मैले डिप्रेशनको बारेमा एउटा छुट्टै अध्याय लेख्ने बिचार गरें । डिप्रेशन नेपालमा ठूलो समस्याको रुपमा देखा पर्दैछ र यसले हरेक उमेर, समूह र लिङ्गलाई असर गरेको छ । यो लेख युवाहरुमा केन्द्रित छ ।

नेपालको जनसंख्याको झण्डै चालिस प्रतिशत १८ बर्ष मुनिका बालबालिका र किशोर किशोरीहरु छन् । यो उमेर समुहको स्वास्थ्य समस्या मध्ये डिप्रेशनले अचेल महत्वपूर्ण स्थान ओगट्न लागेको छ । नेपालमा १० जना युवा मध्ये एक या दुइजनालाई डिप्रेशनले पिरोलेको छ भन्ने अनुमान छ । सामान्य चिन्ता, नरमाइलो, दुःख जस्ता अनुभवहरु कुनैपनि उमेर समुहका व्यक्तिमा देखा पर्नु स्वाभाविक हो ।

चाहेको कुरा नपाउँदा दुःख लाग्छ, आफूलाई या आफ्ना प्रिय कसैलाई कुनै शारीरिक अस्वस्थता या चोटपटक लागेमा चिन्ता लाग्छ, आफ्ना प्रियजनसँग छुट्टिनुपर्दा नरमाइलो लाग्छ, कुनै सम्बेदनशील सिनेमा हेर्दा या कथाहरु पढ्दा आँसु समेत आउँछ । यी मानव मात्रका स्वभावहरु हुन् । यस्ता कुराहरु अनुभव गर्न सक्ने मानवीय गुणले हामीलाई समृद्ध पारेर समाजमा, परिवारमा घुलमिल गरी रहन सम्भव बनाएको हुन्छ । मानिसले यदाकदा यस्ता अनुभब गर्दा डिप्रेशन भनिँदैन ।

डाक्टरी भाषामा डिप्रेशन भन्नाले मानिसको “मूड” को अस्वस्थताको अवस्था हो जसमा दुःख, चिन्ता र यस्तै अन्य सम्बेगात्मक भावनाहरु लामो समयसम्म रहन्छन् र तिनले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न थाल्छन् ।

डिप्रेशन किन हुन्छ ?

डिप्रेशनका बिभिन्न कारणहरु हुन्छन् । धेरैजसो डिप्रेशनमा घरपरिवार या समाजको वातावरण प्रमुख कारक तत्वको रुपमा रहेको हुन्छ । घर–झगडा धेरै भैरहेमा, घरभित्र हिंसा जस्तै आमा या परिवारका सदस्यहरुमाथि भैरहेको हिंसा देख्नु तर आफूले त्यसको प्रतिकारमा केही गर्न नसक्ने अवस्थाले पनि व्यक्तिलाई डिप्रेशन हुनसक्छ ।

परिवारको र आफ्ना आवश्यकताहरु पूरा गर्न नसक्ने अवस्थाले पनि मानिसलाई डिप्रेशनमा धकेल्न सक्छ । खासगरी रोजगारी गुम्नु या रोजगारीका अवसरमा कमीको कारण आर्थिक या मनोबैज्ञानिक संकट झेल्नु परेमा पनि डिप्रेशन हुन सक्छ ।

यसपाली कोरोनाको माहामारीका कारण धेरैजनाले धेरै दुःख पाएका छन् । भोकभोकै बस्नु परेको पीडा, सामान्य उपचार समेत पाउन गाह्रो परेको अवस्था, आफन्तबाट टाढा रहनु परेको पीडा आदिले गर्दा हाम्रो समाजमा आगामी दिनहरुमा डिप्रेशन भएका व्यक्तिहरु अझ बढ्न सक्ने सम्भावनाहरु छन् ।

केहि डिप्रेशनहरु मानिसको जैविक गुणहरुका कारणले पनि हुन सक्छन् । मातापिता या दाजुभाई, दिदीबहिनी जस्ता नजीकका नाताका कुनै मान्छेमा डिप्रेशन छ भने अर्कोलाई हुनसक्ने सम्भावना बढी हुन्छ ।

