रामहरि श्रेष्ठ हत्यामा जनमुक्ति सेनाका बिग्रेडियर कमाण्डर बटालालाई सफाई दिने सर्वोच्चको फैसलामाथि प्रश्नैप्रश्न

काठमाडौँ- सर्वोच्च अदालतले रामहरि श्रेष्ठको हत्यामा तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन, शक्तिखोरका बिग्रेडियर कमाण्डर गोविन्दबहादुर बटाला ‘जीवित’लाई दुई तहका अदालतको फैसला उल्टाउँदै सफाई दिने निर्णय विवादपूर्ण देखिएको छ।

सर्वोच्चका न्यायाधीशद्धय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले २०७६ फागुन १८ गते बटालालाई आरोपबाट सफाई दिने फैसलाको पूर्णपाठ हालसालै बाहिर आएको छ। फैसलामा भनिएको छ- प्रतिवादी जीवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनैपनि तथ्य प्रमाणबाट खुल्न आएको देखिँदैन।

फैसलाका थप विवरणअघि घटना के थियो भन्नेबारे बुझ्नु जरुरी छ। सर्वोच्चको फैसला कति प्रश्न योग्य छ भनेर बुझ्नु अघि  आरोपित बटालाले स्वीकार गरेका घटनाक्रमबारे जान्नु आवश्यक देखिन्छ।

जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालय श्रेष्ठको कोटेश्वरस्थित घरमा विगत २ वर्षदेखि बसिरहेको थियो। मृतक श्रेष्ठकी श्रीमती रमिलाका अनुसार २०६५ बैशाख १५ गते राती २ बजे बटालासहितका माओवादी कार्यकर्ताले केही बुझ्नु छ भन्दै श्रेष्ठलाई लगेका थिए।

अनुसन्धान प्रतिवेदनमा बटालाले गरेको बयानअनुसार २०६४ चैत १४ गते राती १२ बजे जनमुक्ति सेनाको तेस्रो डिभिजन सम्पर्क कार्यालयमा कालिबहादुर खामका अंगरक्षकलाई नियन्त्रणमा लिई तीन जनाको समूहले एउटा पेस्तोल र १७ लाख रुपैयाँ लुटिएको थियो।

त्यसको तीन दिनपछि श्रेष्ठको घरमा रहेको ट्वाइलेटको खाडलमा गंगाराम थापाको टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख र भर्‍याङमुनि पेस्तोल भेटिएको थियो।

तेस्रो डिभिजन कार्यालयले अनुसन्धानका लागि खटाएकाले बटालाले वैशाख ७ गते काठमाडौँ आई सामान्य सोधपुछ गरि फर्किएकामा वैशाख १५ गते राति २ बजे श्रेष्ठसहित सोही घरमा बस्ने गंगाराम र केशव अधिकारीलाई लिएर शक्तिखोर शिविरमा लगेको र त्यहाँ सोधपुछ गरेको बताएका छन्।

सोधपुछमा श्रेष्ठले चोरी स्वीकार गरेपनि बाँकी दुईजनाले स्वीकार नगरेको तर अलिक कडा रुपमा प्रस्तुत भएपछि वैशाख २७ गते गंगाराम र केशवले पनि स्वीकार गरेको बटालाको बयान छ। तीनैजनालाई एउटै कोठामा राखिएको र वैशाख २८ गते राती ९ बजे उनीहरु रहेको कोठा खोली हेर्दा श्रेष्ठको टाउको, छाती र तिघ्रालगायतमा चोट देखिएको बटालाले आफ्नो बयानमा भनेका छन्।

केशव र गंगारामले घटनाको पोल खोलेको भन्दै श्रेष्ठलाई पिटेको बताएको बटालाको दाबी थियो। उपचारका लागि काठमाडौँ ल्याउँदा नारायणगढ-मुग्लिन सडक खण्डको भालुढुंगामा श्रेष्ठको मृत्यु भएको र त्यतिबेला साथमा रहेका केशव र गंगारामले श्रेष्ठलाई खोलामा फाली दिउँ भनेको तर आफूले शक्तिखोर नै फर्काउँ भनेको बटालाको बयानमा छ। बटालाका अनुसार डिभिजन कार्यालयलाई श्रेष्ठको मृत्युबारे गाडीबाट ओर्लिएर केही पर गएर जानकारी दिएर फर्कँदा गाडीमा न शव थियो न त केशव र गंगाराम नै।

