च्याम्पियन्स लिग फुटबल आजदेखि सुचारु हुँदै, अगाडि बढ्ने होडमा रियल म्याड्रिड र युभेन्ट्स दबाबमा

प्रशिक्षण गर्दै युभेन्ट्सका खेलाडीहरु।

लन्डन- कोरोना भाइरसको महामारीका कारण स्थगित भएका युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि सुचारु हुँदै छ। प्रीक्वाटरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिड र युभेन्ट्सले लियोनको मैदानमा खेल्दै छ।

घरेलु मैदानमा उत्रने म्यान सिटी तुलानात्मकरुपमा कम दबाबमा छ। पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई २-१ गोलले हराएको थियो। रियल म्याड्रिडलाई अगाडी बढ्न सजिलो छैन।

उसले विपक्षीलाई कम्तिमा २ गोलअन्तरमा हराउनुपर्ने छ। कम्तिमा ३ गोल गरेर एक गोलअन्तरले विजयी भएमा पनि रियल म्याड्रिड अगाडि बढ्ने छ।

रियल म्याड्रिडलाई लगातार तीन सिजन युरोपियन च्याम्पियन बनाएर सन् २०१८ मा क्लबबाट बाहिरिएका प्रशिक्षक जिनेदिन जिदान दबाबमा छन्। उनी गत वर्ष रियल म्याड्रिडमा फर्किएका थिए। उनको प्रशिक्षणमा रियल म्याड्रिडले यो सिजन घरेलु लिग जितेको छ।

आफ्नो प्रशिक्षणमा बार्सिलोनालाई चार वर्षको अवधीमा तीन घरेलु लिग र दुई च्याम्पियन्स लिगको उपाधि जिताएर सन् २०१२ मा ला लिगाबाट बाहिरिएका पेप गार्डिओला यतिबेला म्यानचेस्टर सिटीको प्रशिक्षक छन्।

उनको प्रशिक्षकमा म्यान सिटीले च्याम्पियन्स लिग जित्न बाँकी छ। शुक्रबारको खेलमा रियल म्याड्रिडका कप्तान सर्जियो रामोस उपलब्ध हुने छैनन्। उनल‍े पहिलो लेगमा रातो कार्ड पाएका थिए। रियल म्याड्रिड सर्वाधिक १३ पटकको विजेता हो।

शुक्रबार राती हुने अर्को खेलमा युभेन्ट्स घरेलु मैदानमा लियोनविरुद्ध उत्रँदै छ। पहिलो लेगमा युभेन्ट्सले लियोनको मैदानमा १-० गोलको हार ब्यहोरेको थियो। क्रिस्टियानो रोनाल्डो आबद्ध युभेन्ट्सले यो सिजन घरेलु लिगको उपाधि जितिसकेको छ। उसले २४ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन।

प्रिक्वार्टरफाइनलका खेलहरु शनिबार सकिँदैछन्। शनिबार हुने खेलमा बार्सिलोनाले नापोली र बायर्न म्युनिखले चेल्सीसँग प्रतिस्पर्धा गर्दै छ। पहिलो लेगमा नापोलीसँग उसको मैदानमा बार्सिलोनाले १-१ गोलको बराबरी खेलेको थियो भने चेल्सीको मैदानमा उत्रिएको बायर्न ३-० गोलले विजयी भएको थियो।

जर्मन क्लब आरबी लेइपजिग, स्पेनिस क्लब  एट्लेटिको म्याड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन-पीएसजी र इटालियन क्लब एटालान्टा क्वाटरफाइनल पुगिसकेका छन्। एट्लेटिकोले साविक विजेता लिभरपुललाई हराएको थियो।

प्रतियोगिताको क्वाटरफाइनलदेखिका खेल वन लेग सिस्टममा सन्चालन हुने युरोपियन फुटबल महासंघ-यूईएफएले जनाएको छ।

 

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्