वमा तारा र बज्र बिना मान्यता नभएको मानिन्थ्यो।

आदि शक्ति भगवतीलाई धर्मालम्बीहरुले, दुर्गा, जगदम्बा तथा शेरावाली नामले पुकार्दछन् । दुर्गासप्तशती (देवी माहात्म्य/चण्डी पाठ) मा माहाहामाया भगवतीलाई देहायका एघार नामहरु, जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा र स्वधाले बन्दना गरिएको छ।

भगवतीलाई आदि शक्ति, प्रकृति प्रधान, गुणवती माया, बुद्धितत्वको जननी तथा बिकार रहित मानिन्छन् । उहाँ अन्धकार र अज्ञानरुपी राक्षसहरुको समेत कल्याण र रक्षा गर्नु हुन्छ तर शान्ति, समृद्धि तथा घर्म प्रती आघात पुर्‍याउने राक्षसी  स्वभाव र शक्तिहरुको भने विनास गर्नु हुन्छ ।

वेदमा भगवतीको व्यापक वर्णन गरिएको छ र उपनिषदमा देवीलाई देवादी देव माहादेवको पत्नी उमा(हिमालय पुत्री), शान्त र सुन्दर गोरोरुप गौरी भनी वर्णन गरिएको छ । उनको भयानक रौद्ररुप चाही काली हो । विश्वका हिन्दु मन्दिरहरुमा भगवतीलाई विभित्र रुपमा चार भुजा देखी अठार भुजा सहितका मूर्ति तथा चित्र बनाई पुज्ने गरिन्छ । एकै कलाकारले बनाएका नेपालका चार भगवतीका मूर्तिहरुमा पनि आठ देखि अठार भुजाहरु छन्।

नेपालमा लिच्छबी वंशका बिसौँ राजा मानदेवको अनुरोधमा आफ्ना पति, राजा धर्मदेवको मृत्युसँग सती नगई बसेका रानी राज्यवतीले छोराको राजकाजमा सहयोग गरेर बसिन् । पितृ सत्तात्मक समाजमा महिलाले शासन गर्नु पर्दा उनले आफू पुरु वंशीय (राजा भरतका खलक), लक्ष्मीको अंश भएको र आफू भगवती समेत भएको जानकारी दिन आफूलाई ‘नव सागर भगवती’ को नाममा परिचय दिँदै राज्यमा राम्रो शासन कायम गरेकी थिइन् ।

शाक्त सम्प्रदायी रानी राज्यवतीका ईष्ट देवता भगवती भएको हुँदा उनले स्त्री शक्तीमा बढावा दिन आफ्नो राज्यका कलाकारहरुलाई भगवतीको राम्रो मूर्ति बनाउन आदेश दिइन् । महारानीको उर्दी अनुसार एक अदभूत इमान्दार शिल्पकारले पलाञ्चोकी माईको कलात्मकमूर्ती पाँचखाल उपत्यकाको बुचाकोटको ढुंगामा सजाए । मूर्तिमा जानु पहिले स्थान र पलाञ्चोकी माईको पृष्टभूमिमा प्रवेश गरौँ।

कुनै शिक्षा र शिपबारे अध्ययन र अध्यापनको अवसर नपाएका, गरिबी र पछ्यौटेपनमा रुमल्लिएका पहरी समाजको विद्यमान कलाकारिताबाट पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकार पहरी समुदायका हुन् भत्रे बारे दुई मत हुन सक्दैन । प्रमाणको लागि पलाञ्चोक र वरपरका बस्तीहरुको घर, मन्दिर आदि कला कौशलका कामहरु अझै पनि पहरी समुदायहरुले गर्दै आएका छन्।

मन्दिर कसरी पुग्ने

कालो पत्रे पिच सडकबाट जोडीएको भगवतीको मन्दीर काठमाडाैँ पुरानो बसपार्क बाट ५८ किलाेमिटरकाे दूरीमा रहेकाे छ । निजी सवारी साधनबाट डेढ घण्टामा पुग्न सकिन्छ । आराम साथ जानेको लागि बनेपा/धुलिखेल, तिन पिप्ले र लामी डाँडा आदि पर्यटकिय विश्राम स्थलहरुमा खान पिन गर्दै साठीघर पुग्न सकिन्छ ।