२०६५ जेठ १२ गते चितवनको जुगेडीस्थित त्रिशुली नदीमा श्रेष्ठको शव भेटिएको थियो। स्थानीय भगवती सुवेदीले शव देखेर प्रहरीलाई खबर गरेकी थिइन्। त्यसको तीन दिनपछि मृतककी श्रीमती रमिलाले महाराजगन्जस्थित फोरेन्सिक डिभिजन विभागमा श्रेष्ठको शव सनाखत गरेकी थिइन्। त्रिवि शिक्षण अस्पतालले टाउकोमा गम्भिर चोटका कारण श्रेष्ठको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएको थियो।

थाहा पाउनैपर्ने अन्य घटना

मृतककी श्रीमती रमिलाका अनुसार २०६५ वैशाख १५ गते राती माओवादी कार्यकर्ताले केही कुरा बुझ्नु छ, हाम्रा कमाण्डर कालिबहादुर खाम ‘विविध’ ले ल्याउनु भनेको छ भन्दै श्रेष्ठलाई लगेका थिए।

रमिलाले खामलाई सम्पर्क गर्दा सोधपुछपछि फिर्ता गरिदिन्छौ भन्ने जवाफ पाएको बयानमा उल्लेख गरेकी छिन्। २०६५ वैशाख २५ गते बटालाले श्रीमानसँग एकपटक फोन सम्पर्क गराएको, त्यतिबेला श्रेष्ठको स्वर बिरामीको जस्तो सुनिएको र बटालाले ४/५ दिनमा फर्काई दिन्छु भन्ने जवाफ दिएको रमिलाको बयान छ। जेठ २ गते शक्तिखोरबाट फोन गरि मान्छे बुझ्न आउनु भनेपछि आफू गएको तर खामले तिम्रो श्रीमानको मृत्यु भएको र नारायणी नदीमा फ्याँकी दिएको बताएको मिसिलमा उल्लेख छ।

२०६५ वैशाख २५ गते राति पौने ९ बजे शिक्षण अस्पताल भरतपुरमा चितवनको जुटपानी-३ ठेगाना लेखाएर रामहरी श्रेष्ठ नामका बिरामी भर्ना गरिएको विषयमा पनि प्रहरी अनुसन्धान केन्द्रित भएको थियो। अस्पतालका अनुसार ती रामहरीलाई  ३/४ जनाको समूहले ल्याएका थिए। ती व्यक्तीको भोलिपल्ट मृत्यु भएको थियो। उनको उपचारमा खटिएका डाक्टर अमन अग्रवालले मृतक श्रेष्ठको ढाडमा दुई ठाउँमा निलडाम भएको बयान दिएका थिए।  शिक्षण अस्पताल भरतपुरले प्रहरीलाई पठाएको पत्रमा ती रामहरि श्रेष्ठको रक्तचाप र मृगौला फेल भएका कारण निधन भएको उल्लेख थियो।

त्रिवि शिक्षण अस्पतालमा राखिएको रामहरि श्रेष्ठको शव र आफ्नो अस्पतालमा उपचारका लागि ल्याइएका रामहरि श्रेष्ठ उस्तै उस्तै देखिएको तर यकिन गरि भन्न नसक्ने डाक्टर अग्रवालले बयान दिएका थिए। उनले उपचारका क्रममा मृत्यु भएका रामहरि श्रेष्ठ र त्रिवि शिक्षण अस्पतालको मर्चरीरुपमा राखिएको मृतक रामहरि श्रेष्ठको शवको शारीरिक बनोट, उमेर, नाम मिल्दोजुल्दो देखिएकाले उक्त लास र हामीहरुले उपचार गर्दागर्दै मृत्यु भएका व्यक्ति एउटो हो जस्तो लागेता पनि किटानीसाथ भन्न सक्दैनौँ भन्ने बयान दिएका थिए।

शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको भनिएका रामहरि श्रेष्ठबारे प्रहरीले उनको ठेगाना उल्लेख गरिएको जुटपानी गाविससँग पनि बुझेको थियो। जुटपानी गाविसले जुटपानी -३ मा २०७५ साल बैशाख २६ गते कसैको पनि मृत्यु नभएको र रामहरि श्रेष्ठ भन्ने व्यक्ति रहेको तर जीवित रहेको व्यहोराको जवाफ पठाएको थियो। बटालाले कोटेश्वरबाट ल्याइएका रामहरि श्रेष्ठ वैशाख १५ गतेदेखि आफूसँगै रहेको र शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएका रामहरिलाई आफूले नचिन्ने बताएका थिए।

जिल्ला अदालतले जीवितलाई ३ वर्ष कैद सुनाएको थियो। जिल्लाको फैसला तत्कालिन पुनरावेदन अदालतले सदर गरेको थियो। त्यसपछि जीवित सर्वोच्च अदालत पुगेका थिए। उनी तल्ला अदालतले सुनाएको सजाय काटेर बाहिर आइसकेका थिए।

अब हेरौँ सर्वोच्चले जीवितलाई सफाई दिनुको आधार 

‘उक्त वारदातमा को कस्को संलग्नता थियो भन्ने सन्दर्भमा विचार गर्दा प्रतिवादी जिवित भन्ने गोविन्दबहादुर बटालाको हकमा हेर्दा, यी प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा जनमुक्ती सेना तेस्रो डिभिजन सम्पर्क कार्यालय, जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका, वडा नम्बर ३५ कोटेश्वर निवासी रामहरी श्रेष्ठको घरमा रहेकामा मिति २०६४/१२/१४ गते राती १२ बजेको समयमा कालिबहादुर खामको अंगरक्षकलाई ३ जनाले नियन्त्रणमा लिई नगद १७ लाख र पेस्तोल १ थान चोरी भएकोमा सोही चैत्र १७ गते सो घरको ट्वाइलेटको खाडलमा गंगाराम थापाको टिसर्टमा पोको पारेको अवस्थामा १७ लाख र भर्‍याङमुनीबाट पेस्तोल फेला परेको घटनाको अनुसन्धानको लागि आफुलाई तेस्रो डिभिजन कार्यालयले खटाएको हुँदा २०६५/०१/७ गते काठमाडौं गई सोधपुछ गरि फर्किएकामा बैशाख १५ गते पुन काठमाडौं गई राती २ बजे रामहरी श्रेष्ठ, केशव अधिकारी र गंगाराम थापालाई लिई शिविरमा ल्याई सोधपुछ गर्दा रामहरी श्रेष्ठले चोरी गरेको कुरा स्विकार गरेको र अन्य प्रतिवादीहरुले स्विकार गरेका थिएनन्। २७ गते कडारुपमा प्रस्तुत भएपछि अन्यले पनि चोरी गरेको कुरा स्विकार गरेका थिए। २८ गते राती कोठा खोली हेर्दा रामहरी श्रेष्ठको टाउको, छाती, तिघ्रालगायतमा चोट थियो। घटनाको पोल खुलेको कारण पिटेका हौँ भनि गंगाराम र केशव अधिकारीले आफुलाई बताएपछि उपचारका लागि गाडीमा राखी काठमाडौंतर्फ ल्याउँदा नारायणगण-मुग्लिन सडकखण्डको भालु ढुंगा पुगेपछि निजको मृत्यु भएकाले लासलाई शिविरतिर फर्काउन खोजेकामा गंगाराम र केशवले लासलाई नारायणी नदीमा फालि दिने कुरा गरेकामा मैले सहमती नदिएपनि उनिहरुले लासलाई तन्नामा राखी ढुंगा हाली झोलुङ्गे