व्यङ्ग्य

आधुनिक पञ्चामृत

काठमाडौँ– दूधसहित पाँच किसिमका पदार्थहरु मिलाएर र त्यसलाई राम्ररी घुलमिल दिलाएर तयार गरिएको अमृत सरहको सामग्रीलाई पञ्चामृत भनिन्छ।

यो अत्यन्त पवित्र, पोषक र कुनै पनि शुभ पूजा कार्यमा नभई नहुने पूजा सामग्री मध्येमा गनिन्छ र यसलाई पूजाको प्रसादको रुपमा खानको लागि नभई नहुने पदार्थ भनिन्छ । दूध, दही, घिउ, मह र चिनी गरी पाँच पदार्थको घुलनबाट तयार हुने यो सामग्री सबै भगवानको पूजामा नभई नहुने सामग्री हो।

यसलाई सबै भगवानको साथै पूजाको समाप्तिपछि प्रसाद ग्रहण गर्ने भक्तजनले समेत ज्यादै मन पराएर ग्रहण गरेको पाइन्छ।

पञ्चामृत बिना कुनै पनि पूजा गर्न सम्भव नभएकोले सबै पूजाहरुमा यसको ज्यादै महत्व पर्न गएको कुरा पुस्तौँ पुस्तादेखि आजको पुस्तासम्म सर्दै आएको र भविष्यमा यो बेगर पूजा टर्न सक्ने सम्भावना छैन।

पूजामा पञ्चामृत तयार गर्ने कार्य पुरोहित, पुजारी, ब्राम्हण वा पूजा गराउने पण्डितद्वारा गरिन्छ र पूजा सुरु हुनु अगावै भाँडोमा पञ्चामृत भरिन्छ । परापूर्वकालदेखि नै यो कार्य पूजा गराउने पण्डितहरुले गर्दै आएका छन् र यही परम्परा पुस्ता पुस्तामा झर्दै आएका छन्।

ब्राम्हणले तयार पार्ने भए पनि यसको उपलब्धताको लागि नगद झार्ने कामचाहिँ जजमानको हो । कर्ताले पूजाको लागि पञ्चामृत लगायतका पूजा सामग्रीको व्यवस्था गर्ने भए पनि यसको हर्ताकर्ताचाहिँ पुरोहित हुन्छन् र उनले नै यसमा के के कति कति मिसाउने निर्णय गर्ने हुनाले सामान थोरै भएमा कोही कोही पुरोहितहरु रिसाउने पनि गर्छन् अनि कोही कोहीचाहिँ भएकैबाट काम चलाउनेमा पर्छन् । कर्ताले सामान जुटाउने भए पनि पञ्चामृत तयार गर्ने कार्यचाहिँ पूर्णरुपमा पुरोहितकै भागमा पर्छ र उसैले यो कार्य सम्पन्न गर्छ।

अहिले काल बेला सयम फेरिएको र सबैजना आधुनिकताले घेरिएको हो कि भन्नेचाहिँ थाहा भएन । पञ्चामृत बनाउने र पूजाको लागि सबै सामग्री तयार भएको जनाउने पुरोहितको काम डेरीहरुले गर्न थालेको भर्खरै चाल पाएको हुनाले सबै उपभोक्ताहरुले नयाँ माल मिसिएको दूध बजारमा आएको थाहा पाए।

पञ्चामृतमा दूध, दही, घिउ, मह र चिनी वा सखर मिसाएर पुरोहितहरुले पञ्चामृत तयार गर्थे । डेरीहरुले तयार गर्ने आधुनिक पञ्चामृतमा चाहिँ दूध, सोडा, कास्टिक सोडा, नुन, चिनी, पानी, कोलिफर्म आदि जस्ता पदार्थहरु मिसाउने नगरेमा आधुनिक उपभोक्ताहरु रिसाउने हुनाले पञ्चामृत भन्दा पनि उत्कृष्ट सामान बजारमा उपलब्ध भइरहेको रहेछ।