प्रत्येक दुई घण्टामा काठमाडाैँकाे पुरानो बसपार्कबाट छुटने यात्री बसहरु अरनिको राजमार्गको ४८ किलाेमिटरस्थित लामीडाँडाबाट छुट्टिई ८ किलाेमिटरकाे दूरीमा दक्षिणतर्फ संयुक्त राष्ट्रसंघ शान्ति सेना तालिम केन्द्र, पुरानो व्यापारिक केन्द्र होक्से बजार छेउ हुँदै भगवती स्थानमा करिब तिन देखि साढे तिन घण्टाको बस यात्राबाट पुग्न सकिन्छ । पैदल यात्रुहरु तिन पिपले, पाँचखाल, दोलालधाट, कोशीदेखा, दुम्जा आदि स्थानबाट आउने गर्दछन्।

स्थानीय भनाइमा माईको आकाश यात्राको क्रममा यस पुण्य भूमिमा पाइला टेक्नुभएको र उक्त स्थानको नाम पलाञ्चोक रहेको किम्बदन्ती रहेको छ । भाषागत हेर्दा पनि यहाँका आदीबासी पहरी भाषा अनुसार पला = पाईला र चों = बस्नु वा राख्नु हो।

यसरी नै यस स्थानको नाम पलाञ्चोक रहेको हुन सक्दछ । पहरीहरु भगवतीलाई पलाञ्चोक माई भनि सम्बोधन गर्दछन् । हालको पलाञ्चोक भगवतीको मूर्ति प्रतिस्थापन पहिले, उक्त स्थान काब्राको फेदीमा पलाञ्चोक माईको शिलामा पूजा, दर्शन गर्ने चलन रहेको थियो भनि पहरीहरु बताउँदछन् । स्थानीयको भनाइमा फुलचोकी, पलाञ्चोक र कालिञ्चोक माईहरु तिन दिदी बहिनीहरु आकाशमा शयर गरेर हिँड्दथे । उनीहरुको भनाइ अनुसार कालिञ्चोकी माई जेठी, पलाञ्चोकी माई माइली र फुलचोकी माई कान्छी हुन्।

कुनै शिक्षा र शिपबारे अध्ययन र अध्यापनको अवसर नपाएका, गरिबी र पछ्यौटेपनमा रुमल्लिएका पहरी समाजको विद्यमान कलाकारिताबाट पलाञ्चोक भगवतीको मूर्ति बनाउने कलाकार पहरी समुदायका हुन् भत्रे बारे दुई मत हुन सक्दैन । प्रमाणको लागि पलाञ्चोक र वरपरका बस्तीहरुको घर, मन्दिर आदि कला कौशलका कामहरु अझै पनि पहरी समुदायहरुले गर्दै आएका छन्।

कलाकारले कला कृति कोर्नु भन्दा अगाडि बस्तु हेर्नु वा अध्ययन गरिन्छ । यस अध्ययनमा, अदभूत पहरी कलाकारले आफ्नै समुदायका राम्री युवतीको परिकल्पना गरेको आँकलन गर्न सकिन्छ । थप प्रमाणको लागि डाँडा गाउँका राम्रा पहरी युवती र भगवतीको चेहरालाई पनि तुलना गर्न सकिन्छ । कलाकारले उक्त मूर्ति आकर्षक, बलियो र धार्मिक बनाउन करिब दुई किलोमिटर टाढा बुचाकोट गै एक नम्बरको कालो कडा ढुंगा (A grade quartzite) मा अठार भूजासहितको करिव तिन फिटे मूर्ति बनाए ।

सम्पूर्ण देवताहरुको अंगहरुबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी लाई सिंह बाहनमा विराजमान गरिएको छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । उनका अठार हातमा अक्षमाला, कमल, वाण, खडग, बज्र, गदा, चक्र, बञ्चरो, त्रिशुल, शंख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । शक्तिस्वरुपिनीमा एक जना पहरी व्यापारीले ल्हासा व्यापारबाट आएको आम्दानीबाट मन्दिरमा पचास धार्ने घण्टी चढाएका छन् । ईस्वी सन ५०३ मा बनेको उक्त अदभूत आकर्षक मूर्ति जस्तै अर्को मूर्ति नबनोस् भनि रानीले कलाकारको दायाँ हातको दुई औला बुढी औला र चोरी औला काट्न लगाएका थिए ।