पुलको बीचबाट नारायणी नदीमा फालेका हुन् भन्नेसमेत ब्यहोराको गोविन्दबहादुर बटालाले अधिकारप्राप्त अधिकारीसमक्ष तथा अदालतमा कसुरमा इन्कारी बयान गरेको देखिन्छ। प्रतिवादी जिवित भन्ने गोविन्दबहादुर बटालाले कुटपिट गरेको भन्ने मिसिल संलग्न कुनैपनि तथ्य प्रमाणहरुबाट खुल्न आएको देखिँदैन। नीज प्रतिवादीलाई मृतकलाई कुटपिट गरेको होइन भनी बयान गरेको देखिन्छ। आरोपित कसुरमा नै साविती हुनु र सम्बद्ध तथ्यलाई सम्म स्वीकार गर्नु पृथक कुरा हो। तथ्यको स्वीकारोक्तीलाई  नै साविती सरह निजको विरुद्ध प्रमाणमा ग्रहण गर्न मिल्ने होइन। निज प्रतिवादीले उक्त चोरीको घटनाका सम्बन्धमा छानबिन गर्न आफुलाई खटाइएकोमा सोधपुछसम्म गरेको भनी तथ्या स्विकार गरेकालाई कसुर स्विकार गरेको भनि अर्थ गर्न मिल्ने देखिँदैन। अर्का प्रतिवादी संकल्प भन्ने अर्जुन कार्कीले अदालतमा  बयान गर्दा आफु ड्राइभर भएको र विरामीलाई उपचारका लागि लान पर्‍यो भनी जिवित भन्ने गोविन्द बहादुर बटालाले बोलाउनु भएपछि आई विरामी लिएर काठमाडौं जान भनि जिवित, आफु, एटम, रघु भै आएका र बाटामा आएपछि विरामी रामहरी श्रेष्ठ हुन् भन्ने थाहा पाएको हुँ। रामहरी मरेजस्तो छ भनि कुरा गरेका र दासढुंगाभन्दा अगाडि पुगेपछि गाडी रोक्न लगाई जिवित सरले हेडक्वार्टरमा फोन गर्न बाहिर निस्कनु भयो। आफु पनि ट्वाइलेट गई फर्की गाडीमा आईपुग्दा रघु र एटम दुवै जना थिएनन् कुटपिटको बारेमा आफुलाई थाहा नभएको भनि यी प्रतिवादी जिवित भन्ने गोविन्दबहादुर बटालालाई पोल गरेको पनि देखिँदैन। शंकारहित पुष्टि गर्ने प्रमाणको भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादी जिवित भन्ने गोविन्दबहादुर बटालाले कसुर गरेको कुरा वस्तुनिष्टरुपमा वादी पक्षले पुष्टी गर्न सकेको देखिँदैन। वारदातबारे प्रतिवादी स्वयंमले नै जानकारी दिएपछि मात्र किटानी जाहेरी दिएको देखिन्छ। जाहेरी जे जस्तो पृष्ठभूमीमा परेपनि सोलाई अन्य स्वतन्त्र प्रमाणबाट समर्थन र पुष्टी नभएसम्म जाहेरी आफैमा प्रमाण हुन सक्दैन। जाहेरी अन्य कुनै प्रमाणबाट समर्थित नभएको अवस्थामा यसको प्रामणिक मुल्य रहेको मान्न मिल्दैन। जाहेरी दरखास्त घटना भएको वा घटना घट्ने सम्भावना रहेको अवस्थामा प्रारम्भिकरुपमा सुचित गर्ने माध्यम  हो। यी प्रतिवादीको संलग्नता रहेको भनि दिएको जाहेरी अन्य कुनै प्रमाणबाट समर्थित नभएको अवस्थामा केवल जाहेरी दरखास्त मात्रको आधार लिई कर्तव्य ज्यानजस्तो गम्भिर अपराधमा दोषी ठहर गर्न मिल्ने देखिएन। वारदातको प्रकृति हेर्दा काठमाडौं महानगरपालिका-३५ कोटेश्वरस्थित रामहरी श्रेष्ठको घरमा रहेको जनमुक्ती सेना