अभिनेत्री शृङ्खला

‘हामीले दुर्व्यवहारका कुरा बाहिर ल्याउन धेरै सोच्‍नुपर्छ, फेरि काम नपाउने डर छ’

पत्रकार डिबी खड्काले आफ्नो पुस्तक ‘नियत’ को लेखकीयमा लेखेका छन्, ‘मनोरञ्जन क्षेत्र पुरुषले पुरुषद्वारा पुरुषको लागि बनाएको क्षेत्र हो।’ उनको भनाइलाई आधार मान्ने हो भने यो क्षेत्रमा महिलाको अस्तित्वको निर्धारण पुरुषले गर्छ।

सबै मानवका लागि समान हक, अधिकार, समान अवसरको कुरा गरिन्छ तर अन्य क्षेत्र जस्तै चलचित्र क्षेत्रमा पनि महिला र पुरुषबीच धेरै विभेद छन्।

अभिनेत्री ऋचा शर्मा भन्छिन्, ‘मैले करियरको यो समयसम्म आइपुग्दा धेरै कलाकारहरुसँग काम गरेँ, त्यसले भिन्न खालका अनुभवहरु दिएका छन् । यो क्षेत्रमा महिला र पुरुषमा अनेक किसिमको भेदभाव छन्, मैले पनि त्यो भोगेकी छु, देखेकी छु । सबैलाई छर्लङ्ग बुझाउन सकिने विषय भनेको पारिश्रमिकको कुरा हो, जहाँ हिरोलाई १० लाख दिइन्छ भने हिराइनलाई दुई लाख मात्रै, समान काम र त्यो भन्दा बढी समयका लागि।’

मोडलिङ, भिजे हुँदै चलचित्र क्षेत्रमा १० वर्षमा उनले समेटेको अनुभवले भन्छ, ‘महिला कलाकार र पुरुष कलाकारले चलचित्र बन्नुन्जेल र चलचित्र प्रमोशनको समय हिसाब गर्दा महिला कलाकार बढी सक्रिय हुन्छन्। प्रमोशनमा महिलालाई नै धेरै बोल्न लगाइन्छ ।’ यी बाहेक महिला भएरै कारण फरक खालको अनुभव गर्नुपरेका उनका थुप्रै स्मरणहरु छन्।

चलचित्र क्षेत्रमा प्रष्ट वक्ताको रुपमा परिचित छिन् ऋचा। उनी मन नपरेको कुरा खुलेर मुखै अगाडि भनिहाल्छिन्। आफूलाई बलियो रुपमा प्रस्तुत गरेकै कारण आफूले यौन वा अरु किसिमको शारीरिक दुर्व्यवहारको सामना गर्नु नपरेको बताउने ऋचालाई चम्किलो देखिने चलचित्र क्षेत्रभित्र महिलामाथि हुने दुर्व्यवहारको चुक घोप्ट्याएजस्तो अँध्यारो पक्ष व्याप्त छ भन्ने थाहा छ । विभेदको घेरा शारीरिक वा यौन हुँदै पारिश्रमिक अनि अरु प्रकारका मसिनो तहसम्म फैलिएको उनले बताइन् ।

ऋचा आफैँले नभोगे पनि आफ्नो वरपरको सर्कलमा बेलाबखत नायिकाहरुले आफू दुर्व्यवहारमा परेको कुरा सुनाइरहन्छन्। ‘सेटमा चलचित्रको हिरोलाई यस्तो गरे, मलाई यस्तो’ भनेर धेरैले भन्छन्। आफू नराम्रो व्यवहारमा परेको कुरा सुनाउँछन्।’ शर्मा भन्छिन्, ‘म जतिबेला घटना हुन्छ, त्यति नै बेला भनिहाल्छु, बरु अर्को पल्ट काम गर्न नपाउँ तर चित्त नबुझेपछि मनमा कुरा राख्दिन। मनमा चिन्ता बन्न दिन्न।’