मल्ल कालमा राजा र प्रजा दुवै कला र संस्कृतिका पारखी र सौखिन थिए । त्यसबेला बनेका काठमाडाैँ उपत्यकाका मठ, मन्दिर र गुठी मानव सभ्यताका चिनारी हुन् । उनीहरु सभ्यतालाई आदर गर्थे आफ्ना अग्रजहरुका राम्रो कामको संरक्षण गर्दथे । लिच्छबी कालिन कलाहरुको संरक्षणको क्रममा महामायाँ भगवतीको आसत्रार्थ तेह्रौ शताब्दी तिर राजा अभय मल्लको पालामा धर्म, कला र संस्कृतिलाई निरन्तरता दिन उपत्यका बाहिर सात गाउँ साथमा महामायाँ पलाञ्चोक भगवतीको संस्कृति जीवन्तताको लागि जितपुरमा साठी धरको बस्ती बसालेको भनाई रहेको छ।

ईस्वी सन १३२४ मा सिमरौण गढका कर्णाटक बंसीय राजा हरी सिंह देवले नेपालका राजा जयरुद्र मल्ललाई पराजित गरेपछि राजा जयरुद्र मल्ल बनेपामा गएर बसे । राजा हरी सिंह देवका नाती श्याम सिंह देवका सन्तान एक मात्र छोरी अशोक मल्ललाई दिई नेपालको राजपाठ ज्वाईलाई सुम्पिई आफू पलाञ्चोक भगवतीको भक्ती साथमा ज्वाईको राजपाठमा सघाए । हरि सिंह देवसँग आएका राम बरदानका केही परिवार पनि श्याम सिंहको साथमा पलाञ्चोक आएका थिए ।

उनैको पालामा बरदान परिवारबाट भगवतीको मूर्तिलाई सुरक्षित राख्न आकर्षक प्यागोडा शैलीको मन्दिर बनेको थियो । प्रो. डा. खडग मान श्रेष्ठका अनुसार कलाकारिताको सम्मान गर्दै पलाञ्चोकका राम बरदान परिवारलाई मिङ्गकालका चिनियाँ सम्राट याङ्गलोको पालामा राजा (वाङ्ग) को उपाधि दिइएको थियो।

सन १३९० मा राजा मदन सिंह राम बरदानकी रानी जैत्रा लक्ष्मीले तेत्रावर महाबिहारमा बज्रासना भट्टाकरको प्रतिस्थापन निमन्त्रणामा पलाञ्चोकमा भिक्षु तुङ्गलोको नेतृत्वमा आएका चिनियाँ राजकिय टोलीलाई जय सिंह राम बरदानले स्वागत गरेका थिए । हाल तेत्रावर महाबिहार र बज्रासना भट्टाकरको बारेमा पलाञ्चोक बासीमा कुनै जानकारी छैन ।

भगवतीको मन्दिर र राज दरवार (हालको द्योःछें) यीनै राजाको पालामा बनेको हुन सक्दछ । यसपछि मन्दिरको तल्ला थप्ने, जिर्णाेद्वार, मन्दिरको ढुकुटी बढाउने र गुठी राख्ने कामहरु ईस्वी सन १४८२ पश्चात बनेपाका राजा रण मल्ल (यक्ष मल्लका माइला छोरा), कान्तिपुरका राजाहरु महेन्द्र मल्ल, लक्ष्मी नरसिंह मल्ल र प्रताप मल्ल; भक्तपुरका राजाहरु जगत ज्योती मल्ल, भुपतिन्द्र मल्ल र पाटनका राजा जगत प्रकाश मल्लहरुको पालाहरुमा भएको भनाइ रहेको छ ।

लिच्छबी र मल्लहरुले चीन र तिब्बतसँगको हरेक कृयाकलापमा भगवतीको आराधना गरी प्रस्थान गर्ने र सधैँ लाभान्वित भएको इतिहास साक्षी रहेको छ । आफूले प्राप्त गरेको लाभ मध्ये केही आराध्य देवीलाई चढाउने गर्दथे । उक्त चढाइएका सुन, चाँदी, हिरा, मोती, जहावरत आदिका गर गहनाहरु द्योःछेंमा भण्डारण गरिएको थियो ।