युवाहरुमा खासगरी साथीसंगीको दबाब, आफ्ना चाहनाहरु पूरा गर्न नसक्नु, साइबर अपराध, लागुपदार्थ दुव्र्यसन, नचाहेका यौन कृयाकलापमा संलग्न भएर या अन्य कारणले अपराध बोध, आफन्तबाटै यौन हिंसाको शिकार भैरहनु र आफूलाई टुहुरो अनुभव हुनु आदि कारणले डिप्रेशन हुन सक्छ ।

भविष्यको अनिश्चितता र आफ्नो स्व–मूल्यांकनमा आफ्नो क्षमता र गुणहरुलाई कम आंकलन गर्ने व्यक्तिमा पनि अन्यमा भन्दा बढी डिप्रेशन हुने सम्भावनाहरु हुन्छ । गरीवि, पछौटेपन, अशिक्षा, बिभिन्न कारणले बिभेद भोग्नु आदि कारणले पनि व्यक्तिले आफूलाई अवमूल्यन गरिरहेको हुन सक्छ । यी अबस्थाहरुलाई सहि तरिकाले मूल्यांकन गर्न र तिनीहरुसंग जुध्न सक्ने क्षमता बढाउन सकिएन भनेपनि व्यक्ति डिप्रेशनको शिकार हुन सक्छ ।

कतिपय अवस्थामा आफूले बोलेका झूठ, ठगी, अपराध इत्यादिका कारण हीन मनोभावना उत्पन्न भएर पनि व्यक्ति डिप्रेशनमा जान सक्छ । आफूले गरेका दुष्कर्महरु अरुले थाहा नपाएपनि आफ्नो आत्मामा एक किसिमको बोझका रुपमा रहन्छ, र व्यक्ति डिप्रेशनमा जान सक्छ ।

मानसिक रोग (जस्तै बाइपोलर डिजिज) जस्तो अवस्था भएमा पनि केही व्यक्तिहरु डिप्रेशनले ग्रस्त हुन्छन्, तर यस्तो संख्या अन्यको तुलनामा कम हुन्छ । मानसिक रोगलाई समाजले र आफैले पनि हेर्ने दृष्टिकोणका कारण कतिपय अवस्थामा सामाजिक बिभेदका कारण पनि डिप्रेशन हुन सक्छ ।

साहित्यकार अभि सुबेदीको अभिव्यक्तिमा डिप्रेशन ग्रसित व्यक्तिको व्यथा भेटिन्छन् –

यहाँ हिजोआज
यात्राहरूका गन्तव्य छैनन्
कोही बिपनाको बाटो गरेर
घोर सपनाभित्र पस्छ
कोही काँधमा उज्यालो बोकेर
अँध्यारो खोज्दै हिंड्छ
सपनाहरु भतिकन्छन्
बिपनाहरु क्षतविक्षत हुन्छन्

मानिसहरु नकारात्मक कुरा प्रति बढी ध्यान दिन्छन् भन्ने कुरा बिज्ञानले पनि भन्दछ । बिकासको क्रममा जङ्गली जनावरको आक्रमणबाट बच्न अप्ठ्यारा अवस्थाहरुमा तत्काल भाग्ने या भिड्ने “flight or fight” गुणहरु बिकास भएको हो । यसलाई “रिफ्लेक्स” भनिन्छ ।