तेस्रो डिभिजन सम्पर्क कार्यालयमा मिती २०६४/१२/१४ गते राती भएको हतियार र नगद रुपैयाँको चोरीको आरोपमा संलग्न केशव अधिकारी, गंगाराम थापा र रामहरी श्रेष्ठलाई छानबिनको लागि ब्रिगेडियर कमाण्डर जिवित भन्ने गोविन्दबहादुर बटालाले चितवनस्थित शक्तिखोरमा लगि एउटै कोठामा थुनी राखेको बखत चोरीको रहस्य किन खोलेको ? भनि प्रतिवादी गोविन्दबहादुर बटालाले देखि थाहा पाई सोबारे शक्तिखोरस्थित हेडक्वार्टरमा रिपोर्टिङ गरि उपचार गर्न निजलाई गाडीमा राखि लैजाँदै गर्दा बीच बाटोमा नै निजको मृत्यु भएपछि अब लासलाई  नारायणी नदीमा फालिदिने भनि अन्य दुई प्रतिवादीले भनेको कुरामा प्रतिवादी गोविन्दबहादुर बटालाले सहमती नजनाएको र रामहरीको मृत्युको बारेमा शक्तिखोरस्थित हेडक्वार्टरमा जानकारी दिन निज गाडीबाट ओर्लि मोबाइलमा कुरा गर्न अली पर गएका बखत प्रतिवादी गंगाराम र केशव अधिकारीले नजिकैको नारायणी नदिमा फालेको भन्ने रहेको छ। वारदाताको उक्त अवस्थालाई विचार गर्दा, प्रतिवादी गोविन्दबहादुर बटालाले आफ्नै तेस्रो डिभिजनको कार्यालयबाट नगद र हतियार चोरी भएको विषयमा छानबिन गर्न तीनै जनालाई काठमाडौं कोटेश्वरबाट चितवनस्थित शक्तिखोरमा लगेको देखिन्छ। सो वारदाताको विषयमा निजले मृतकलगायत अन्य प्रतिवादहरुसँग शक्ति प्रयोग गरेर कुनै केरकार गरेको पनि देखिँदैन। प्रतिवादी गोविन्दबहादुर बटालाले मृतकलाई कुटपिट गरेको र गर्न लगाएको अवस्था समेत छैन। मृतक रामहरीसहित अन्य २ जना प्रतिवादीि गंगाराम र केशव अधिकारीलाई एउटै कोठामा थुनी राखेको अवस्थामा निजको मृत्यु भएको अवस्था छ। मिती २०६५/०१/२८ गते निजहरुमा थुनामा राखेको कोठा खोली हेर्दा मृतक रामहरी कुटपिटबाट मरणासन्न अवस्थामा रहेको देखि प्रतिवादी गोविन्दबहादुर बटालाले उपचार गर्न तत्कालै गाडीमा राखि अस्पताल लगेको र जाँदाजाँदै मृतक रामहरीको बाटोमै मृत्यु भएको देखिन्छ। निजको मृत्युपछि तत्कालै लासलाई चितवनस्थित शक्तिखोरमा नै फर्काउने वा के गर्ने भन्ने सम्बन्धमा प्रतिवादी गोविन्द बटालाले हेड अफिस शक्तिखोरमाम कुरा गर्न लाग्दा अन्य प्रतिवादीहरुले लासलाई नारायणी नदीमा फालि दिने कार्यमा प्रतिवादी गोविन्दबहादुर बटालाको सल्लाह र सहमती भएको र निजले लासलाई नारायणी नदीमा फालेको कार्यसमेत गरेको देखिदैन। वारदातको उपरोक्त कुनै पनि शृंखलाको कुनै चरणमा पनि प्रतिवादी गोविन्दबहादुर बटालाको मृतक रामहरी श्रेष्ठलाई मार्ने र फाल्नेसम्मको कार्यमा संलग्नता रहेको नदेखिँदा प्रस्तुत वारदातमा निज कुनैपनि प्रकृतिको कसुरदार रहे भएको देखिन आउँदैन’ , सर्वोच्चले गरेको फैसलाको पुर्ण पाठमा उल्लेख छ।

