देशभरिका १७९० आंशिक शिक्षकहरुप्रति त्रिविको बेवास्ता, ‘१२ वर्ष सेवाको फल हातमा कमण्डलु’

विराटनगरका आरसी कोइराला अर्थशास्त्रका प्राध्यापक हुन्। उनी २०६५ साल देखि शिक्षण पेशामा लागे। कोइराला २०६४, ६५ को स्नातकोत्तरका विद्यार्थी हुन्। यो व्याचमा उनले ‘टप’ गरे। त्रिभुवन विश्व विद्यालय अन्तर्गत स्नातकोत्तर क्याम्पस, विराटनगरका उत्कृष्ट विद्यार्थी उनले त्यही वर्ष त्रिभुवन विश्व विद्यालयले आंशिक शिक्षकको माग गरेर सूचना निकालेको थाहा पाए र प्रक्रिया पूरा गरी पेसा शुरु गरे।

‘त्रिभुवन विश्वविद्यालयले आंशिक शिक्षकको आधारमा जे अभ्यास गरिरहेको छ, त्यसरी नै अगाडि बढ्ने भनिएको थियो। एक वर्ष परीक्षण काल पछि हामीलाई करारमा लैजाने भनिएको थियो,’ कोइराला भन्छन्, ‘हामीले जानेको कुरा पढाउँदै आयौँ, विश्वविद्यालयले हामी तपाईँको लागि काम गर्छौ भन्नु भयो। विश्व विद्यालयको क्षेत्रमा आउँदा राम्रै हुन्छ भनेर लागिएको हो, तर कात्तिकदेखि तलब नै पाएको छैन।’

झन् अहिले विश्वविद्यालयले उनी जस्ता आंशिक शिक्षकहरुलाई नयाँ सेमेस्टरको पढाइ सुरु गरे पनि नियुक्ति दिएको छैन। ११ वर्षदेखि सेवा दिइरहेका उनी अहिले पनि ‘पार्ट टाइम टिचर’ हुन् तर उनले काम भने पूर्णकालीन शिक्षक भन्दा धेरै गर्नुपर्छ। ‘स्थायी शिक्षकको वर्षमा ९ क्रेडिट आवर छ तर हामी १५ क्रेडिट आवर काम गछौँ।’ उनको क्याम्पसमा उनीजस्ता ११ जना शिक्षकहरु रहेका छन्।

‘७० प्रतिशत कक्षाको भार आंशिक शिक्षकले बोकेका छन्। तर हाम्रो श्रमको मोल छैन। हुनचाहिँ प्राध्यापक तर त्रिविले निम्न स्तरको कर्मचारीको पनि व्यवहार गरेन,’ कोइराला भन्छन्, ‘म व्याङ्किङ क्षेत्रमा गएको भए अहिले कहाँ पुग्थेँ। मेरा साथीहरु बैंकको म्यानेजर भएका छन्। विश्व विद्यालयमा छिरियो, उहाँहरुले आश देखाउनुभयो। तर हाम्रो बौद्धिकतालाई दोहन गरियो।’

उनी र उनीजस्ता प्राध्यापकहरुले त्रिभुवन विश्व विद्यालयको मात्र हैन यहाँका वैचारिक समूहहरु – प्राध्यापक संघ, प्रगतिशिल प्राध्यापक संघ लगायतको ढोका ढकढक्याए। तर उनीहरुले पनि आश्वासन मात्रै दिए। विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षले निराशा मात्र थपे।

‘मेरो उमेर अब ३५ नाघिसक्यो, अब मैले अन्य सरकारी सेवामा जान उमेर हदबन्दी कटिसकेको छ। यहाँबाट पनि कमण्डलु लिएर हिँड्नुपर्ने भयो,’ कोइराला भन्छन्, ‘सबैले सम्मान गर्ने पेशा हो तर हामीलाई अवहेलना गरिरहेका छन्। अब मेरो सन्तानलाई म शिक्षक बन्न दिन्न।’

कोइरालाको परिवारमा वृद्ध बाबा आमा, श्रीमतीले घर सम्हाल्छिन्। एक छोरी छिन्। घरमा आम्दानीको सबै भार कोइरालाकै काँधमा छन्। उनी प्लस टु निजी क्याम्पसमा पढाउँथे तर अहिले लकडाउनले त्यो सबै बन्द छ।

