बाँकेमा ४९ जना कोरोना संक्रमित थपिए, निषेधाज्ञा थप तीन दिन बढाइयो

नेपालगञ्ज – भेरी अस्पतालमा गरिएकाे परीक्षणमा थप ५१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। ५१ मध्ये ४९ जना बाँकेका र एक–एक जना बर्दिया र रुकुमका छन्।

भेरी अस्पतालकाे प्रयाेगशालामा ३ सय १२ वटा नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएकाे हो।

केहीदिन यता बाँकेमा दैनिक ठूलो संख्यामा संक्रमित फेला परिरहेका छन्। आज भेटिएका संक्रमितमध्ये महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा बसेका धेरै छन्।

बिहीबार मात्रै बाँकेमा २८ जना कोरोना संक्रमित  थपिएका थिए।

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै समय बढाइरहेको छ। बाँकेमा तेस्रो पटक निषेधाज्ञा तीन दिन बढाइएको छ।

गत शनिबारदेखि तीन दिनका लागि लागेको निषेधाज्ञा दोस्रो पटक चार दिन बढाएर शनिबारसम्म पुर्‍याइएको थियो। शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप तीन दिन बढाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मंगलबार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए।

पसल सञ्चालन गर्ने, अटोरिक्सा चलाउने, मोटरसाइकल चलाउने, मास्क नलगाउनेलाई प्रहरीले कारबाही अभियान चलाएको छ। बिहीबार एक सय १ सय १७ जनालाई कारबाही गरेको प्रहरीले शुक्रबार पनि निषेधाज्ञा उल्लंघन गर्नेलाई समातिरहेको छ।

साउन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्