यी पदार्थहरु राम्रोसित घोलेर र दिल खोलेर मिलाएर राखेपछि लामो समयसम्म नबिग्रने, नफाट्ने अनि टाढा टाढासम्म ढुवानी गर्दा पनि आधुनिक पञ्चामृतको बारेमा कसैले कुरा नकाट्ने पक्का हुने रहेछ । शहरमा भएका सबैजसो डेरी उद्योगहरुले उपभोक्ताको दैनिक खानपानदेखि पूजा आजासम्म राजाले खाने खालको पञ्चामृत उद्योगमै तयार गरेर बजारमा पठाउने गरेका रहेछन्।

पहिले पहिले खोलाको पानी, धाराको पानी, ढलको पानी, नालीको पानी, जहाँको भए पनि बगेको पानी, जमेको पानी आदि मिसाएर शुद्ध दूध बजारमा आउँछ रे भन्ने सुनिरहेका उपभोक्ताहरु रेडिमेड पञ्चामृत रुपी दूध घरघरमै उपलब्ध गराएकोमा डेरी उद्योगहरु प्रति कृतज्ञ भएका छन्।

अझ यसबाट पुरोहितहरुको त खुशीले भुइँमा खुट्टा पनि छैन । कुनै पनि पूजाको लागि उनीहरुले अब दूध, दही, घिउ, मह, चिनी जस्ता दुर्लभ बस्तुहरु खोज्न र बजारमा कुन चाहीँ राम्रो भनेर रोज्न नपर्ने भयो । दूधको प्याकेट ल्यायो, प्वाल पार्‍यो वा काट्यो, भाँडोमा खनायो र यसो अलिअलि चलाएर पञ्चामृत बनायो।

यो तरिकाले पञ्चामृत बनेर बजारमा आउने गरेको र डेरी उद्योगहरु उपभोक्ताहरुको पञ्चामृत तयार गर्ने सहयोगीमा परेको लामो समय भइसकेको रहेछ। उपभोक्ताहरुकै हक तथा हितको अत्यन्त गम्भीरतापूर्वक कदर गर्दै डेरी उद्योगहरुले पञ्चामृत तयार गर्ने तरिकालाई उहिलेदेखि नै सदर गरिरहेका रहेछन्।

दूधलाई बाक्लो बनाउन, दहीलाई बाक्लो बनाउन, महिलाई बाक्लो बनाउन आदिको लागि उनीहरुले आफ्नो छातीलाई अत्यन्त चाक्लो बनाएर सहयोग पुर्‍याइरहेका रहेछन् । यसरी चुपचापसित कुनै हल्ला खल्ला र प्रचार प्रसार समेत पनि नगरिकन उपभोक्ताहरुलाई सहयोग पुर्‍याउनु भनेको उनीहरुको उपभोक्ताप्रतिको असीम माया, ममता, स्नेह, प्रेम, सद्भावको साथै ज्यादै जिम्मेवारीबोध समेत भएको सबैको ठहर भएकाले सबैले अब यस्तै पञ्चामृत मात्रै खरिद गर्ने रहर गरेको भन्ने सुनिन्छ ।

कसैलाई थाहा नै नदिइकन र कुनै अतिरिक्त शुल्क नलिईकन वर्षौंसम्म उपभोक्ताहरुलाई यस्तो सुविधा दिनु चानचुने कुरा होइन। यस कार्यको लागि त यस्ता उद्योगीहरुलाई उचित पुरस्कारको व्यवस्था गर्नै पर्छ । अझ उचितै मात्रै होइन अति भव्य पुरस्कारको व्यवस्था गर्न पर्ने देखिन्छ । अन्यथा यति होनहार उद्योगी र जनहितलाई कदर गर्ने पञ्चामृत निर्माताहरु माथि अन्याय हुन जाने सम्भावना छ।