आशंका र प्रश्नको शृंखला, को थिए भरतपुर अस्पतालमा मृत्यु भएका रामहरी श्रेष्ठ ?

पहिलो कुरा त,  तत्कालीन नेकपा माओवादी शान्ति प्रकृयामा आईसकेको अवस्थामा जनमुक्ती सेनाले सर्वसाधारणलाई  मध्यरात काठमाडौँमा पेस्तोल देखाएर घरबाटै उठाएर लगेको र शक्तिखोरमा ‘हिरासत’मा राखेको विषयलाई सर्वोच्च अदालतले ‘कानूनी’ सरह हेरेको छ।

समग्र घटनामा आरोपीको बयानबाहेक कोटेश्वरका रामहरि श्रेष्ठको मृत्यु कहाँ भएको थियो भन्ने स्वतन्त्र पुष्टि भएको छैन। शक्तिखोरको हिरासतमै मृत्यु भएको थियो की बाटोमा मृत्यु भएको थियो भन्नेबारे अनुसन्धानले केही खुलाउन सकेको थिएन। बरु सर्वोच्चले फैसलामा ‘मृतक रामहरीसहित अन्य दुईजना प्रतिवादी  गंगाराम र केशव अधिकारीलाई एउटै कोठामा थुनी राखेको अवस्थामा निजको मृत्यु भएको अवस्था छ’  भनिदिएको छ।

सर्वोच्चले फैसलामा श्रेष्ठ हत्यामा  बटालाको संलग्नता नरहेको र उनले नियन्त्रणमा लिएका तीनैजनालाई कुनै यातना नदिएको उल्लेख गरेको छ। जबकी बटाला आफैले रामहरी श्रेष्ठले चोरीमा संलग्नता स्विकारे पनि अन्य दुई जनाले नस्वीकारेपछि  आफू अलिक कडारुपमा प्रस्तुत भएपछि उनिहरुले पनि स्वीकारेको बयान दिएका थिए। बटालाका अनुसार श्रेष्ठले चोरी स्विकार गरेकै आधारमा उनलाई बाँकी दुईजनाले कुटपिट गरि मरणासन्न बनाएका थिए। सर्वोच्चको फैसलामा श्रेष्ठको शव फाल्ने कार्यमा    बटालाको कुनै संलग्नता नरहेको उल्लेख छ।

तेस्रो डिभिजनलाई श्रेष्ठको मृत्युबारे जानकारी दिन बटालाले गाडीबाट ओर्लिएर अलिक पर पुगेर फोन गरेर फर्कँदा गंगाराम र केशव शव फ्याँकेर त्यहाँबाट भागिसकेको उल्लेख छ। जबकी  अनुसन्धान गरेको प्रहरी निकायलाई जनमुक्ति सेना तेस्रो डिभिजनले चोरी घटनाबारे आरोपितले संलग्नता स्विकार गरेको र दुई जनाले मरणासन्न हुने गरि पिटेपछि अस्पताल लैजाँदै गर्दा श्रेष्ठको मृत्यु भएकोबारे वैशाख ३१ गतेमात्र डिभिजन कमाण्डरलाई जानकारी भएको जवाफ पठाएको स्वयं सर्वोच्चको फैसलाको पूर्ण पाठमा उल्लेख छ। सर्वोच्चले बटालालाई सफाई दिनका लागि कसुरमा उनले दिएको इन्कारी बयान र चालक भनिएका अर्जुन कार्कीले बटालाको पक्षमा दिएको बयानलाई नै आधार बनाएको छ।

सर्वोच्चले  २०६५ वैशाख २६ गते शिक्षण अस्पताल भरतपुरमाम मृत्यु भएका भनिएका रामहरि श्रेष्ठको बारे भने केही बोलेको छैन जबकी ती व्यक्तिको उपचारमा खटिएका चिकित्सकले  कोटेश्वरका रामहरि श्रेष्ठको शव हेरेपछि दुवै रामहरि श्रेष्ठको उमेर, शारिरिक बनावट मिल्ने तर आफूले एउटै व्यक्ति हो भनेर यकिन गर्न नसक्ने बयान दिएका छन्। ती चिकित्सकले शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएका रामहरि श्रेष्ठको ढाडमा निलडामसमेत रहेको बताएका थिए।