पुरानो पुस्ता र अहिलेको पुस्ताबीचको समयको कलाकारका रुपमा आफूलाई प्रस्ततु गर्ने ऋचाले भनिन्, ‘कुनै प्रोजेक्टमा निर शाहसँग काम गरेको छु भने मलाई गरिने व्यवहार र उहाँलाई गरिने व्यवहार त फरक हुन्छ नै । त्यसलाई हामी स्वीकार्छौँ। तर उही काम, उति नै समय, अझ भन्ने हो भने मेहनत बढी हुँदा पनि समकालीन अभिनेता भन्दा हामीलाई हुने व्यवहार र पारिश्रमिक पनि अति कम दिइन्छ ।’

ऋचा खरो सुनिन्छिन्, सिधा अनि प्रष्ट। तर उनलाई ज्ञान छ, सबैको बानी एकै हुँदैन।

साम्राज्ञीको मुद्दा


चलचित्र क्षेत्र बाहिरबाट जति रंगीन देखिन्छ, भित्र त्यति झलमल नहुन सक्छ। राम्रो कुरासँगै नराम्रो कुराहरु पनि जोडिएका हुन्छन्। इन्डस्ट्री भित्रका अनेकौ पक्षमध्ये यहाँभित्र हुने दुर्व्यवहार अति डरलाग्दो छ। यसलाई बाहिर ल्याउने विषयमा शर्मा भन्छिन्, ‘यहाँ दोहोरो व्यवहार हुन्छ। सुरुमा भनिन्छ–यो कुरा भन्नु पर्छ, सहेर बस्नु हुँदैन। जब कुरा बाहिर आउँछ, तब भनिन्छ–त्यतिबेला किन भनिनस्, अहिले किन भनिस् ?’

‘दुर्व्यवहारको बारेमा बोल्न धेरै सोचेर आउनुपर्छ। यो इन्डस्ट्रीमा पाइला राख्दा कतिले परिवारसँग बिद्रोह गरेर, अनेर्कौँ संघर्ष गरी आएका हुन्छन्, त्यसले आफ्नो धरातल कति बलियो छ आँक्न बाध्य बनाउँछ। यस्तै आफूले बोलेपछि कसले साथ दिन्छ–दिन्न त्यसको बारेमा जानकार हुनपर्‍यो।’

नेपाली चलचित्र क्षेत्र सानो भएकोले पनि दुर्व्यवहारमा परेका व्यक्तिले ‘काम गर्ने यही नै हो’ भनेर हच्किने वा मुख बन्द गर्ने गरेको ऋचाको बुझाइ छ ।

‘हामीमा अर्को नराम्रो बानी छ, दुर्व्यवहारको कुरा बाहिर ल्याउँदा बलिउड, हलिउडमा भए वाह, वाह ! गर्छौँ, तर हाम्रोमा आयो भने हाई काढ्छौँ। अलिकति हिप्रोकेसी हो कि जस्तो लाग्छ, हाम्रोमा अगाडि एउटा कुरा र पछाडि अर्को कुरा हुन्छ,’ अभिनेत्री शर्मा भन्छिन्, ‘फेरि जसले मुख खोल्छ, त्यो आफ्नो बोलीमा अडिग नभएको जस्तो देखिन्छ, उसलाई भोलि मैले काम पाउँदिन की भन्ने डरले गाँजेको देखिन्छ। र त्यो डर साँच्चै छ।’

साम्राज्ञीको मुद्दालाई छुँदै उनले भनिन्, ‘दुर्व्यवहार भएको कुरा जति बेला आफूलाई सहज लाग्छ, त्यतिबेला भन्ने हो। साम्राज्ञीमाथि पाँच वर्ष अगाडि त्यो दुर्घटना भएको भए पनि अहिले उसले भन्नु गलत हैन। २० वर्ष अगाडि दुर्व्यवहार भएको छ भने पनि त्यो दुर्व्यवहार नै हो।’