यति राम्रो र उदाहरणीय कार्य गरिरहेका र उपभोक्ताहरुलाई सुपथ मूल्यमा शुद्ध पञ्चामृत उपलब्ध गराउन लागि परिरहेका उद्योगीहरुको कार्य बारे सरकारले गरेको अनुगमनबाट मात्रै सार्वजनिक रुपमा जानकारी हुन आयो अनि सरकारदेखि सबै उपभोक्ताहरुले एकै चोटि चाल पायो।

दूध मात्रै किन्दा पनि थाहै नपाईकन पञ्चामृत पाइरहेका र खाद्य बस्तुसहित अन्य बस्तुहरु पनि खाइरहेका उपभोक्ताहरुले हालसालै सरकारबाट भएको अनुमगनबाट मात्रै थाहा पाएका हुन्।

शहरमा भएका झण्डै सय प्रतिशत नै डेरी उद्योगीहरुले उपभोक्ताहरुलाई धेरै पहिलेदेखि अहिलेसम्म शुद्ध पञ्चामृत खुवाइरहेको देखेर, सुनेर र प्रत्यक्ष रुपमा बुझेर सम्बन्धित मन्त्री पनि ज्यादै हर्षित भएछन् । मन्त्री त आफ्नो मन्त्रालयसँग सम्बन्धित उद्योगहरुबाट जनताले पञ्चामृत प्राप्त गरिरहेको र यस मार्फत् पूरा देश नै समृद्धिको दिशातिर अघि सरिरहेको देखेर प्रसन्न हुने नै भए।

अनुगमनमा जाने र अनुगमन पछि नियमअनुसार कारवाहीको लागि फाइल तयार गरेर लाने विभिन्न तहका कर्मचारीहरु त झनै खुशी भएको देखेर त्यस्तो अमूल्य पञ्चामृत खाने प्रत्येक उपभोक्ताहरु पनि खुशी भएको भन्ने खबर छ । जनताको आँखामा छारो हाल्ने आकश्मिक अनुगमन गरेर क्षणिक आनन्दको लागि काम देखाउने र प्रचार प्रसारको लागि पत्र पत्रिकामा सो बारेमा समाचार लेखाउने गरेको भनेर विरोधीले जति कराए पनि योचाहीँ ज्यादै नै प्रसंशनीय कार्य हो । अ

ब यति अनुगमन भएपछि पञ्चामृत उद्योगहरुबाट मन्त्रीदेखि हरेक तहका कर्मचारीहरुको खल्तीदेखि लिएर बैंक खातासम्म राम्रो पञ्चामृत उत्पादकहरुको नाताले निकै ठूलो दाता सरह नै अनुगमनको बही खाता त्यत्तिकै थन्काउने शर्तमा राम्रो योगदान भएपछि उपभोक्ताहरु साविक बमोजिमकै पञ्चामृत ग्रहण गर्न पाउने भाग्यमानीमा परिहाल्छन्।

बेलाबेलामा उद्योग, पसल, बजार आदि अनुगमन भइरहने र मन्त्रीदेखि कर्मचारीहरुसम्म पनि अनुगमनमा गइरहने गरेपछि उपभोक्ताहरुले सरकार, उद्योगी र व्यापारीहरुबाट कति राम्रो सुविधा र सहुलियतहरु पाइरहेका अनि कति पौष्टिक र कति स्वास्थ्यवर्धक पदार्थहरु खाइरहेका छन भन्ने छर्लंग हुन्छ ।

यस भन्दा अगाडि पनि मिठाई पसल, तरकारी बजार, सुनबजार, दरवार मार्गका पसल, राजमार्गका होटल, नाम चलेका गुँदपाक भण्डार, राजधानी बाहिर सदरमुकामका बजार, अन्य शहरहरुका बजार आदिहरुमा ज्यादै असरदार र प्रभावकारी ढंगबाट अनुगमन भएको अभिलेख र अनुभव सबैसँग छ।