धवलागिरी बहुमुखी क्याम्पसमामा १२ वर्षदेखि पढाइराखेका सरोजराज पन्त अहिले आएर बिचल्लीमा परेका छन्। उनले विश्व विद्यालयमा काम सुरु गर्दा क्याम्पसमा शिक्षक स्थायी बनाउने एउटा प्रक्रिया थियो, एक वर्ष आंशिक, ३ वर्ष करार र स्थायी । उनले सम्मानजनक पेशा हो भनेर अन्तबाट आएको अवसरहरु छोडे, सेवा आयोगमा परीक्षा दिई नाम निकालेको ठाउँमा जागिर गर्न गएनन्।

‘म सदरमुकाममा घर भएको मान्छे, यस्तो व्यवस्थामा जागिर हुन्छ भनेर नाम निस्किएका टाढाका क्याम्पसमा पढाउन गइएन,’ पन्त भन्छन्, ‘अहिले दुख पाइयो।’

पन्तले लकडाउनको बेलामा कक्षा सञ्चालन हुँदासम्म दैनिक ७ पिरियड पढाएका छन्। अहिले अनलाइन कक्षा बन्द छ। उनले फागुनदेखि तलब थापेका छैनन्। पन्तकी श्रीमती तीन सन्तान हुर्काएर बस्छिन्, कमाउने पन्तमात्रै भएपछि उनी सन्तानको भविष्यप्रति पनि चिन्तित छन्। पुरानो व्यवस्था अनुसार उनी स्थायी शिक्षक भएको भए, अहिले उनले सरकारी जागिर खाएको ८ वर्ष भइसक्थ्यो। त्यतिबेला देखिको आन्दोलनले अझै टुंगिने छाँटकाँट देखाएको छैन।

‘म एमफिलको छात्रवृत्ति पाएको विद्यार्थी हुँ। यतिका वर्षसम्म पढाएँ, अनुभव पनि यसैमा छ, अलपत्र पारिदिएपछि नयाँ काममा कहाँ कसरी जाने?’ पन्त भन्छन्, ‘बेलैमा शिक्षक सेवा आयोग खुलाइदिएनन्। खुलाउँदा २ जनाको दरबन्दी हुन्छ। जनशक्ति १०० जना बढी हुन्छ। यसरी हामीलाई असक्षमको सूचीमा पारिन्छ।’

त्रिभुवन विश्व विद्यालयले २०७२ सालमा सेवा आयोगमा शिक्षकहरुलाई जागिरको आह्वान गर्‍यो तर यो परीक्षामा आंशिक शिक्षक सहभागी हुन नपाउने व्यवस्था भयो। आयोगले टन्नै सिटमा दरबन्दी राखे पनि कोटा नपुग्ने अवस्था आयो।

‘हामीलाई कामको भार मज्जाले बोकाइएको छ तर हाम्रो आधारभूत सेवा सुविधाका कुराहरु पनि वास्ता गरिएन’, पन्त भन्छन्, ‘छोडेर हिँड्छौँ’ भन्दा पनि कलेजले ‘हामी काम गर्दै छौँ भन्छन्।’

अहिले पन्त जस्ता आंशिक शिक्षकहरुलाई एउटै गुनासो छ, ‘त्रिविले हामीलाई चिनेन।’ पन्तले निर्णय लिएका छन्, ‘अहिले बन्द छ, यसपछि हाम्रो बारेमा सोचिएन भने हामी फर्कने पक्षमा छैनौँ।’

त्रिविको साख, प्रतिष्ठा जोगाउन भोको पेट कसरी धान्ने भनेर अस्थायी शिक्षकहरुलाई अन्यौल परेको छ।

आंशिक शिक्षकहरुको आन्दोलन र मागको विषयमा विश्वविद्यालयका पदाधिकारीहरु, शिक्षामन्त्री सबैसँग कुरा भइसकेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका पदाधिकारी र आंशिक प्राध्यापकहरुलाई एकै ठाउँमा राखेर कुरा गर्छौ है भनेको एक महिना बढि भइसक्यो। तर छ कुरा जहाँको तहीँ।