कुनैपनि नकारात्मक “स्टिमुलस” ले मानिसको ब्रेनस्टेम र अटोनोमिक नर्भस सिस्टममा तत्काल प्रभाव पारेर उसको चेतनाले पहिल्याउनु भन्दा पहिला नै “रिफ्लेक्स याक्शन”को माध्यमबाट मानिसले प्रत्याक्रमण गरिहाल्छ । उदाहरणको लागि – गाडी चलाइरहेको अवस्थामा झट्ट कुनै अवरोध आइहाल्यो भने स्वचालित रुपमा चालकको खुट्टा ब्रेकमा पुगिहाल्छ, चेतनाको स्तरमा त्यसपछि पुगेर उसले आफ्नो खतराको मुल्याङ्कन गरी गाडीलाई चलाउने, मोड्ने या बन्द गर्ने निक्र्यौल गर्छ । प्रसिद्ध बैज्ञानिक एवम् पत्रकार बेन्जामिन फ्र्याक्लिनले भनेका थिए- “We are not so sensible of the greatest health as that of the least sickness.” सामान्यतया मानिसलाई नकारात्मक कुराले बढी प्रभाव पारेको हुन्छ, तैपनि सबैमा यो कुरा लागु हुँदैन । धेरै व्यक्तिहरु जन्मजात रुपमै सकारात्मक सोच राख्ने र हँसिला प्रबृत्तिका हुन्छन् । बैज्ञानिकहरु भन्छन् मानिसको सुखको औसत मापन गर्ने हो भने उनीहरुको “जेनेटिक” संरचनाले ५० देखि ८० प्रतिशतसम्म फरक पार्न सक्छ । जन्मजात खुशी हुने व्यक्तिहरुको दिमागको “कर्टेक्स”मा देब्रेपट्टि बढी गतिविधिहरु हुन्छन् । कसै कसैले यसलाई देब्रे कर्टिकल चिठ्ठा पनि भनेका छन् ।

साहित्यकार जोन मिल्टनले भनेका थिए- “The mind is its own place, and in itself can make a heaven of hell, or hell of heaven” शायद यही जन्मजात गुणलाई हेरेर मनोबैज्ञानिक फ्रायडले भनेका होलान्-  “Child is the father of the man” जन्मजात खुशी हुने गुण लिएर आएका बालबालिका पछि गएर पनि खुशी नै हुन्छन् भन्ने उनको बिश्लेषण हो । तर अहिलेसम्ममा बिज्ञानले धेरै प्रगति गरिसकेको छ ।

यो पनि पढ्नुहोस्:

हे युवा!

डिप्रेशन भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के के हुन् ?

“डिप्रेशन” भन्ने शब्द अचेल धेरै चलन चल्तीमा छ । अलि अलि डिप्रेशन भएको या गम्भीर प्रकृतिको मनोबैज्ञानिक समस्या उत्पन्न भएको सबैलाई डिप्रेशन भनिने हुनाले यसका लक्षणहरु पनि सोहि अनुरुप सामान्य या जटिल हुन सक्छन् ।

धेरैको जीवनमा प्रायजस्तो देखा पर्ने “स्ट्रेश” जस्लाई धेरैले “टेन्सन” भन्ने गरेका छन्, त्यो हुनु “नर्मल” या सामान्य अवस्था हो । तर डिप्रेशन भएको व्यक्ति यस्तो अबस्थाबाट आफ्नो पूर्व स्वभावमा फर्कन नसकिरहेको हुन्छ । उसलाई स्ट्रेस या “टेन्सन्” असहय हुन्छ र लामो समयसम्म रहिरहन्छ । उदाहरणका लागि –

– दुःखी भैराख्नु, काम गर्न मन नलाग्नु, नरमाइलो लागि राख्नु इत्यादि
– पहिला रमाइलो लाग्ने कुराहरुबाट पनि रमाइलो लाग्न छोड्नु जस्तै – पारिवारिक भेटघाट, साथीसँगीसँग मेलजोल, खेलकुद, मनोरञ्जन इत्यादिमा रुची कम हुँदै जानु ।
– खान मन नलाग्ने । कहिले काहीं छिटो छिटो खाइरहन मन लाग्ने जसले गर्दा वजन बढ्दै जानु।
– निद्रा नलाग्नु, मनमा कुराहरु खेलाइरहनु।
– उठ्न मन नलाग्ने, जतिखेर पनि सुतिराख्ने, शरीर कमजोर जस्तो लाग्ने ।
– सुस्त बोली या सुस्त चाल हुनु – अरुले हेर्दा किन यस्तो परिवर्तन भयो भनेर छक्क पर्ने ।
गहिरिएर प्रष्टसँग सोच्न नसक्ने, ध्यान दिन या निर्णय गर्न गाह्रो पर्ने ।
– आफूलाई बेकम्मा या दोषी ठान्ने ।
– रिस उठ्ने, झर्को लाग्ने, अनावश्यक झै–झगडा, बादबिबाद पर्न सक्ने।
– आत्महत्याको सोच मनमा आइ राख्ने ।

डिप्रेशन भएको कसरी थाहा पाउने ?