मृतककी श्रीमती रमिलाका अनुसार २०६५ वैशाख २५ गते बटालाले श्रेष्ठलाई उनीसँग फोनमा सम्पर्क गराएका थिए जसमा श्रेष्ठको आवाज विरामीजस्तो सुनिएको उनले बयानका क्रममा बताएकी थिइन्। सोही राति शिक्षण अस्पताल भरतपुरमा चितवनको जुटपानी-३ ठेगाना लेखाएर रामहरि श्रेष्ठ भन्ने व्यक्ति उपचारका लागि भर्ना गरिएका थिए जसको भोलिपल्ट मृत्यु भएको अस्पतालको रेकर्डमा छ। जुटपानीले प्रहरीलाई पठाएको पत्रमा वैशाख २६ गते आफ्नो गाविसमा कसको मृत्यु नभएको र रामहरि श्रेष्ठ नाम भएको व्यक्ति गाविसमा रहेको तर जीवित भएको उल्लेख थियो।

यदी शक्तिखोरको एक कोठामा रामहरि श्रेष्ठमाथि केशव र गंगारामले निर्घात कुटपिट गरेको भए पिटिरहँदा वरिपरिकाले कसरी थाहा पाएनन् ? बटालाले घटनाबारे थाहा पाएपछि किन नजिकैको अस्पताल नपुर्‍याएर काठमाडौँ ल्याउन खोजे ? श्रेष्ठलाई उपचारका लागि काठमाडौँ ल्याउँदा अनुसन्धानका लागि राखिएका केशव र गंगारामलाई पनि किन साथमै ल्याइएको थियो ? बाटामा कुन हिम्मतका साथ केशव र गंगारामले शव नदीमा फ्याँक्ने प्रस्ताव गरे ? अझ आश्चर्य त यो योजना उनिहरुले सुनाइरहँदा गाडी रोकेर बटाला किन अलिक पर पुगेर घटनाबारे शक्ति खोरलाई जानकारी दिन खोजे ? चालक पनि त्यतिबेलै गाडीभन्दा केही पर गएको भनि दिएको बयान कति विश्वसनीय छ ?

फेरि पनि, प्रहरी अनुसन्धानले रामहरि श्रेष्ठको मृत्यु कहाँ भएको थियो भनि यकिन गर्न सकेको थिएन। यता सर्वोच्च अदालतले फैसलामा एकातर्फ कोठाभित्रै रामहरीको ज्यान गएको उल्लेख गर्छ भने अर्कातर्फ आरोपीले बताएका घटनाक्रम र इन्कारी बयानलाई पत्याएर बटालालाई सफाई दिएको छ। उता बटालालाई  सफाई दिइरहँदा सर्वोच्चले चालक अर्जुन कार्कीलाई २० रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला सदर गरेको छ।

फैसलामा भनिएको छ,’प्रमाणको भार शंकारहित तवरले पुष्टि गर्ने भार वादी पक्षमा रहने भएकोले यी प्रतिवादी संकल्प भन्ने अर्जुन कार्कीले कसुर गरेको कुरा वस्तुनिष्ठरुपमा वादी पक्षले पुष्टि गर्न सकेको देखिँदैन। यी प्रतिवादी ड्राइभर भएकाले वारदातमा निजको कुनै संलग्नता नरहेको भनि बयान गरे तापनि आफ्नो गाडीमा रहेका मृतक रामहरि श्रेष्ठको मृत्युको बारेमा यी प्रतिवादीहरुलाई उसैबेला जानकारी नभएको भन्न नमिल्ने हुँदा र सो कुरा निजले जाहेरसम्म गरेको नदेखिँदा सुरु चितवन जिल्ला अदालतले निज प्रतिवादी संकल्प भन्ने अर्जुन कार्कीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५ नं बमोजिम कसुर कायम गरि सोही बमोजिम सजाय गरेको फैसला सदर गरेको पुनरावेदन अदालत हेटौँडाको फैसला मनासिव नै देखिएकाले अन्यथा गरिरहन परेन।’

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्