शाहकालमा टिनको छानासहित मन्दिर जिर्णाेद्वार भएको भनाइ रहेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वी नारायण शाहले मन्दिर परिसरमा आफै बसेर यज्ञ, होम गराएका थिए । मन्दिरमा चण्डी पाठ गराउन सिस्नुबारीबाट पौडेल थरका ब्राम्हण लाई करिव ३६ रोपनी खेतबारी दिएर यहाँ राख्नु भएको थियो ।

यसलाई विकाश प्रेमी राजा वीरेन्द्र शाहले आफ्नै निजी कोषबाट टिनको छाना हटाई २०३२ सालमा पित्तलको छाना सहित जिर्णाेद्वार मात्र गरेनन् कि खानेपानी समस्या समाधानको लागी हुकुम पनि दिए । साथमा विश्व शान्तिका लागि अघिबढ्ने नेपाली जवानहरुको तालिम केन्द्र पनि काली र भगवतीको चरन कमलमा (पलाञ्चोक डाँडाको काखमा) स्थापन गर्न निर्देश गरे । काली र भगवतीको कृपा र आशिर्वादबाट नेपाली सेना विश्व शान्ति अभियानमा सफल रहेको इतिहास साक्षी रही आएको छ ।

पूजा (प्रार्थना) विधी

रानीको उर्दी अनुसार देशको उत्कृष्ट कलाकारद्वारा निर्मित अति सुन्दर भगवतीको मूर्तिलाई पलाञ्चोक माईको स्थानमा राजकीय सम्मानका साथ प्राण प्रतिस्थापनको लागी काठमाडाैँबाट गुभाजु खलकका बज्राचार्य जातका पुजारी लिएर गएका र डाँडा गाउँका पहरीहरुबाट पूजासामग्री ल्याइएको थियो । हिन्दु घर्म, शाक्त सम्प्रदायमा निर्मीत माईको धरोहरमा बौद्ध मार्गी पुजारीबाट पूजा भई आउनुमा ऐतिहासिक धार्मीक सहिष्णुताकाे ज्वलन्त उदाहरण हो।

पूजा सामग्रीमा फूलमा नारायण पाती र फलमा बेललाई मूख्य सामग्रीको रुपमा लिइएको थियो । वडा दसैँ नव दुर्गा पूजामा बेललाई फूलपातीको रुपमा घरमा भित्राई पूजा गर्ने चलन छ। यस्तै नेवार कन्याहरुको बेलसँग विवाह (ईहिपा) गरेपछि बैधब्य ब्यहोर्नु नपर्ने मान्यता रहेको छ।

यस फललाई संस्कृतिमा श्रीफल, विल्व, शाण्डिल्य, शैलुष, मालुर आदि नामले पुकारिन्छ । भक्तजनहरु पाती र बेलको फल भगवतीको प्रसाद आशिर्वाद स्वरुप ग्रहण गर्दथे । स्थानीयको भनाइमा उहिले काठमाडाैँ देखि पुजारी भगवतीको दैनिक पूजाको लागि तान्त्रिक विद्याद्वारा बिहान पुग्ने र बेलुका फर्कने गर्दथे । हाल सम्म पनि भगवतीका पुजारी काठमाडाैँ मखनका छन् र उनीहरु पालै पालो पलाञ्चोकमा बास बसी पूजा गर्दछन् । दैनिकी पूजाको लागि पहरीहरुले पनि पालै पालो पातीसहित अन्य फूलहरु पुर्‍याउँदै आएका छन्।

बेलको अभावले गर्दाप्रसादीको लागि चढाउनु पर्ने बेलको फल भने मूख्य पूजाहरुमा मात्र जोर जाम गर्ने चलन रहिआएको छ । हाल आएर बाहिरबाट आउने भक्तजनहरु पाती र बेलको सट्टा अन्य फूल र बेलको सट्टा अन्य नरिवल फल चढाई प्रसाद ग्रहण गर्ने गर्दछन्।

ईश्वर प्रतिको भक्ती भावमा ह्रास आउँदा  व्यक्तिको आत्मा विश्वास कमजोर हुँदै गरिबी (मानसिकता) ले स्थान लिएको छ । क्षणिक लाभको लागि, लहलहैमा कृषि, वन क्षेत्रको प्राकृतिक जैविक शक्ति तथा उत्पादन क्षमता गुमाइसकेका छन्, भने मानव श्रोत पनि जिविकोपार्जन (आय आर्जन) को समस्यामा अनुत्तरदाई राज्य व्वस्थापनको कारण स्थानीयहरु आफ्नो व्यक्तिगत अंग (मृगौला) बेच्न बाध्य भएका छन् ।

मन्दिर बाहिर प्लाष्टिकको ढक्कीमा रंगी बिरंगीका बेल पत्रसहित पूजा सामग्रीहरु बिक्रीमा राखिएका पाइन्छन् । शुद्ध पूजाको लागि घरबाटै पूजा लाने वा नयाँ चोया/बाँसका ढक्की वा सालको टपरीमा नारायण पाती (साथमा हिफो स्वं, रातो गुलाफ आदी), बेलको फल (साथमा अम्बा, उखु, बयर, अमला, सुन्तला, आरु, आरुबखदा आदी), पञ्चरंगी धागो (पासुका, छुट्टा छुट्टै डोरो होईन), लावा, रातो, पहेलो टीका, अक्षता आदी । माईका लागी पूजा सामग्रीको ज्ञान नहुँदा र बेलको फल सजिलै बजारमा नपाउँदा र बेल फलको शारीरिक फाइदा बारे जानकारी दिन नसक्दा पूजा सामग्री बिक्रेताहरुले विधिवत पूजा सामग्री दिन सकेका छैनन् ।

नित्य पूजामा पुजारी स्नान गरि शुद्ध बनि मन्दिरका घण्टा बजाउँदै मन्दिर परिषर भित्र प्रवेश गर्दछ । सामग्री तयार गरि पहिले पलाञ्चोक भगवतीका दिदी साठी घरस्थित कालीलाई पूजा गरेर आउँछन् । त्यसपछि भगवतीलाई स्नान गरी सफा गरेपछि गर गहनाले सृंगार गरिन्छ र पहरीबाट ल्याएको फूल प्रसादीको साथ पूजा सामग्री तैयार गरि बाजा र घण्टाको ध्वनीको साथमा दैनिकी पूजा गरिन्छ । नित्य पूजा पछि अन्य भक्तजनहरु लाई दर्शन र पूजाको लागि ढोका खोलिन्छ । दिनभर भक्तजनहरुको पूजा आराधना पछि साँझमा आरतीको साथ दैनिकी बन्द गरिन्छ ।

आदि शक्ती भगवतीलाई खुशी पारी सुखी, समृद्धि र आनन्दमय जीवन प्राप्तिको लागि तत्कालिन स्थानीय समुदायले विभित्र प्रकारका गुठी र भजन मण्डलीबाट बैशाख पूर्णे, जेष्ठ पूर्णे, महादशमी, माघे संक्रान्ती र चैते दसैँमा विशेष पूजा गरिन्छ । यस्को अलावा स्थानीय र बाहिरका भक्तजनहरु, तिर्थ यात्री र पर्यटकहरुलाई मनोरञ्जन समेत दिने हेतुले द्योःछेंमा राखिएको भगवतीका दुई ढलौटका मूर्ति मध्ये एकलाई बडा दशमीको टिका भोलिपल्ट र अर्कोलाई बैशाख पूर्णेका दिन बाजा गाजा र भजन किर्तनका साथ पहरी समुदायको सहयोगमा गाउँ र बजार परिक्रमा गराईन्छ ।

आदि शक्ती भगवतीमा शारीरिक बल र तान्त्रिक/बसिभूत/सम्मोहन शक्ती पनि भएको हुँदा भक्तजनहरु उक्त बल, शक्ति, सुखी, समृद्धि र आनन्दमय प्राप्त गर्न तिथी बार मिलाएर पुजारीको सल्लाह बमोजिम तान्त्रिक विधि अनुसार विशेष प्रकारको पूजा गर्दछन् । यस्ता पूजाहरु खास गरेर भक्तजन, उनका परिवार वा समुदायका मनोकांक्षा वा भाकल अनुसार गरिन्छ ।