सामान्य रुपमा दुःखी व्यक्तिहरुलाई आफू किन दुःखी छु भन्ने थाहा हुन्छ, जस्तो रोजगारी गुम्यो, साथीसँग झगडा भयो, आफन्तको मृत्यु भयो इत्यादि ।

तर डिप्रेशन भएका व्यक्तिहरु के कारणले आफू दुःखी छु भन्ने राम्रोसँग भन्न सक्दैनन् । मानसिक रुपमा उनीहरुले थाहै नपाई आफ्ना भावनाहरुलाई दवाइरहेका हुन्छन् । कतिपयले हिनताबोध गर्छन् या आफैंप्रति घृणा गर्न थाल्छन् ।

धेरै प्रख्यात कलाकार, राजनीतिकर्मी या समाजका बिभिन्न तप्काका मानिसहरु डिप्रेशनले ग्रसित भएका छन् । आफ्नो पेशामा सफल व्यक्तिहरुपनि अन्य बिभिन्न कारणले यो रोगबाट पीडित हुन सक्छन् । हिन्दुस्तानी सिनेमाकी प्रसिद्ध अभिनेत्री दीपिका पादुकोन पनि डिप्रेशनले ग्रसित थिइन् । उनी भन्छिन् “मेरा लागि हरेक सेकेन्ड बिताउनु एउटा संघर्ष जस्तो थियो । मलाई आफ्नो भित्र खालिपनको आभास हुन्थ्यो । कतिपय साथीहरुले मलाई सामान्य दुःखलाई यति ‘सिरियसली’ लिनु पर्दैन भनेर गिज्याए पनि, तर यो सामान्य अवस्था होइन ।”

अहिले उनी निको भैसकेकी छन् र “लिभ लभ, लाफ फाउण्डेशन” खोलेर डिप्रेशन पीडित व्यक्तिहरुको जीवन सपार्नका लागिपरेकी छन्।

नेपालमा डिप्रेशनले ग्रसित धेरै व्यक्तिहरुले मानसिक नभएर शारीरिक लक्षणहरु देखाइ रहेका हुन्छन् । उनीहरु बिभिन्न समस्याहरु लिएर अस्पताल पुग्छन्, अनेकौं परिक्षण गराउँछन्, धेरै औषधि खान्छन् तैपनि उनीहरु सञ्चो अनुभव गर्दैनन् । चिकित्सकहरु पनि उनीहरुलाई केही भएको छैन, नआत्तिनुस् भन्दै गर्छन्, तर उनीहरुको डिप्रेशन चिन्न नसकेका पनि हुनसक्छन् । त्यसैले डाक्टरी जाँच र परिक्षणमा खराबी नभेटिएका व्यक्तिहरुलाई डिप्रेशन पो हो की भनेर उचित परामर्श र उपचार गर्नु उचित हुन्छ ।

डिप्रेशन भएका व्यक्तिहरु के कारणले आफू दुःखी छु भन्ने राम्रोसँग भन्न सक्दैनन् । मानसिक रुपमा उनीहरुले थाहै नपाई आफ्ना भावनाहरुलाई दवाइरहेका हुन्छन् । कतिपयले हिनताबोध गर्छन् या आफैंप्रति घृणा गर्न थाल्छन् ।

डिप्रेशनको उपचार के हो र कसरी प्राप्त गर्ने ?