हलिउडका चर्चित चलचित्र निर्माता हार्बी वाइन्स्टिनलाई सन् २०१७ मा यौन दुर्व्यवहारको मुद्दा लाग्यो। उनीमाथि ८० जना भन्दा धेरै महिला अभिनेत्री, कलाकारहरुले यौन उत्पीडनको आरोप लगाए, आफूमाथि भएको दुर्व्यवहारबारे अगाडि आएर बोले । आरोपित हार्बीलाई जेल चलान गरियो भने विश्वभरी नै ‘मिटु’ मुभमेन्ट को सुरुवात भयो । यो अभियानले बलिउडमा पनि तरंग मच्चायो।

त्यसैले शर्मा भन्छिन्, ‘आफ्नो आवाज जति बेला बलियो भएको अनुभूति हुन्छ, त्यति बेला बोल्ने हो।’ साम्राज्ञीको कदमले धेरैलाई प्रेरणा दिएको जस्तो शर्मालाई लाग्छ, उनी यो विषयमा गहन बहसको खाँचो रहेको बताउँछिन् ।

दुर्व्यवहारका घटनाले निम्त्याउने मानसिक तनाव


स्वाभावैले मानिस आफूभन्दा दोस्रो व्यक्तिको व्यवहारले प्रभावित हुने प्राणी हो। कुनै क्रियाकलाप, सूचनाको मानसिक प्रभाव पर्छ। तर जसरी दुर्व्यवहार भएको भन्दा प्रमाण जुटाउनु पर्ने कुरा अगाडि आउँछ, त्यसले पक्कै पनि आघात पुर्‍याउँछ।

दुर्व्यवहार हुनलाई शरीरमा छोइनु नै पर्छ भन्ने हैन, दुर्व्यवहार आफैँमाथि हुनुपर्छ भन्ने छैन, अरुलाई परेको कुराले पनि मानसिक रुपमा धेरै प्रभाव पर्छ। कलाकारमाथि दुर्व्यवहार भएको कुरा बाहिर आयो र उसको कुरा सुनिएन भने भइरहेका अरु कलाकार अनि कलाकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका नयाँ पुस्ताहरुमा यसको नकारात्मक असर पर्ने शर्मा बताउँछिन्। ‘अझ महिलाको कुरा गर्ने हो भने, परिवारले सबैलाई सजिलै अनुमति दिएको हुँदैन, अनि चलचित्र क्षेत्रमा यस्तो भयो रे भन्दा कसको परिवारलाई डर लाग्दैन र ? यस्ता घटनाले चलचित्र क्षेत्रको बारेमा गलत मानसिकता विकास हुन्छ । नयाँ आउन चाहने पिढीँले खुट्टा पछाडि सार्न सक्छन्।’

दुर्व्यवहारको मुद्दामा न्याय पाइन्छ भन्ने कुराको विश्वास बसिसकेको छैन, जबकी अमेरिकामा हार्बी वाइन्स्टिन जेल गए। तर यस्ता घटना आक्कल झुक्कल मात्रै भएका छन्।

‘साम्राज्ञीको केसमा उनले बोलिन् । उनको स्वरमा अरुको पनि आवाज मिल्यो वा साथ दिइयो भने मात्रै न्याय मिल्छ । कानूनी रुपमा लैजानका लागि दबाब चाहिन्छ ।’ शर्मा भन्छिन्, ‘जसरी हार्बीको मुद्दामा मिडिया लागिपर्‍यो, यहाँ त्यस्तो अभ्यास छैन, खासखुस कुरा भएको हुन्छ । उसले उसलाई कडा जवाफ, उसले उसलाई कडा जवाफ भन्छन्, अलि समयपछि कुरा सेलाउँछ । मर्कामा परेका झन थिचिन्छन् । अबको मार्ग के भनेर कसैले सोचेको देखिँदैन।’