आब्रिता शाह पद्मकन्या क्याम्पसमा ७ वर्षदेखि ग्रामीण विकास पढाउछिन्। उनकी छोरी १२ कक्षामा पढ्दै छिन्। शाहलाई छोरीलाई शिक्षक बनाउने सपना छैन । ‘हामी कस्तो भयौँ भने, ज्यालादारी मजदुर, जो घरको भित्ता उठाउन जान्छन् र गएको दिनको मात्रै पैसा पाउछन्। हाम्रो हालत त्यो भन्दा फरक भएन,’ शाह भन्छिन्, ‘मेरो कलेजको मेरै डिपार्टमेन्टमा मात्रै ८ जनाको यो समस्या छ। हामीले हाम्रो उर्जावान समय खेर फाल्यौँ।’

देख्दा कलेज पढाउन जाने, विकास, सुशासनको कुरा सिकाउने ठाउँमा भएर पनि पिल्सिएर बस्नु परेको छ। ‘मेरो त परिवारको अर्को व्यवसाय छ, काठमाडौँमै घर छ, जसलाई यही जागिरको भरमा छोरा छोरी पढाउनु छ, घरको भाडा तिर्नु छ, उसको के हाल होला ?’ शाह भन्छिन्, ‘हामीलाई अप्रत्यक्ष रुपमा आत्महत्या गर भनेको हो ।’

वर्षैपिच्छे आयोगले शिक्षकको दरबन्दी आह्वान गर्नुपर्ने हो तर २०६४ देखि रोकिएको छ। शेरबहादुर देउवाको सरकारको पालामा आंशिक शिक्षकको समस्या समाधान गर्ने भनी निर्णय भएपनि सरकार परिवर्तन भएपछि कार्यान्वयन कता पुग्यो टुंगो छैन।

शाह भन्छिन्, ‘अलमलमा पारे, व्यवस्था बसालिदिएनन्। ४३ वर्षको भएँ, अब अन्त लड्ने उमेर पनि छैन। घर न घाटको बनाएर छोडेँ।’

विश्वविद्यालयका पदाधिकारीहरुले आंशिक शिक्षकहरुको बारेमा नयाँ कार्यविधि बनाएर अगाडि बढ्ने वाचा गरेका छन् तर के हुन्छ भन्न सकिने अवस्था छैन। ‘हाम्रो अन्तिम आशा कार्यविधिमा अडिएको छ, कार्यविधि सार्वजनिक हुँदा हामीलाई सम्बोधन गरिन्छ कि भन्ने हो।’ नेपाल आंशिक प्राध्यापक संघ महासचिव केशव चन्द भन्छन्, ‘धेरै पल्ट आशा दिलाए पनि जिम्मेवारीबाट पछि हट्नु भएको छ, हामीले यस अघि नै हाम्रो माग सम्बोधन नभए काममा नफर्कने घोषणा गरिसकेका छौँ। हेरौँ।’

समितिसँग भएको तथ्यांकमा १०६७ उपत्यका बाहिर र ७२३ उपत्यकाभित्रका शिक्षक शिक्षिकाहरु आंशिक प्राध्यापकहरु छन्।

त्रिभुवन विश्व विद्यालयका उपकुलपति धर्मकान्त बास्कोटासँग बारम्बार सम्पर्क गर्दा उनले मिटिङमा भएको जानकारी दिए। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष पेशल दाहाल भन्छन्, ‘कार्यविधि प्रक्रियामा छ, काम भइरहेको छ। हामी निर्देशिका बनाएर चल्ने योजनामा छौँ। काम जतिसक्दो चाँडै हुन्छ। त्रिवि विशेषज्ञलाई हामीले जिम्मा दिएका छौँ।’

नयाँ कार्यविधि सार्वजनिक भएपछि आंशिक शिक्षकको सबै समस्या समाधान हुन्छन् त भन्ने प्रश्नमा दाहालले उत्तर दिए, ‘त्रिभुवन विश्व विद्यालयको आवश्यकता अनुसार विश्व विद्यालयले थेग्न थाम्न सक्ने अनुसार गर्ने हो । उहाँहरुको व्यवस्थापन अलि अस्तव्यस्त नै भएकोले त्यसलाई व्यवस्थापन गर्ने तरिकाले नै आउने हो।’

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्