डिप्रेशन प्रभावित व्यक्तिहरुलाई साथी, परिवार र समाजको सकारात्मक सहयोगको खाँचो हुन्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा पीडित व्यक्ति आफैंले आफ्नो मन दह्रो गरी यो अवस्थासंग जुझ्नु पर्छ ।

दिमागबाट डोपामिन, सिरोटोनिन् लगायतका खुशी गराउन सक्ने हर्मोन तत्वहरुको निष्काशनमा व्यायामको ठूलो भूमिका हुन्छ । डिप्रेशन भएका व्यक्तिहरुलाई आफ्नो कोठा र ओछ्यान छोड्नै नसक्ने जस्तो लागेपनि बाहिर खुला स्थानमा हिड्नु या दौड्नु जस्तो राम्रो अरु केही हुँदैन । घाम या उज्यालोमा बस्ने, हरिया रुखहरु या फूलहरु भएका ठाउँमा हिंड्ने धेरै राम्रा उपायहरु हुन् । आधा घन्टासम्म मुटुको चाल बढ्ने गरी छिट्छिटो हिंडेने वा दौड्ने गरेमा मन खुशी हुन्छ ।

सकारात्मक सोच राख्ने, हरेस नखाने र आफ्नो मन मिल्ने साथी या आफन्तसँग कुरा गर्ने र आफ्ना भावनाहरु साटासाट गर्नाले पनि व्यक्तिलाई डिप्रेशनबाट मुक्ति दिलाउन सहयोगी हुन्छ ।

मेडिटेशन र ध्यानले पनि मनमा कुरा खेल्ने, नकारात्मक सोच्ने बानीलाई परिवर्तन गर्न सकिन्छ ।

यी उपायहरु अपनाउँदै, सकारात्मक सोचको बिकास गर्दै जाँदा डिप्रेशनबाट मुक्ति पाउन सकिन्छ । तर एकपटक डिप्रेशन भएको व्यक्ति पुनः पुनः डिप्रेशनमा जान सक्छ, त्यसैले ऊ आफू स्वयम् सजग भएर योग, ध्यान, प्राणायाम र जीवनोपयोगी सीपहरुद्वारा आफूलाई खुशी राख्दै अगाडि बढेमा डिप्रेशनबाट बारम्बार पीडित हुनु पर्दैन, या डिप्रेशन भइ हालेमा पनि छिटो सञ्चो हुन सक्दछ ।

डिप्रेशन प्रभावित व्यक्तिका साथीसंगी या परिवारका सदस्यको पनि ठूलो भूमिका हुन्छ । उनीहरुले पीडित व्यक्तिलाई हौसला दिने, ऊसँग सकारात्मक कुराहरु गर्ने, उसका राम्रा पक्षहरुलाई उजागर गरिदिने, उसलाई व्यायाम र दैनिक कृयाकलापमा लागिराख्न प्रेरणा दिने, उ दुव्र्यसनको कुलतमा फसेको छ भने त्यसबाट छुटाउन मद्दत दिने आदि गरेर पीडित व्यक्तिको मनोबल बढाउन सहयोग गरेमा ऊ छिटो डिप्रेशनबाट मुक्त हुन सक्छ ।

यी सबै कुराहरुको साथसाथै आवश्यकता अनुसार मनोसामाजिक परामर्श दिने विशेषज्ञहरुसंग सम्पर्क राख्ने, र डिप्रेशन गहिरो भएर आत्महत्या जस्ता बिचारहरु आउँछन् भने मानसिक रोग विशेषज्ञसंग राय सल्लाह र उपचार लिन आवश्यक हुन्छ ।

अचेल डिप्रेशन धेरै जनालाई हुने हुनाले यसका लागि हिनताबोध गर्नु पर्दैन । मानसिक रोग बिशेषज्ञसँग उपचार गराउने भन्नासाथ नकारात्मक रुपमा लिएर सामाजिक बिभेद होला भनेर धक मान्नु पनि आवश्यक छैन । सामान्य औषधिको सेवनले डिप्रेशनबाट मुक्त हुन सकिन्छ । आफ्ना प्रयासहरु निरन्तर राख्दै चिकित्सकको सहयोग लिएमा सुखी र सफल जीवन जिउन सकिन्छ ।

मनमा रहेका भ्रमहरु या अतृप्त इच्छाहरुको त्यागद्वारा धारणा, ध्यान र समाधिद्वारा मानिस आफ्नो मनलाई स्थिर राखेर प्रज्ञा हासिल गर्छ भनिएको छ ।

साउन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्