साधारण पूजा सामग्रीका साथमा रातो तोरण, किस्ली (माटोको सानो पालामा चामल, पैसा र सुपाडी), विभित्र प्रकारका नैवैद्य, फूलहरु र बली अनुसारका पूजा सामग्रीको तैयारीको साथ मल्लकाल देखि ( व्यापकता) हाँस वा कुखुसाको फुल, विभित्र प्रकारका पंक्षी, दोपाया र चौपाया जनावरहरु एकल देखि पञ्चावली आदि विधिपूर्वक बली चढाउने र उक्त बली दिएको बस्तु प्रसाद र आशिर्वादकाे रुपमा ग्रहण गरिन्छ। यस्ता मनोकांक्षा वा भाकल वा बली दिने पूजाहरु मन्दिरको पुजारीका साथै आफ्ना गुरु पुरोहित, आचाजु, गुभाजु आदी मिलाएर गराउँदछन् ।

व्यवस्थापन

महारानीको आदेशानुसार नित्य पूजाको लागि गुठीको बन्दोबस्त गरियो । समय क्रममा मल्ल तथा शाह वंशीय राजाहरु तथा भगवतीप्रति श्रद्धा राख्ने भक्तजनहरुले आ–आफ्नो गच्छे अनुसार भगवतीको गुठीमा जमिन, गर गहना तथा पैसा चढाए । आस्था, मौखिक र हुकुमको आधारमा चलिआएको संस्कारलाई धार्मिक शासकिय क्रममा राजा राजेन्द्र बिक्रम शाहको पालामा पुजारी, बिर्ता र गुठी प्रमाणको लागि १८८४ मा लालमोहर लाग्यो ।

गुठी बन्दोबस्त र गुठी संस्थानको आगमनको साथमा पलाञ्चोक भगवतीको सम्पत्तिमा ह्रास आयो । यस्तै २०४२ सालमा तत्कालिन श्री ५ को सरकारका केन्द्रीय प्रशासनबाट आएका प्रशासकिय कर्मचारीहरु र सुरक्षा दस्तासहितको टोलीले द्योःछें बाट भगवतीको सम्पत्ति सुरक्षाको लागि भनि एक ट्रक अमूल्य गरगहना काठमाडाैँ लिएर गएको र त्यो कहाँ भण्डारण गरिएको स्थानीय कसैलाई पनि जानकारी दिइएन ।

भगवतीको महत्व लाई नमन गर्दै २०४५ सालमा काभ्रेपलाञ्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बागेश्वरी चटौतले मन्दिर विकास समिती गठन गरी मन्दिर क्षेत्र विकासमा योगदान पुर्‍याएका थिए । मूख्य समिति क्रियाशिल हुन नसकेपछि विकासमा टेवा पुर्‍याउन स्थानीयले उप–समिति गठन गरेका छन् । खरेलथोकका अच्युत कृष्ण खरेलले मन्दिर सुरक्षार्थ बि.सं. २०५० सालमा तिनवटा फलामे च्यानल गेटको साथमा इटाको पर्खाल लगाए र शहरी विकास मन्त्रालयले मन्दिर परिसर बाहिर ढुङ्गा बिच्छ्याउने काम भयो । २०७२ सालको भूकम्पले बिग्रेको मन्दिरलाई स्थानीय सरकार र जन सहभागितामा गत वर्ष २०७६ मा जिर्णाेद्धार सम्पत्र भएको छ ।

रुपान्तरण

ईश्वर प्रतिको भक्ती भावमा ह्रास आउँदा  व्यक्तिको आत्मा विश्वास कमजोर हुँदै गरिबी (मानसिकता) ले स्थान लिएको छ । क्षणिक लाभको लागि, लहलहैमा कृषि, वन क्षेत्रको प्राकृतिक जैविक शक्ति तथा उत्पादन क्षमता गुमाइसकेका छन्, भने मानव श्रोत पनि जिविकोपार्जन (आय आर्जन) को समस्यामा अनुत्तरदाई राज्य व्वस्थापनको कारण स्थानीयहरु आफ्नो व्यक्तिगत अंग (मृगौला) बेच्न बाध्य भएका छन् ।

