कोरोना भाइरस सङ्क्रमित होम आइसोलेशनमा बस्दा के गर्ने, के नगर्ने?

फाइल तस्बिर

झापा – कोरोना भाइरसका सङ्क्रमितहरूले अस्पताल तथा आइसोलेशन केन्द्रहरू भरिँदै जाँदा स्वास्थ्य मन्त्रालयले सामान्य अवस्थाका सङ्क्रमित होम आइसोलेसन बस्न सकिने प्रावधान अगाडि सारेको छ।

होम आइसोलेशन भनेको घरमा एक्लै बस्ने भन्ने बुझ्नुपर्ने चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरू बताउँछन्।

तर नेपालको सन्दर्भमा सबै प्रकारका समाज र रहनसहन होम आइसोलेशन उपयुक्त नभएको उनीहरूले बताउने गरेका छन्।

धेरै मानिसहरूलाई होम आइसोलेशनमा कसरी बस्नुपर्छ भन्ने कुराको ज्ञान नभएको उनीहरू स्वीकार्छन्।

होम आइसोलेशनमा बस्नेले गर्नुपर्ने महत्वपूर्ण १० कुरा

कोरोना भाइरस सङ्क्रमित होम आइसोलेशनमा बस्दा निम्न १० कुरा गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

मेची अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलले होम आइसोलेशनमा बस्नेका लागि निम्न बुँदाका तरिका सुझाएका छन्।

१.    होम आइसोलेशनमा बस्नेले एउटा उसलाई मात्र दिइएको हावा प्रशस्त बहने तथा उज्यालो कोठा भन्दा अन्य कोठामा जानु हुँदैन।

२.    खाना खाँदा आफ्नै कोठामा खाने।

३.    खानाका लागि प्रयोग हुने थाल, बटुका, चम्चा जस्ता बस्तु एउटै सेट मात्र प्रयोग गर्ने।

४.    आफूले प्रयोग गर्ने त्यस्ता सामान आफैंले साबुन पानीले धोएर आफैले राख्ने।

५.    सङ्क्रमितलाई हेरचाह गर्ने व्यक्ति सकेसम्म एकजना मात्रै हुनुपर्ने।

६.    ट्वाइलेट-बाथरुम प्रयोग गर्दा भरसक छुट्टै प्रयोग गर्ने। सबैका लागि एउटा मात्र भए हरेक पटकका प्रयोगपछि राम्ररी सफा गर्ने।

७.    बाथरुमका धाराका टुटी, ढोकाका ह्यान्डलहरू हरेक पटक छोएपछि साबुन-पानीले राम्ररी सफा गर्ने।

८.    होम आइसोलेशनमा बस्नेले प्रयोग गर्ने कपडा घरका अन्य सदस्यका कपडासँग नमिसाउने। उसले प्रयोग गरेका कपडाको सफाई आफै गर्न लगाउने।

९.    होम आइसोलेशनमा बस्नेको कोठामा हुने फोहोर ढक्कन भएको भाँडामा हाल्ने र जम्मा भएको फोहोर बाहिर निकालेर जलाएर नस्ट गर्ने।

१०.  होम आइसोलेशन बस्नेले अनिवार्य मास्क लगाउने तथा अन्य सदस्यहरूसंग शारीरिक दूरी अपनाएर बस्ने।

तर नेपालका सबै क्षेत्र होम आइसोलेशनका लागि उपयुक्त नभएको जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल बताउँछन्।

जहाँ घना बस्ती छ त्यहाँ होम आइसोलेसन उपयुक्त नभएको उनले बताए। जुन ठाउँमा पातलो बस्ती छ त्यहाँ होम आइसोलेशन संभव हुने डोटेलको भनाई छ।

होम आइसोलेशन संभव नभएको स्थानका लागि भने अन्य विकल्प खोज्नुपर्ने उनले बताए।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्