वाइवाइ नेपाल स्टारको डिजिटल राउण्डको अन्तिम एपिसोड प्रसारणको तयारीमा

काठमाडौँ – नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ।

देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो राउण्डमा आफ्नो सहभागिता जनाएका थिए।

प्रशारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल राउण्डको चौथो तथा अन्तिम एपिसोड प्रसारण हुन बाँकी छ।

दोस्रो राउण्डको सुरुवात गर्नु अगावै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण काठमाडौँ अडिशनदेखिको प्रशारण मिति समेत सार्दै जेठ ३१ गतेदेखि फेरि थालिएको थियो।

वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताएका छन्।

नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिन्छ भने नेपाल टेलिभिजनकै युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्