कलाकारले रोज्‍ने मिडिया र ‘मिडिया ट्रेन्ड’


ऋचाका अनुसार कलाकारका लागि सञ्चारमाध्यम मेरुदण्ड हुन्। सञ्चारमाध्यमले दुर्व्यवहारको कुरा पनि खुलेर अगाडि ल्याउनुपर्ने शर्मा भन्छिन्। ‘केही निश्चित कलाकारहरु छन्, जसको लाखौँ फलोअर छन्, जसलाई मानिसको पहुँचमा पुग्न समस्या हुन्नँ। तर सबैको यो अवस्था छैन।’

पछिल्लो समय मिडियामा भइरहेको अभ्यासले मुद्दालाई स्थापित गर्न नसकेको उनले उल्लेख गरिन्। ‘तातेको विषयमा खोजी गर्‍यो, दुई–चार आर्टिकल बनायो अनि आउटकम के? मान्छेले पढेर गर्ने के ?’

जसरी सञ्चार माध्यमले मुद्दा स्थापित गर्नुपर्ने हो, त्यसमा चुकेको अनुभव उनको छ, ‘महिलामाथि भएका हिंसालाई मजाकको विषय बनाइने डर छ, चिया पसलमा हुने गफमा सीमित हुन्छ भन्ने वातावरण रहँदा कानुनी उपचार पाइएला भनेर कसले सोच्न सक्ला र !’ दुर्व्यवहारका कुरालाई गम्भीर रुपमा नलिइने र ‘चलचित्र क्षेत्रमा यस्तो कुरा सामान्य हो’ भन्ने मनस्थितिले पनि असजिलोमा परेकाहरुले आफ्नो कुरा भन्न हिचकिचाउने गरेको ऋचाको बुझाइ छ ।

त्यसैले उनीसँग सञ्चारमाध्यमसँग केही अपेक्षाहरु छन्, ‘मिडिया त्यस्तो ठाउँ बनोस्, जहाँ समस्या सहजै भन्न पाइयोस् र सुनुवाई होस्। अनि अभियानको रुपमा अगाडि बढोस् । कुरा छेडिएपछि केही अगाडि सम्म पुगोस्, केही निचोड निस्कियोस्।’ उनलाई लाग्छ, मेनस्ट्रिम मिडियाहरुले समग्र रुपमा अभियान चलाउनु पर्छ, जहाँ कुनै मुद्दा उठ्दा मात्र होइन, हिरोइनलाई समस्या पर्दा मात्र हैन, जसलाई समस्या पर्दा पनि उसले आफ्नो विचार राख्न पाओस्। आफूलाई पर्दा ‘भन्ने ठाउँ छ’ भनेर ढुक्क हुने अवस्था होस्।

ऋचालाई कलाकार र सञ्चारमाध्यमबिचको सम्पर्क फरक ढंगबाट अगाडि बढेकोले पनि मुद्दा बहकिन थालेको अनुभूति छ, ‘पछिल्ला केही वर्षमा हामी धेरै युट्युबतीर ढल्कियौँ। हामीले जसलाई प्राथमिकता दिने हो, उसले नै हामीलाई प्राथमिकता दिन्छ। सबैलाई पपुलर हुन मन लाग्छ। तर साँच्चै नै अब विचार गर्ने बेला आएको छ, हामी कहाँ, कोसँग के बोल्न जाँदैछौँ। मलाई लाग्छ राष्ट्रिय सञ्चारमाध्यमहरु (मेनस्ट्रिम मिडिया) मा हामी केन्द्रित हुनुपर्छ।’

उनको अपेक्षा छ, ‘पुरुष, महिला जो भएपनि अथवा जुन सुकै क्षेत्रका व्यक्तिलाई आफ्नो कामको समयमा शारीरिक, मानसिक वा अन्य प्रकारको भावनात्मक ठेस पुगेको होला । भन्ने ठाउँ होस् र जगहसाई मात्र नहोस्।’