यस्तो भयावह समस्याबाट बचाउन कृषि विकास कार्यालय जस्तो जिम्मेवार संस्थाले जन सहभागितामा अल्पकालीन र दिर्घकालीन रणनीति बनाई बागबानी, फूलवारी खासगरि माईलाई समर्पण गरिने बेल, तथा अन्य स्थानीय फलफूल र पशुपालनको विकास कार्यक्रम सञ्चालनले राहत पुग्न सक्दछ । साथमा पानीको मुहान क्षेत्रमा वन कार्यालयले पनि अल्पकालीन र दिर्घकालीन रणनीति बनाई बेलको विरुवासहितका जल भण्डारण गर्न सक्ने विरुवाको जंगल फैलाउन सके पानीको मुल बढ्नु र वातावरणमा सहयोग पुग्नुको साथै भगवतीलाई चढाउने बेल प्रसादीको आपूर्तिमा समेत सहज हुने थियो ।

लोपाेन्मुख ऐतिहासिक कलाकारिताको ५२ धुरी पहरीको कला कौशलको संरक्षण र प्रवर्द्धन जिल्ला तथा केन्द्रीय सरकारको साथमा युवा स्वरोजगार जस्ता संस्थाहरुबाट लघु उद्यमको लगानीमा सकारात्मक पहल कदमी आवश्यक भएको छ । जिल्ला र देशका नीति, नियम तथा ढुकुटीका जिम्मेवार अधिकारीहरुले जोखिममा परेका समाज र लोपोन्मुख कलाकौशलमा टेवा दिने हो भने स्थानीयहरु सँगको सहकार्यमा जुट्न तडकारो आवश्यक देखिन्छ ।

विश्व सम्पदा सूचीमा नामांङ्कन हुन सक्ने राष्ट्रिय महत्वको क्षेत्रलाई गत वर्ष नेपाल सरकारले पलाञ्चोक भगवती क्षेत्रलाई पर्यटकीय गन्तव्यकाे  घोषणा गरिएको छ । विद्यमान प्र. जि. अ. मा दर्ता रहेको विकास समिति र उप–समिती सँगको सहकार्यमा अधिकार सम्पन्न पाँचखाल नगरपालिकाले पूर्खाले सृजित धरोहरमा यस्को संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र उक्त क्षेत्रलाई नै समेटेर प्रकृति प्रेमी गुरुयोजना सहितको नक्सांकण गर्दै आफ्नो क्षमता देखाउने अवसर मिलेको छ ।

२०४२ सालमा नेपाल सरकारले द्योःछेंबाट एक ट्रक समान लगे पनि अझै केही बाँकी रहेको सामानलाई पारदर्शी तवरले भण्डारण गर्न सके उक्त सामग्रीको स्थानीय स्तरमा सुरक्षित हुने तथा पछिल्ला पिढी र आगन्तुकहरुले भगवतीमा समर्पित कला कौशल देख्न पाउने थिए ।

दिर्घकालीन स्थायित्व र सुरक्षाको महत्वलाई ध्यान दिई एक शुल्कसहितको संग्राहलय, द्योःछें वा साठी धर क्षेत्र भित्र खोल्न सके घर्म र संस्कृतिको रक्षासहित सबैपक्ष लाभान्वित हुने छन् ।

देव र मानवका रक्षक, शक्तिका अधिष्ठाट्री देवी महामायाँ भगवती मानव जातीका प्रेरणा तथा आत्मा विश्वासका श्रोत भएको हुँदा वर्तमान र आउँदा दिनहरुको सुख समृद्धि मा आत्मा बल बलियो बनाउन र अरु आत्माको सम्मान गर्न पलाञ्चोक भगवती महामायाँको जानकारीमा व्यापकताको साथमा यात्री सेवा, सुविधामा स्थान विकास आवश्यक रहेको छ ।

परिवर्तित प्रकृति र मानव विकासको माग अनुसार पलाञ्चोकका बासिन्दाहरु र जिम्मेवार आधिकारिक निकायबाट विभित्र उदेश्यसहित यहाँ आउने यात्रीहरु समेतको ध्यानमा राखी बृहत गुरु योजना बनाई विकास गर्न सके यहाँ वर परका बासिन्दाहरुको जीविकोपार्जनको साथमा विश्व मानव कल्याणमा योगदान पुग्ने छ ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्