निकै हल्ला खल्ला र तडक भडकसहित सडकमा गरिने अनुगमनको प्रभावकारिताको कारणले नै आम उपभोक्ताहरुले अति राम्रो सुविधा प्राप्त गरिरहेका छन्। विगतमा भए गरेका अनुगमनबाट मन्त्री र कर्मचारीहरुलाई चाहिँदैन, पर्दैन, हुँदैन, गर्दिंन, लिन्नँ भन्दा भन्दै पनि व्यापारीहरुले ज्यादै कर लगाएर राम्रै शुभलाभ गराए भन्ने बजार हल्ला छ।

ज्ञानी उपभोक्ताहरुलेचाहीँ यस्तो हल्लाको पछाडि दौडेर हिँड्नु हुँदैन । कुन्नि के भनेपछि कोट्याउनु भनेको आफ्नो फाइदालाई छोट्याउनु मात्रै हो । मन्त्रीले पनि राम्रोसित सबैकुरा बुझेकै छन् । कर्मचारीहरुले त अझ राम्ररी बुझेका छन् र यसमै राम्ररी रुझेका छन् । उद्योगी व्यापारीहरुले पनि राम्रोसित बुझेका छन् र उपभोक्ताले पनि राम्ररी बुझेका छन् । उत्पादन, वितरण, व्यापार, उपभोग, आम्दानी, नाफा, त्यसबाट सबैको हिस्सा आदिको हिसाब किताब मिलेपछि अनुगमन पनि एउटा मौसमी किस्सा हो भन्ने सबैलाई जानकारी भएकै विषय हो । यसलाई नौलो र आश्चर्यजनक कसैले पनि मानेका छैनन् र के के न जस्तो कसैले पनि ठानेका छैनन् ।

विगतमा देखाइएका र पत्र पत्रिकाहरुमा मिलाएर लेखाइएका अनुगमनबाट शतप्रतिशत सुधार आइसकेको अवस्थामा फेरि अनुगमन गरेर किन यति निस्वार्थी र इमानदार पञ्चामृत उद्योगीहरुलाई सताइएको होला भनेर राम्ररी बताइएको भए सबैको चित्त बुझ्थ्यो होला। यसैगरी खाद्यान्न, तेल, मिठाई, माछा मासु, लत्ता कपडा, इटा, सिमेन्ट, छड, तरकारी, मदिरा, होटल, रेष्टुरेन्ट, खुद्रा र थोक सामान बिक्री हुने स्थान आदि आदिमा गरिएका अनुगमनहरुबाट ज्यादै राम्रो प्रभाव परेको छ।

मन्त्री र कर्मचारीहरुले जनहितको नाममा आफ्नै हितको लागि यसरी बजार र उद्योगहरुमा पाउ कष्ट गरेर आफ्नै भाउ घटाएकोमा पञ्चामृत उद्योगीहरु त्यति खुशी छैनन् रे । त्यसो गर्नु भन्दा बरु बजार, पसल, उद्योगहरुमा साविक अनुसार विश्वासिलो विचौलिया सुराकी पठाएर कुरा मिलाएदेखि बसेकै ठाउँमा सबैको तह अनुसारको खुराकी उपलब्ध गराउन उनीहरु सधैँभरी तयार छन् भन्ने सन्देश पठाउने माध्यम पो खोज्दै छन् रे ।

यसो गरे पछि राष्ट्रिय समृद्धि र सुखी जनता सहितको रामराज्य पनि चल्छ र अनुमगनमा खटिनेहरुको खल्तीमा पनि कुन्नि के जाती हो फल्छ । जसले जे भने पनि पञ्चामृत उत्पादन गरेर र दूधको प्याकेटमा पञ्चामृत भरेर सस्तो दरमा घर घरमा उपलब्ध गराएकोमा उपभोक्ताहरु कृतज्ञ छन् । खानेले खाई राखौँ र खाने विचार गरेकाले जानकारी पाई राखौँ । आधुनिक पञ्चामृत ज्यादै स्वास्थ्यवर्धक छ ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्