समस्या पर्दा गुहार्ने ठाउँ नभएको अवस्थामा सहयोगी समाज र वातावरण निर्माणमा मिडिया महत्वपूर्ण हुने कुरालाई जोड उनी दिन्छिन्। ‘मैले यो विषयमा के बोल्छु भन्ने चासो धेरैलाई हुनसक्छ, मैले मात्र कुरा राखेर पर्याप्त छैन, यस्ता धेरै आवाज आउनुपर्छ र आउने माध्यम सही हुनुपर्छ।’

कानून संशोधन र कलाकारको सुरक्षा नीति आवश्यक


कानूनमा निश्चित समयभित्र आफूमाथि भएका दुर्व्यवहारबारे बोल्नु पर्ने व्यवस्था रहेकोप्रति ऋचाको असन्तुष्टि रहेको छ । उनी प्रश्न गर्छिन्, ‘तोकिएको समय सीमामा बोल्ने आँट आएन भने न्याय नपाउने त ?’

दुर्व्यवहारका कुरा गम्भीर हुनलाई ‘आफैँलाई पर्नुपर्छ’ भन्ने मान्यता रहेको अवस्थामा जसले मुख खोल्छ, उ झन् पछाडि जान्छ।

‘साम्राज्ञीको कुरा बाहिर आउँदा मैले कमेन्टहरु पढेँ, दिक्क लाग्यो। झन् जसले भोग्यो उसलाई कस्तो भयो होला।’ शर्माले भनिन्, ‘दुःखको कुरा हो, हामी कुन मानसिकताबाट चलिरहेका छौँ।’

तत्कालका लागि यस्ता समस्या नआउन कलाकारलाई सम्झौता गर्दा सुरक्षात्मक विषयमा ध्यान पु¥याइएको हुनुपर्ने शर्मा बताउँछिन् । उचित पारिश्रमिक, महत्वपूर्ण विषय हो। कलाकार पनि प्रोजेक्टको अवस्था हेरेर ‘डिमान्डिङ’ हुनुपर्छ । महिला कलाकारको सवालमा विशेष ख्याल राखिनुपर्छ भन्दै शर्मा भन्छिन्, ‘कतिपय ठाउँमा छायाँकनका लागि जाँदा कपडा फेर्ने ठाउँ समेत हुँदैन। यी लगायतका व्यवस्थापकीय विषय समेटिएको सम्झौता कलाकारका लागि आवश्यक छ। नायिकालाई प्रमोशन भन्दैमा दौडाउनु भएन, चलचित्र भनेपछि त्यसैमा मात्र सिमित हुनुपर्‍यो, नचाँहिदो कन्ट्रोभर्सी सिर्जना गर्नु भएन।’

अभिनय हुँदै चलचित्र उत्पादनसम्म पुगिसकेकी ऋचाले यो क्षेत्रको विभिन्न विधामा आफूलाई उपस्थित गराउँदै लगिरहेकी छन्।

अभिव्यक्ति जति बलियो भएपनि केही महिलाका साझा सवालमा उनको मन सामान्य महिला जस्तै गरी दुख्छ, र उनलाई पनि त्यसरी नै प्रभाव पर्छ। यस्ता समस्याबाट सकेसम्म टाढा रहन मन लाग्छ, तर त्यो भन्दा महत्वपूर्ण यो क्षेत्रमा शान्त वातावरण होस् भन्ने कामना छ।

‘काम गर्ने मानिसहरु पनि यो क्षेत्रमा अरु केही चिजको लागि नआउन्।’ शर्मा भन्छिन्, ‘चलचित्र क्षेत्रमा नै भविष्य खोज्नेको लागि सुरक्षित वातावरण निर्माण होस्। परिवारले चलचित्र क्षेत्रमा लाग्न सहज अनुमति देओस्। सबैभन्दा महत्वपूर्ण कुरा हामीलाई नागरिकले विश्वास गरुन्।’

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्