ललितपुरको गाेमती खाेला बन्दै छ हाइकिङ र पर्यटकको केन्द्र (तस्बिरहरु)

ललितपरको महालक्ष्मी नगरपालिका–९ मा रहेको गोमती खोलाको मुहानस्थित झरना, स्थानीयले सुँगुरेको खोल्चो भन्ने यो क्षेत्र पछिल्लो समय घुम्न रुचाउनेहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरहरु : टंक ढकाल/देश सञ्चार

काठमाडौँ – दक्षिण ललितपुरको महालक्ष्मी नगरपालिका–९ मा रहेको गोमती खोलाको मुहान पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

काठमाडौँ वरपर हाइकिङ्ग र साइक्लिङ्ग गर्नेहरुका लागि गोमती खोलाको मुहानमा रहेको झरनाले लोभ्याउने गरेको हो ।

स्थानीय बासिन्दाका लागि खाने पानीको स्रोतका रुपमा रहेको गोमती खोलाको मुहान घुम्न जानेका लागि मनोरम दृष्यले भरिएको क्षेत्रका रुपमा रहने गरेको छ ।

बढ्दो आकर्षणलाई मध्यनजर गरेर वडाकार्यालयले दुई वर्षअघि पैदल मार्ग बनाए पनि अहिलेसम्म थप व्यवस्थापन हुन सकेको छैन ।

वडाध्यक्ष वासुदेव शर्मा गौतम भने आफूहरु सो क्षेत्रको पर्यटकीय सम्भावनालाई समेटेर हाइकिङ्ग तथा साइक्लिङ्ग मार्ग बनाउने तयारीमा रहेको र त्यसका लागि डिपिआर पनि तयार भएको बताउँछन् ।

वडाध्यक्ष गौतमले भने, ‘स्थानीय बासिन्दाका लागि झरना होइन, त्यो गोमती खोलाको मुहान हो । तर घुम्न आउनेका लागि सुन्दर झरना बनेको छ । हामीले सो क्षेत्रको धार्मिक–पर्यावरणीय तथा प्राकृतिक महत्वलाई समेटर व्यवस्थित मार्ग बनाउने र पर्यटकीय सम्भावनाको विकास गर्ने तयारी गरेका छौँ ।’

गोमती खोला तलको घिमिरे बस्तीका लागि पानीको स्रोतका रुपमा रहेको गोमती खोलाको मुहानलाई संरक्षण गर्ने र पर्यटकलाई पनि सहज हुने गरी व्यवस्थापनको काम भइरहेको उनले बताए।

गोमती सामुदायिक वन भित्र रहेको सो झरनालाई स्थानीय बासिन्दाले सुँगुरेको खोल्चो पनि भन्ने गरेको वडाध्यक्ष गौतमले जानकारी दिए ।

गोमतीको मुहानमाथि समथर ठाउँ रहेको र त्यहाँको भैरव कुण्डलाई व्यवस्थित गरी पैदल तथा साइक्लिङ्ग मार्गमा पार्ने गरी काम भइरहेको उनले बताए ।

वडाध्यक्ष गौतमले भने, ‘गोमती खोलाको मुहान (झरना) माथि समथर ठाउँ छ र त्यहाँ परम्परादेखि भैरवको दायाँ पाइताला आकारको कुण्ड छ । सो कुण्डमा पानी कहिल्यै टुट्दैन । त्यसलाई व्यवस्थित गर्ने गरी त्यहाँ पार्क बनाउने योजनामा छौँ ।’

गोमती खोला र ऋङ्मती खोलाले समेटेको क्षेत्रलाई मिलाएर पर्यटकीय मार्ग बनाउने तयारी रहेको जानकारी वडा कार्यालयले दिएको छ ।

वडाध्यक्ष गौतमले भने, ‘गोमती खोलाको अर्को तर्फ पातले सामुदायिक वन छ । त्यहाँ सिंह ऋषिको गुफा छ । सो गुफाबाट ऋङ्मती खोला बग्छ । एक किलोमिटर दल आएर गोमती र ऋङ्मती खोला मिल्छन् अनि दोभान खोला बन्छ । त्यहाँ ब्रह्मेश्वर पान्चायनको मन्दिर छ । हामीले यो सबै क्षेत्र समेट्ने गरी पैदल तथा साइक्लिङ्ग मार्ग बनाउने र यात्रुलाई विश्रामका लागि भैरव कुण्डमा पार्क बनाउने योजना तयार पारेका छौँ ।’

सो मार्गमा अनन्तलिंगेश्ह्वर महादेवको मन्दिरलाई पनि जोडिएको उनले बताए।

पर्यटकीय सम्भावनाका लागि विकास निर्माणका काम हुँदा जैविकविविधता र वातावरणीय संरक्षणलाई ख्याल गरिने दाबी उनले गरेका छन् ।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू